Aamsanchar

मोहनमायामा १२ कोठे तिन तले भवन उद्घाटन, विद्यार्थी संख्या १ हजार ७ सय, भवन अझै अभाव 

Author Image
बिहिवार, असार २१, २०८०

चारपाने ।  झापाको बिर्तामोड –२ रामचोकमा रहेको मोहनमाया माध्यमिक विद्यालय परिसरमा निर्माण सम्पन्न भएको १२ कोठे तीन तले भवन उद्घाटन भएको छ ।

बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले आफ्ना पिता कृष्णप्रसाद प्रसाईँको स्मृतिमा निर्माण गरिदिएको भवनको बिहीवार (आज) उद्घाटन गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष देवी निरौला बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका दुर्गा प्रसाईँले भवनको उद्घाटन गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा प्रसाईँलाई अभिनन्दन तथा बीएण्डसी अस्पतालकी अध्यक्ष इन्दिरा गिरीलाई सम्मान गरिएको छ ।

विद्यालयकी शिक्षिका अनिता कार्की बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक मुकुन्द ढकालले गरेका थिए । सोही कार्यक्रमकैबीच विद्यार्थीहरूले साङ्गीतिक तथा नाटक प्रस्तुत गरेका थिए ।

२०२४ सालमा स्थापना भएको यस विद्यालयलाई ३०३१ सालमा पञ्चकन्या ग्रुपका प्रेमबहादुर श्रेष्ठ, अमरबहादुर श्रेष्ठ, शेरबहादुर श्रेष्ठ र विष्णुबहादुर श्रेष्ठले  ६५ हजार खर्च गरेर चार कोठे पक्की भवन बनाएका थिए । तत्कालीन शिक्षा ऐन अनुसार दाता परिवार तर्फबाट उहाँहरूको आमा मोहनमायाको नाममा विद्यालयको नामाकरण भएको  प्रधानाध्यापक श्रेष्ठले जानकारी दिए ।

२०५३ सालमा निम्नमाध्यमिक, २०६८ सालमा माध्यमिक तहको अनुमति र २०६९ सालबाट एसएलसी परीक्षामा सामेल भएको थियो ।

२०७५ साल देखि प्राविधिक शिक्षा सुरु भएको छ । मेची अञ्चलमै पहिलो पटक सिटिभिटीबाट सम्बद्ध लिएर डिप्लोमा इन सिभिल इन्जिनियर कक्षा सञ्चालन हुँदै आएको छ । कक्षा ११ मा २०७६ साल देखि कक्षा ११ को पढाई भइरहेको छ । जसमा विज्ञान र व्यवस्थापन विषय रहेको छ ।

हाइड्रो पावर विषय डिप्लोमा इन हाइड्रो पावर विषय नेपालमा पठनपाठन सुरु गर्ने मोहनमाया दोस्रो विद्यालय रहेको छ ।

विद्यालयमा बिहान र दिउसो गरि ९२ जना शिक्षकहरूले पठनपाठन गराउँदै आएका छन् ।  नेपाल सरकार बाट दरबन्दी प्राप्त गरेका ३३ जना शिक्षकहरू रहेका छन् । ५९ जना शिक्षकको सेवा सुविधा व्यवस्थापन आन्तरिक रूपबाट भइरहेको बताइएको छ ।

मोहनमायामा हाल विद्यार्थी संख्या १ हजार ७ सय जना रहेको छ । विद्यालयमा अंग्रेजी माध्यमबाट पनि पढाई हुने गरेकोले मोहनमायामा विद्यार्थीको चाप उच्च रहेको छ । विद्यार्थीको वर्षेनी बढ्दो चापलाई थेग्न भवन अझै अभाव रहेको प्रधानाध्यापक श्रेष्ठले आमसंचारलाई बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
4
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 222

प्रतिक्रिया (०)

सम्बन्धित खबर