Aamsanchar

मेलम्चीमा ‘बेलिब्रिज’ निर्माण सुरु

Author Image
बिहिवार, असार ७, २०८०

काठमाण्डौ – सिन्धुपाल्चोकको तीनवटा पालिका मेलम्ची, पाँचपोखरी र इन्द्रावती जोड्ने मेलम्ची नदीमा ‘बेलिब्रिज’ बनाउन सुरु भएको छ ।

नेपाली सेनाको सहयोगमा ‘बेलिब्रिज’ बनाउन थालिएको नेपाली सेनाको इञ्जिनियरिङ विभाग, १४ नं बाहिनी अड्डाका सेनानी चिरञ्जीवी चौलागाईंले जानकारी दिनुभयो ।

बर्खामा स्थानीय नागरिकलाई आवतजावत गर्न निकै समस्या हुने भएकाले बेलिब्रिज बनाउन थालिएको उहाँले बताउनुभयो । उहाँका अनुसार अबको झण्डै दुई हप्तामा बेलिब्रिज बनाउने काम सकिने छ ।

मेलम्चीपारिको वडा नम्बर ९ र १० तथा पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका जोड्ने बेलिब्रिज बनेपछि स्थानीयबासिन्दाले प्रत्यक्ष लाभ लिने छन् भने सदरमुकाम चौतारा जाने छोटो दूरीको ‘रुट’ का रूपमा समेत यो सडकलाई प्रयोग गर्न सकिन्छ ।

२०७८ साल असार १ गते आएको बाढीले पक्की पुल बगाउँदा त्यहाँका बासिन्दाले बर्खाको समयमा सास्ती खेप्दै आएका छन् ।

हिउँदको समयमा ह्युमपाइप राखेर सडक खुलाए पनि बर्खा लागेसँगै समस्या भैरहेको छ ।

Views: 136

प्रतिक्रिया (०)