Aamsanchar

झापामा कोअपरेटिभ्स म्यानेजर क्लब गठन,अध्यक्ष्यमा बगाले

Author Image
आइतवार, असार ३, २०८०

बिर्तामोड । झापामा दुईवर्षे कार्यकालका लागि कोअपरेटिभ्स म्यानेजर क्लब (सिएमसी) गठन भएको छ । हिजो (शनिबार) बिर्तामोडमा आयोजित प्रथम अधिवेनबाट झापा जिल्ला समिति  चयन भएको हो ।

नव गठित समिति अध्यक्षमा खोमप्रसाद बगाले निर्विरोध निर्वाचित भएका छन् ।  उपाध्यक्षमा निलकण्ठ निरौला, महासचिव सन्तोषकुमार श्रेष्ठ र कोषाध्यक्ष तुलसा कुँवर निर्वाचित भएका छन् । क्लबका सदस्यहरुमा मानस सिटौला, लीलानाथ रेग्मी, कृष्ण ढुंगाना, विष्णुप्रसाद चुडाल, तिलकबहादुर कार्की, अनिता गुरागाईं र विवेक राई निर्विरोध भएका छन् ।

बिर्तामोड नगरपालिकाका सहकारी तथा सामाजिक विकास अधिकृत डिल्ली दाहालको संयोजकत्वमा पत्रकार गोपाल काफ्ले र सहकारी नेतृ दुर्गा खतिवडा सदस्य रहेको निर्वाचन समितिसमक्ष पदअनुसार आवश्यक संख्यामामात्र उम्मेदवारी मनोनयन परेको थियो ।

क्लवमा हाल ७६ जना सदस्यहरु आवद्ध भएको,  क्लबलाई संस्थागत विकासका लागि आ–आफ्नो अनुभव सुनाउने, सिक्ने र सिकाउने थलोका रुपमा विकास गर्ने लक्ष्य राखिएको नव निर्वाचित अध्यक्ष खोमप्रसाद बगालेले बताए ।

सहकारी क्षेत्रमा देखिएका समस्या र समाधानका उपाय सम्बन्धी विज्ञ सम्मिलित कार्यशाला गोष्ठी पनि आयोजना भएको थियो ।

राष्ट्रिय सहकारी बैंकको प्रायोजनमा सो बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंको सहजीकरणमा सो कार्यशाला भएको हो । सहजकर्ता गुरागाईंले सहकारीमा देखिएका विद्यमान समस्याहरुलाई वित्तीय र गैह्र वित्तीय वर्गमा विभाजन गरी को कसबाट समस्याहरु उठान भएको हुनसक्छ भनी कारण केलाएका थिए ।

यस्तै, नियमनकारी निकायको उदासिनता, वित्तीय सहकारीमा जोखिम व्यवस्थापन संयन्त्र नहुनु, दक्ष जनशक्तिको अभाव हुनु वा सुशासनको अभावमा पनि सहकारीहरु समस्यामा पर्ने उनको भनाई छ ।

सो कार्यशाला गोष्ठीमा राष्ट्रिय सहकारी बैंक लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेती, सञ्चालक समिति सदस्य महेन्द्रकुमार गिरी, राष्ट्रिय सहकारी महासंघका सञ्चालक गणेश ढकाल, जिल्ला बचत संघका अध्यक्ष तुलाराम न्यौपाने लगायतले आफ्ना धारणा राखेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर