Aamsanchar

घोराही सिमेन्टकाे आईपीओ : पैसानै नभएको खाताबाट १० लाख कित्ता सम्म माग

Author Image
सोमवार, असार ४, २०८०

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको प्राथमिक सेयर (आईपीओ)मा दिएको आवेदनमा चलखेल भएको पाइएको छ । महँगोमा निष्कासन गरेको आईपीओ एकैजनाले १० लाखसम्म माग गरेका छन् । यसरी १० लाखसम्म माग गर्नेको संख्या १२ जनासम्म रहेको सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) स्रोतले जानकारी दिएको छ ।

कम्पनीका अनुसार कम्पनीमा १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । तर, अहिलेसम्म आवेदन दिनेहरूबाट यतिधेरै रिजेक्ट हुने नगरेको बताइएको छ ।

पहिलो चरणमा स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली र कर्मचारीले नै आईपीओमा न्यून आवेदन दिएका थिए । पहिलो चरणमा आईपीओ न्यून बिक्री भएपछि कम्पनीको आईपीओ सर्वसाधारणमा पनि न्यून बिक्री हुने सम्भावना थियो । तर, पैसा नभएका बैंक खाताहरूबाट एकैजनाले बढी कित्ता माग गरेपछि सर्वसाधारणले हौसिएर आवेदन दिएका थिए ।

सीडीएससी स्रोतका अनुसार सोमबार दिउँसो २ बजेसम्म एक करोड २० लाख कित्ता आईपीओ रिजेक्ट भएको छ । यसरी रिजेक्ट हुनेमा आईपीओ माग गरी उक्त आईपीओलाई आवश्यक पर्ने बैंकमा पैसा नहुने छन् ।

“बैंक खातामा पैसा दुई÷चार हजार भएकोले पनि १० लाखसम्म माग गरेको पाइयो । यसरी पहिले कसैले पनि आवेदन दिएको पाइएको थिएन,” सीडीएससी स्रोतले भन्यो, “१० लाख कित्ता खरिद गर्न ४५ करोड ५० लाख रुपैयाँ आवश्यक पर्छ । यही शंका छ । आईपीओमा आवेदन दिएकाहरूको पहिले कहिले पनि यतिधेरै रिजेक्ट हुने गरेको थिएन ।”

सर्वसाधारणलाई लोभ्याउन कम्पनीले फर्जी आवेदन दिन लगाएको पनि हुनसक्ने आशंका देखिएको छ । धितोपत्र बोर्डले पनि आईपीओ निष्कासन प्रक्रिया बन्द गर्न निर्देशन दिएको छ । बोर्डले केयर रेटिङ नेपाललाई घोराहीको रेटिङ नियमविपरीत भए/नभएको जानकारी दिन जेठ ३० गते पत्राचार गरेको थियो । तर, उक्त पत्रको जवाफ नआएको पनि बोर्डले जनाएको छ ।

कम्पनीले ३२ गतेदेखि ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो । निष्कासित आईपीओमा आवेदन बन्द हुने छिटो मिति (२०८० जेट ४ गते) बेलुका ४ः४४ सम्म पाँच लाख ६२ हजार ४३ जनाले दुई करोड २६ लाख १७ हजार ३७० कित्ता आईपीओ माग गरेका छन् । यो भनेको २.२७ गुणा बढी आवेदन हो । दिउँसो २ बजेसम्म आईपीओ दुई करोड ३३ लाखसम्म आवेदन दिएका थिए । तर, पछिल्लो तथ्यांक अध्यावधिक राख्दा सीडीएसीले आवेदन कित्ता कम देखाएको छ ।

कम्पनीले जेठ ३२ गतेदेखि प्रतिकित्ता ३३५ रुपैयाँ प्रिमियम मूल्य थप गरी ४३५ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो ।

बोर्ड भन्छ– अब अध्ययन हुन्छ

धितोपत्र बोर्डले अब घोराही सिमेन्टको आईपीओमा परेको आवेदनको छानबिन गर्ने बताइएको छ । निष्कासित कित्ताभन्दा बढी आवेदन परेको भए पनि कम्पनीको आईपीओमा आवेदन दिने मिति थप गरेपछि बोर्डले प्रक्रिया रोक्न निर्देशन दिएको हो ।

बोर्डका अनुसार अब बोर्डको अनुगमन तथा सुपरीपेक्षण शाखाले जाँचबुझ गर्नेछ । यो विभागले रिपोर्ट तयार गरेपछि मात्र आईपीओमा प्रक्रिया अगाडि बढ्ने बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए ।

“घोराहीको आईपीओमा केही चलखेल भएको जस्तो देखियो । हामीले क्रेडिट रेटिङ गर्ने कम्पनी केयर रेटिङ नेपाललाई पत्र पठाएका थियौं । जवाफ आएन,” उनले भने, “पछि कम्पनीले आवेदन दिने म्याद पनि थप गर्‍यो । त्यही भएर हामीले रोक्न निर्देशन दिएका हौँ । अब आवश्यक अध्ययन हुनेछ । रिपोर्ट तयार भएपछि मात्र काम अगाडि बढ्छ ।”

आवेदन दिएकाहरूको के हुन्छ ?

आजसम्म आवेदन दिएकाहरूको हकमा प्रक्रिया स्थगन भएको छ । के गर्ने भनेर अध्ययनपछि मात्र निर्णय हुने प्रवक्ता श्रेष्ठले बताए । “अहिलेलाई यत्तिकैमा स्थगन भयो । अब पछि के हुन्छ थाहा छैन,” उनले भने ।

फर्जी आवेदन परेको पाइएमा अध्ययनपछि बोर्डले आवेदन रद्द गर्न पनि सक्ने सीडीएससी स्रोत बताउँछ ।

आईपीओमा कर्मचारीले नै दिएका थिए कम आवेदन

कम्पनीले कर्मचारीलाई भनेर तीन लाख ७७ हजार ३३१ कित्ता आईपीओ निष्कासन गरेकोमा १९ हजार ५३० जनाले मात्र आवेदन दिएका थिए । यो कर्मचारीलाई निष्कासन गरेको आईपीओको ५.१८ प्रतिशत मात्र हो ।

कुनै पनि कार्यालयमा काम गर्ने कर्मचारीलाई आफ्नो कार्यालयको बारेमा थाहा हुन्छ । वास्तविक अवस्था थाहा भएर नै यो कम्पनीको आईपीओमा कर्मचारीले नै आवेदन नदिएको हुन सक्ने एक विश्लेषकको टिप्पणी छ ।यसअघि, यो कम्पनीको आईपीओलाई बोर्डले प्रिमियममा स्वीकृति गर्न दिनु नै गलत भएको बताइएको छ । यसको विषयमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले नै स्पष्टीकरण दिनुपरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर