Aamsanchar

धनकुटाको ध्वजे डाँडामा २२ वटा देशको झन्डा

Author Image
मङ्गलवार, असार ५, २०८०

धनकुटा – धनकुटाको पर्यटकीय स्थल ध्वजे डाँडामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न नेपालसहित विश्वका २२ वटा देशको राष्ट्रिय झन्डा फहराइएको छ ।

साँगुरीगढी गाउँपालिका–५ मा रहेको ध्वजे डाँडामा झन्डै २० फिट उचाइ भएका झन्डाहरू फहराइएको हो । झन्डा फहराएपछि ध्वजे डाँडामा छुट्टै आकर्षण देखिएको छ । झन्डा राख्न नेपाल पर्यटन बोर्डको पाँच लाख, साँगुरीगढी गाउँपालिकाको एक लाख २५ हजार र जनसहभागिताकाे ३५ हजार छ सय चार रुपैयाँ लागत रहेको साँगुरीगढी–५ का वडाध्यक्ष खड्गबहादुर लिम्बुले जानकारी दिनुभयाे । अन्य पर्यटकीय स्थलभन्दा फरक र आकर्षक बनाउन यो अवधारणा अघि सारिएको वडाध्यक्ष लिम्बुले बताउनुभयाे ।

धनकुटाको साँगुरीगढी गाउँपालिकालाई कोशी प्रदेश सरकारले प्रदेशकै प्रमुख पर्यटकीय पालिका घाेषणा गरेकाे छ । ध्वजे डाँडालाई आकर्षणको केन्द्र बनाई विशेषगरी बाह्य पर्यटक भित्र्याउने उद्देश्यले विभिन्न देशको झन्डा फहराइएको साँगुरीगढीका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताउनुभयाे । यस ठाउँमा विश्वभर रहेका देशको झन्डा फहराउने अभियान रहेको पनि उहाँले बताउनुभयाे ।

यसअघि यो क्षेत्रमा एउटा ‘भ्यु टावर’ निर्माण गरिएको थियाे । मौसम खुलेको बेला सूर्योदयसँगै हिमशृङ्खला हेर्न सकिन्छ ।

Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर