

ताप्लेजुङ – ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज बिहान पहिरो जाँदा बाबु छाेराकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् । पहिराेमा परि केशरबहादुर राई र उहाँका छाेरा सुरेश राईकाे ज्यान गएकाे हाे । यस्तै, राजकुमार राई घाइते हुनुभएकाे प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयाे ।

पहिराेमा बेपत्ता हुनुभएका केशरबहादुर मृत भेटिनुभएकाे र घाइते हुनुभएका सुरेशकाे उपचार लागि लैजाँदै गर्दा ज्यान गएकाे हाे । घाइते राजकुमारलाई उपचारका लागि अस्पताल लैजान समस्या भइरहेकाे लिम्बूले बताउनु भयाे।

यस्तै, शनिवार राति गएको पहिरोमा परि बेपत्ता भएका मेहेलेका एकै घरका तीन जना अझै सम्पर्कविहीन छन् । मेहेले भालुखोपका भगिमायाँ बुढाक्षेत्री, उहाँकी बुहारी सन्ध्या बुढाक्षेत्री र नाति प्रज्ज्वल बुढाक्षेत्री पहिराेमा बेपत्ता भएका हुन्। निरन्तर वर्षा भइरहेका कारण बेपत्ताहरुकाे खाेजी गर्न समस्या भएकाे लिम्बूले बताउनुभयो । पहिरोमा बेपत्ता भएका मेहेले भालुखोपका गणेश तामाङको भने शव फेला परिसकेको छ ।

मेहेलेमा शनिवार बेलुकादेखि सुरु भएकाे वर्षा अझै रोकिएको छैन । यहाँका प्रायजसाे सबै स्थानीय आफ्नो घर छाडेर अन्यत्र सरेका छन् तर सुरक्षित भनिएकै ठाउँमा पनि वर्षा भइरहेका कारण जोखिम रहेको स्थानीयले बताएका छन् ।
ताप्लेजुङकाे मेहेलेसहित सुरुम्खिम, खेवाङ, पेदाङलगायतका पूर्वी क्षेत्रमा अत्यधिक वर्षा भइरहेको छ । मेहेलेमा मात्रै पहिराेले छ वटा घरमा पूर्णरुपमा क्षति पुर्याएकाे छ ।

