बिर्तामोड । झापाको बिर्तामोड स्थित कृषिथोक बजार पश्चिममा रहेको नवराज विमलीको घर नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले कब्जा गरेका छन ।
आज (शनिवार) दिउसो २ बजे नारा जुलुस सहित पुगेको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरूले विमलीको घरमा कालो झण्डा र घर कब्जा गरिनुको कारण सहितको ब्यानर टासेर घर कब्जा गरेको घोषणा गरेको हो ।
अभर आपतमा परेका सयौँ व्यक्तिहरूलाई मिटरब्याजमा पैसा लगानी गर्ने बहानामा उनीहरूको घर जग्गा हडपेर उठिबास लगाएको, जनतालाई आत्महत्या गर्न बाध्य पारेको, कानुनको दुरुपयोग गरेर जनतामाथि निरन्तर शोषण कायम राखेको, आफ्ना एजेन्ट र गुण्डाहरू मार्फत जनतालाई आतङ्कित पारेको नेपाल कम्युनिष्ट पार्टी झापाले आरोप लगाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी झापाले विमलीलाई कुख्यात मिटरब्याजी भन्दै जनताको घरजग्गा हडपेको र लुटेको सम्पत्ति यथाशीघ्र फिर्ता गर्न चेतावनी दिएको छ । जनताको सम्पत्ति फिर्ता नगरुन्जेल सम्म घर कब्जा रहिरहने र विमलीको अन्य सम्पत्तिहरू पनि कब्जा गर्ने पार्टीका केन्द्रिय सदस्य सुमनसिंह पौडेलले बताए ।
बिर्तामोडको कृषिथोक मार्गमा भेला भएर नाराजुलुस सहित विमलीको घर कब्जा गर्न पार्टीका नेता कार्यकर्ताहरू विमलीको घरमा पुग्दा सो घरमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरूलाई पनि सटर बन्द गर्न लगाइएको थियो । घरको प्यासेज हुँदै नारा लगाउदै विमलीको घरको माथिल्लो तल्लामा पुगेर कार्यकर्ताहरूले कालो झण्डा राखेका थिए । सो समयमा नवराज विमली भने घरमा थिएनन् ।
चर्को नारा लगाउदै करिव २५ मिनेट माओवादीका नेता तथा कार्यकर्ताहरू विमलीको घरमा रहेका थिए । सो अवधीमा प्रहरीले भने सुइको नै पाएन की किन प्रहरीको उपस्थिति रहेको थिएन ।
मिटर ब्याजी पीडितहरूलाई सरकारले निवेदन दिन भनेको छ । झापाका १ सय ६ जना मिटरब्याजी पीडितहरूले निवेदन दिएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।
भिडियो पनि हेर्नुहोस ।