Aamsanchar

जय बजरङ्गबली । राशिफल । १२ असार २०८०, मंगलबार

Author Image
सोमवार, असार ११, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कुनै आधिकारिक वार्तालाप वा व्यापारिक बैठकका बारेमा उत्सुकता बढ्ने समय हो, नयाँ करार वा समझौताको सम्भावना पनि देखिन्छ । घमण्ड र जिद्दीपना त्याग्नसकेमा तर्क र बहसमा विजय प्राप्त हुनेछ, खिसीट्युरी गर्नेसित सतर्क रहनुपर्छ, नत्र ठूलो कलहको वातावरण बन्नसक्छ । निराशा र कुण्ठा बढ्ने समय हो, नबुझेको कुनै कुरा छ भने एकान्तमा बसेर दोहोर्याएर प्रयत्न गर्नुपर्छ, नयाँ बाटो पहिल्याउन सकिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बौद्धिक क्षेत्र, चिन्तनमनन र दार्शनिक विषयमा सक्रियता देखाउने समय हो, आफू स्वयंले वा छोराछोरीका माध्यमबाट कुनै फाइदामूलक काम बन्नसक्छ, तर मन भावुकता र आनन्दप्राप्तिका लागिसमेत आकर्षित बन्नसक्छ । तालिम वा ज्ञान बढाउने विषयमा सरिक हुने र लाभ पाउने समय हो, जुनियर स्टाफ वा छोराछोरीका माध्यमबाट पनि लाभ हुनेछ । सँगीसाथीसँग रमाउन पाउँदा दिन बितेको पत्तो पाउनुहुन्न । आज व्यक्तिगत खुसीका लागि लवमेटसित कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कानून र प्रावधानलाई कडाइका साथ पालना गर्नुपर्छ । अधीनस्थहरूलाई बढी विश्वास गर्नुहुँदैन, बरु सहकर्मीका माझमा सद्भाव र समझदारी बढाउनु होला । कारोबारलाई नयाँ गति दिने प्रयत्न हुनेछ । आशाका पछि लाग्नु स्वाभाविक हो, तर पनि आज कसैको आश्वासन वा लोभमा भुलिनु हुँदैन । घरपरिवारमा राम्रो देखिन्छ, विभिन्न कुराको लाभ पाउने समय हो, तर कुरा काट्ने र खिसीट्युरी गर्नेहरूको क्रियाकलाप देखेर खिन्न बन्न सक्नुहुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
अध्ययनमा रुचि जाग्नेछ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुन्छ । उपलब्धिमा सँगीसाथी, गुरुजन र अभिभावकको समेत महत्त्वपूणर् सहयोग मिल्नेछ । धनधान्य र प्रतिष्ठाका दृष्टिले राम्रो दिन छ, साझेदारीमा कुनै व्यवसाय गर्दै हुनुहुन्छ वा कुनै यात्रामा सँगै निस्कँदै हुनुहुन्छ भने साझेदारलाई आफ्ना विचार, इच्छा र आनीबानीका बारेमा खुलेर बताउनु होला । नयाँ प्रविधिको प्रयोगले ज्ञान र क्षमतामा बृद्धि हुनेछ, अझ कलात्मक विषयमा रुचि छ भने वरिष्ठ कर्मचारीलाई समेत प्रभावित तुल्याउन सकिने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आन्तरिक सम्बन्धका लागि राम्रै दिन छ, तर भेट भएको मौकामा सामान्य कुरामा पनि तर्क वा बहस नगर्नु होला । आयको मार्ग सबल छ, तर बोली र व्यवहारमा निकै सतर्कता अपनाउने समय हो, कुरा काट्नेहरूले तपाईंको छिद्र खोतल्ने प्रयास गर्नेछन् । सागसब्जी र चिसोजन्य कारोबारीहरूले राम्रो गर्न सक्नुहुन्छ, आम्दानीको पाटो सहज नै देखिन्छ, तर पनि फुइँ लाउने क्रममा मोटै रकम खर्च हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मनमा शान्ति र मुहारमा कान्ति छाउने सन्तोषजनक समय छ । प्रियजनसँग भेटघाट हुनेछ अथवा आश मारेको वस्तु वा धन हात पार्न सकिने छ । उधारोमा गएको धन वा ऋणकारोबार मुख्य विषय बन्नसक्छ, यद्यपि चिकित्सा क्षेत्र, औषधी, काष्ठ, फर्निचर आदि कारोबार छ भने प्रशस्त लाभ पाउन सक्नुहुन्छ । आत्मबल र जोसजाँगर बढ्नेछ, घरायसी काम समयमैं टुङ्ग्याइने छ, भावना साटासाट गर्दै पतिपत्नी एकान्तमा रमाउन पाउने र घुमफिरमा निस्कने समय हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
धनको मामिलामा उदासीन बन्नुहुँदैन, त्यस्तै कुनै पनि ठूला निणर्यहरू लिनुहुँदैन । कुनै काम गर्ने हो भने केही समय योजना बनाउनुहोस्, अनुभवी र सिनियर्सको सुझाव ग्रहण गर्नुहोस्, अनिमात्र काम थाल्नुहोस् । विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धन लाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ । बाध्यात्मक काममा सञ्चित धनको उपयोग हुनेछ । तालमेल र पारदर्शिता राखेर सम्बन्ध राख्नु ठीक हुनेछ, ससाना कुरा पनि लुकाउने वा छल्ने काम गर्नु हुँदैन, नत्र विश्वासको सङ्कट हुनसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सरकारी ठेक्कापट्टा, गृहनिर्माण, फर्निचर र साजसज्जाका सामाग्री, बालबालिकाका सरसामाग्री, खानपीनका सुख्खा सामाग्री, गरगहना र सुनको कारोबारमा लाभ पाउन सकिन्छ । पारिवारिक सुखमा अभिबृद्धि हुने तथा छोराछोरीबाट सन्तोष मिल्ने समय छ । ज्ञान वा अनुभवको प्रयोग गरी कुनै महत्त्वपूणर् विषयमा लाभ लिन सकिने छ । रिजल्टको प्रतीक्षामा हुनुहुन्छ भने आशाअनुरूप परिणाम प्राप्त हुनेछ । आशावादी बनेर लक्ष्यप्रति केन्द्रित भएमा हाँके/ताकेका काम पूरा गर्न सजिलो हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कामधन्दामा मज्जाले खट्नुपर्ने हुन्छ, जीवनसाथीले आफ्नो विवशता नबुझिदिंदा झन दिक्क लाग्नसक्छ, तर बृद्धबृद्धाको सद्भाव र सहानुभूति बटुल्न पाइने छ । क्षमता र सीपको सही मूल्याङ्कन हुने समय हो । पेसा, व्यवसाय वा क्यारियरका बारेमा चिन्तन गरी पढाइलाई अघि बढाउनु ठीक हुन्छ । प्रतिष्ठा बढ्ने दिन हो, वंश, कुल र पितृपक्षका विषयमा आकर्षण देखिने छ, कार्यक्षेत्रमा पनि वरिष्ठ कर्मचारी प्रसन्न रहनेछन् । अझ बृद्धबृद्धा वा मान्यजनको सेवाचाकरी गरेमा भाग्यबल बढाउन सकिने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
तारिफयोग्य काम गरेर दङ्गपर्ने दिन हो, तर आज चुनौती र सङ्घर्षका माझमा काम निकालेर इज्जत जोगाउन सकिने समय हो । प्रेमीसँग कुनै विशेष समारोहका बीचमा भेटघाट हुनाले आन्तरिक आनन्द र प्रसन्नतामा बृद्धि हुनेछ, अचानक वैवाहिक बन्धनमा बाँधिने योजना पनि बनाउन सक्नुहुन्छ । बौद्धिक र ज्ञानमूलक विषयमा रुचि बढ्ने एवं शुभचिन्तकहरूको साथ पाइने राम्रो दिन छ, सुखद समाचार सुन्न पाउँदा दिन प्रेरणास्पद बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
हाकिमको कचकच बढ्नेछ, अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने बाध्यता हुनेछ, तापनि प्रयत्न गर्दा लाभमूलक क्षेत्रको पहिचान गर्न सकिने छ । ससाना कुरामा मन आत्तिने दिन हो, उता समय एवं परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा इच्छा पूरा हुन सक्दैन । अत्यास लाग्ने दिन छ, आफ्नै वा परिवारको कुनै स्वास्थ्यसम्बन्धी समस्याले पिरोल्न सक्छ । धार्मिक र रहस्यात्मक विषयमा रुचि जाग्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
रूपसौन्दर्य र गहनागुरियामा आकर्षण बढ्नेछ, सिर्जनात्मक काम गीतसङ्गीत, नृत्य÷अभिनय वा कला र साहित्यका विषयमा रुचि जाग्ने समय हो । आफ्नो खूबी, क्षमता र आन्तरिक प्रतिभालाई बाहिर निकालेर प्रतिष्ठा कमाउने समय हो, लुकेको कलात्मक प्रतिभाको प्रस्फुटन हुनाले भविष्य सुध्रने छ । सबैको सहयोग प्राप्त हुनाले ताकेको कामबाट छिट्टै फुर्सद पाइने छ र नयाँ काममा हात हाल्ने मानसिकतासमेत बन्नसक्छ । यो रचनात्मक उर्जाले भरिपूणर् समय हो, प्रियजनसँगको भेटघाटले वातावरण रमाइलो बन्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर