काठमाडौं : साफ च्याम्पियनसिपको उपाधिका लागि आज भारत र कुवेत आमने साामने हुँदैछन्।
घरेलु मैदान र समर्थकको साथ पाएको भारतले कीर्तिमानी नवौं पटकको उपाधि जित्ने दाउमा छ। खेल बैंग्लोरमा राति पौने आठ बजे सुरु हुनेछ।
घरेलु मैदानमा भएका पछिल्ला १० खेलमा अपराजित भारतले ८ खेलमा त गोल नै खाएन। दक्षिण एसियाकै प्रभावशाली स्ट्राइकर सुनिल क्षेत्रीको कप्तानीमा रहेको यो टोली घरेलु मैदानमै अर्को ठूलो इतिहास बनाउने लक्ष्यमा छ। कुवेत पनि साफ च्याम्पियनसिपको पहिलो सहभागितामा नै उपाधि उचाल्ने लक्ष्यमा छ।
भारतले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ४-० गोलले हराउँदै शानदार सुरुवात गरेको थियो। दोस्रो खेलमा नेपालविरुद्ध २-० गोलले विजयी भारत तेस्रो खेलमा कुवेतसँग १-१ गोलको बराबरीमा रोकियो। सो गोल भारतले ८ खेलपछि पहिलो पटक खाएको थियो। एउटै समूहमा रहेका भारत र कुवेत पहिलो पटक साफको फाइनल खेल्न लागेका हुन्। आमन्त्रित टोली कुवेत पनि पहिलो पटकमै उपाधि जित्ने दाउमा छ।
साफ च्याम्पियनसिपमा एकछत्र राज गरेको भारतले १३ पटक फाइनलमा स्थान बनाउँदा पाँच पटकमात्रै विपक्षीलाई नतिजा सुम्पेको छ।