Aamsanchar

पाँचथर र ताप्लेजुङ जाेड्ने हेवाखोला तर्न तुइन र फड्के

Author Image
आइतवार, असार १०, २०८०

पाँचथर – पाँचथर र ताप्लेजुङ जाेड्ने हेवाखोलामा ओहाेरदाेहाेरका लागि फड्के पुलकाे निर्माण गरिएकाे छ । बाढीले हेवाखोलामा पर्ने मेची राजमार्गको माेटरेबल पुल र तमोर करिडोरको बेलीब्रिज बगाएपछि आवतजावतका लागि हिजाे फड्के पुलकाे निर्माण गरिएकाे हाे ।

ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापासहित व्यवसायी, नागरिक सङ्घसंस्थाका प्रतिनिधिको टोली, सुरक्षा निकायको सक्रियतामा बाँसकाे फड्के बनाइएकाे हाे । यसअघि तुइनको माध्यमबाट खोला पार गर्दै आएका यहाँका नागरिकले हिजाेदेखि भने बाँसको फड्केबाट खोला तरिरहेका छन् ।

असार २ गते शनिवार राति आएको बाढीले हेवाखोलामा पर्ने मेची राजमार्गको सडक र तमोर करिडोरको बेलीब्रिज बगाएकाे हाे । बाढीका कारण ताप्लेजुङ जिल्ला, पाँचथरकै फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जाेड्ने सडक सम्पर्क एक हप्तादेखि टुटेको छ । तर हप्तादिन बितिसक्दा पनि हेवाखोलामा डाइभर्सन निर्माणकाे काम भने हुनसकेको छैन ।

डाइभर्सनकाे काम पूरा नहुँदा हिलिहाङ र याङ्वरक गाउँपालिकावासी तथा ताप्लेजुङ जिल्लावासी समस्यामा परेका छन् । बिरामीलाई बोकेर खोला तार्नुपर्ने स्थिति छ भने सागसब्जी, दुग्धजन्य पदार्थको निर्यातमा समस्या भएको छ ।

ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापाले जतिसक्दाे चाँडाे डाइभर्सनकाे काम सक्नुपर्ने बताउनु भयाे । ‘पाँचथरमा सबै जना लागेर छिटो डाइभर्सन बनाइदिनुपर्यो । ताप्लेजुङमा खाद्यान्न अभाव हुन थालिसक्यो । डाइभर्सन र बेलीब्रिज निर्माणमा तदारुकता चाहियो’ उहाँले भन्नुभयाे।  उहाँले ताप्लेजुङमा खाद्यान्नको अभाव हुने भएकाले तत्काल डाइभर्सन र बेलीब्रिज बनाउन आग्रह गर्नुभयाे ।

डाइभर्सन निर्माणका लागि शनिवार आठवटा ह्युमपाइप ल्याइएको सडक डिभिजन कार्यालय इलामका इन्जिनियर विपिन ढुङ्गानाले बताउनु भयाे । डाइभर्सन निर्माण स्थलसम्म सडक विस्तार भएको उहाँले बताउनु भयाे ।

प्राविधिकको सल्लाहबमोजिम १२ वटा ह्युमपाइप राखेर डाइसर्भन निर्माण गर्न लागिएको हो । तर बाँकी रहेका ह्युमपाइप ल्याउन र संरचना निर्माण गर्न कति समय लाग्छ भन्ने अझै यकिन छैन् । यसअघि पुल रहेको मेची राजमार्गमै बेलीब्रिज निर्माणका लागि संरचना निर्माणको कार्य असार ४ गतेदेखि भइरहेकाे छ । ढुङ्गानाका अनुसार बेलीब्रिज निर्माण कार्य सुरुआत भएको १५ दिनमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

Views: 123

प्रतिक्रिया (०)