काठमाडौँ : कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई र लीलबहादुर थापाको जोडी बुधवार सम्पन्न मदन भण्डारी स्मृति ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलमा च्याम्पियन भएको छ।
एमाले नेता मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा नेपाल खेलकुद महासंघले आयोजना गरेको मदन स्मृति ब्याडमिन्टन प्रतियोगितामा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई र एमालेका नेता लीलबहादुरको जोडी च्याम्पियन भएको हो।
ललितपुरको महालक्ष्मीस्थानस्थित रिभाइज लेजर पार्कमा सम्पन्न फाइनलमा राई र थापाको जोडीले एमालेका नेता यज्ञराज सुनुवार र नेपाली काँग्रेसका नेता दिलमान पाख्रिनको जोडीलाई २१–१७ र २१–१९ ले हराउँदै उपाधि उचाल्यो।
उक्त प्रतियोगितामा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नेपालका अध्यक्ष कमल थापा र गणेश थापाको जोडी तथा एमालेका नेताद्वय भानुभक्त ढकाल र नवराज सिलवालको जोडी संयुक्त रूपमा तेस्रो भए।
बुधवार नै भएको सेमिफाइनलमा थापा दाजुभाइको जोडी राई र थापाको जोडीसँग २१–१६ र २१–१७ ले पराजित भयो। अर्को सेमिफाइनलमा भने यज्ञराज र दिलमानको जोडीले नवराज सिलवाल र भानुभक्त ढकालको जोडीलाई २१–६ र २१–७ ले हरायो।
प्रतियोगिताका विजेतालाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना र नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेतको पुरस्कार वितरण गरेका थिए। महासंघले संविधानसभा सदस्य, राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाका वर्तमान तथा पूर्वसदस्यबीच प्रतियोगिता गराएको हो। उक्त प्रतियोगितामा कुल ६२ जना राजनीतिज्ञले सहभागिता जनाएको महासंघका सचिव तथा प्रवक्ता तीर्थबहादुर खड्काले जानकारी दिए।
नेपाल खेलकुद महासंघले राजनीतिकर्मीबीच विभिन्न समयमा हुने कटाक्ष र वैमनष्य खेलकुदको माध्यमबाट कम गर्ने उद्देश्यअनुरूप उनीहरूबीच भाइचारा कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेपाल राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी दिए।