बिर्तामोड । बिर्तामोड नगरपालिकाले लघु उद्यमीहरूलाई प्रविधि सहयोग गरेको छ ।
गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले विभिन्न वडाका उद्यमीहरूलाई आज प्रविधि हस्तान्तरण गरेको हो ।
नगरपालिकाको हलमा आयोजित एक कार्यक्रमका बिच लुगा सिलाउने मेसिन १० थान, इन्टरलग मेसिन ४ थान, ब्याग सिलाउने मेसिन १ थान, तौल मापन गर्ने मेसिन १ थान, अचार बनाउनका लागि ग्यास चुलो १ थान, बाख्रा पालनका लागि तारजाली १८ थान वितरण गरेको हो । यस्तै धुप पेपर कटिङ मेसिन १ थान, पोते उन्नका लागि ग्लु गन २० थान, ब्युटी पार्लरको लागि आइरन ६ थान, ड्रायर ६ थान वितरण गरिएको कार्यक्रम संयोजक चनिमाया तामाङले जानकारी दिएकी छन् ।
ब्याग सिलाउने मेसिन वडा नम्बर ९ को पारिजात उद्यमी समुहलाई प्रदान गरिएको हो । उक्त सामाग्रीहरू नगर प्रमुख पवित्रा महतारा प्रसाईं, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकी, वडा नम्बर ६ का वडाअध्यक्ष सूर्य कन्दङ्वा र वडा नम्बर १० का वडाअध्यक्ष दुर्योधन गुरुङले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईँले आफ्नो सीप र क्षमतालाई सदुपयोग गर्दै अघि बढ्नु पर्ने धारणा राखेकी थिइन। राज्यको सम्पत्ति दुरुपयोग गर्न नहुने भन्दै उनले नगरले प्रदान गरेका सामाग्रीहरूको सही सदुपयोग गर्न आग्रह गरेकी छन् । सीपलाई श्रम र श्रमलाई बजारसँग जोड्नु पर्ने बताउँदै नगर प्रमुख प्रसाईँले वैदेशिक रोजगारीमा जानु भन्दा यही मेहनत गर्न सके जीवनस्तर उकास्न सकिने उनको भनाई छ ।
यस्तै नगर उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौलाले गरिबी निवारणका लागि गरिएको यो सहयोग ठिकसँग उपयोग गर्नु पर्ने बताए । प्रविधिसँग जोडेर काम गर्नु पर्ने बताउँदै उनले आज वितरण गरिएको प्रविधि उपयोग भए नभएको बारे नगरले अनुगमन गर्ने सुझाए । अनुगमनका क्रममा सामाग्री उपयोग नभएको पाइए फिर्ता ल्याएर अन्यलाई वितरण गर्ने भनको भनाई थियो ।
कार्यक्रममा लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले प्रदान गरेको तालिममा सहभागीहरूलाई प्रमाण पत्र वितरण गरिएको छ । ब्युटीपार्लर तालिममा सहभागी ६ जना, सिलाई कटाई तालिममा सहभागी १३ जना र एसी, फ्रिज मर्मत तालिममा सहभागी १ जनालाई प्रमाण पत्र प्रदान गरिएको हो ।
नगरपालिकाले लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ब्युटीपार्लर, सिलाई कटाई , फुल बनाउने, धुपकाँटी बनाउने, मुढा बनाउने, ढाका बुनाई, पोते बनाउने, अचार बनाउने लगायतका महत्वपूर्ण तालिमहरू प्रदान गर्दै आएको छ ।