मोरङ । प्रदेश संसदीय दलका नेता रहेका नेपाली कांग्रेसका नेता उद्धव थापा कोशी प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नियुक्त भएका छन् । नेपाली कांग्रेसबाट पहिलो पटक उनी कोशी प्रदेशको मुख्यमन्त्री बनेका हुन् ।
प्रदेशले यस अघि चार जना मुख्यमन्त्री पाइसकेको छ । पहिलो एमालेका शेरधन राई र दोस्रोमा एमालेकै भीम आचार्य, तेस्रो मुख्यमन्त्रीमा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका राजेन्द्रकुमार राई र चौथोमा एमालेकै हिक्मतकुमार कार्की मुख्यमन्त्री बनेका थिए ।
केन्द्रीय सत्ता बाँडफाँडमा देखिएको अस्थिरताको कारण प्रदेशसभाको दोस्रो कार्यकालमै दोस्रो मुख्यमन्त्रीका रुपमा थापाले प्रदेश सरकारको नेतृत्व सम्हाल्न पाएका छन् ।
२०१४ मंसिर १५ गते झापाको अर्जुनधारा –४ शनिश्चरेमा बुबा हेमबहादुर थापा र आमा डम्बरकुमारी थापाको कोखबाट जन्मिएका उनले अहिलेसम्म विभिन्न आरोह अवरोह पार गरेका छन् ।
उनको श्रीमती भगवती थापा र दुई जना छोरा छन् । २०३४ सालमा काठमाडौंको शंकरदेव क्याम्पसबाट नेविसङ्घको राजनीति सुरु गरेका थापा २०३६ सालको जनमत सङ्ग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा र निरंकुश पञ्चायती व्यवस्थाको विरुद्धमा प्रचार अभियानमा लागेका थिए ।
त्यसबेला थापा विपी कोइरालाको सुरक्षा दस्तामा सहभागी थिए । २०४६ सालमा पञ्चायती व्यवस्था विरुद्वको आन्दोलनमा पनि सहभागी भएका थापा प्रजातन्त्र पुनःस्थापनापछि भने कांग्रेसको स्थानीय समितिमा रहेर काम गरे । उनले कांग्रेसको अर्जुनधारा गाउँ समितिको सचिव र सभापति, झापा क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति, झापा जिल्ला सचिव, उपसभापति र दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी पनि सम्हालेका थिए ।
२०६२/०६३ सालको जनआन्दोलनको समयमा उनी एक पटक १२ दिन र एक पटक १६ दिन तत्कालीन शाही सेनाको हिरासतमा परेर चरम यातना खेपेका थिए । २०६३ सालपछि उनले ३ वर्षसम्म जिल्ला समन्वय समितिमा सर्वदलीय संयन्त्रको सदस्य भएर काम गरे ।
उनी २०७० साल र २०७४ सालको निर्वाचनमा भने एमालेका उम्मेदवारबाट पराजित हुनुपरेको थियो ।
उनी कांग्रेसको १३ औं महाधिवेशनबाट भने कोशी प्रदेश सभापतिमा निर्वाचित भए । उनले प्रदेश सभापतिमा कांग्रेसका चर्चित नेता गुरुराज घिमिरेलाई २ मतले पराजित गरेका थिए ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौला निकट रहेर प्रदेश सभापतिमा विजयी भएसँगै थापाको राजकीय भूमिकामा देखा पर्ने बाटो खुल्यो । उनले २०७९ सालको प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट समानुपातिक बन्दसूचीमा खसआर्यतर्फ पहिलो नम्बरमा नाम राख्न सफल भए । उनै थापा समानुपातिक कोटाबाट सांसद बने ।
कोशी प्रदेशसभा २०७९ साल माघमा भएको कांग्रेस संसदीय दलको निर्वाचनमा उनले संस्थापन पक्षको उम्मेदवार बन्दै इतर पक्षका केदार कार्की र अमृत अर्याललाई पराजित गरेका थिए । २९ सांसद रहेको कांग्रेस संसदीय दलमा थापाले १८ मत ल्याएका थिए । योसँगै दलको नेता बनेका उनी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको ६ महिनाको अवधिमा सहयात्री दलहरु माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाको सहयोगमा मुख्यमन्त्रीमा नियुक्त हुन सफल भए ।
थापाको सत्तायात्रा भने त्यति सहज देखिँदैन । उनको नियुक्ति प्रक्रियालाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गर्न सुरु गरेको छ । तटस्थताको भूमिकामा रहेका सभामुखको संख्या गणना गरेर झिनो बहुमत (४७) पुर्याएका थापाका लागि ३० दिनपछि विश्वासको मतमार्फत बहुमत सिद्ध गर्नु तथा एमालेको गठबन्धनमा रहेको राप्रपालाई फकाएर आफ्नो पक्षमा ल्याउनु कठिन हुने देखिन्छ ।
त्यसका साथै सरकारका हरेक विधेयक तथा प्रस्तावहरूलाई प्रदेशसभाबाट पारित गराउने र सहयात्री दलहरूलाई मन्त्रालय बाँडफाँडमा चित्त बुझाएर अघि बढ्नु उनका लागि अर्को चुनौती हो । प्रदेश संरचनाप्रति जनतामा फैलिरहेको असन्तुष्टिलाई कम गर्नु, प्रदेश संरचना जनताकै सेवामा समर्पित रहन्छ भन्ने सन्देश दिएर सुशासन र विकासतर्फ प्रदेशलाई डो¥याएर लैजानु पनि उनलाई तेस्रो चुनौती छ ।
थापालाई उनी निकट काङ्ग्रेसीहरू विकासवादी, व्यावहारिक र राजनीतिका योजनाकारको रुपमा लिन्छन् । उनी कांग्रेसमा रहँदा विचारमा कांग्रेस, व्यवहारमा कांग्रेस, व्यवसायमा कांग्रेस, विकासमा कांग्रेस र विपदमा कांग्रेसको नीतिलाई साथसाथै लानुपर्ने बताउने गरेका छन् ।
वाणिज्य शास्त्रमा स्नातकतहसम्मको अध्ययन गरेका थापा समन्वयकारी भूमिकामा रहन आफूलाई रुचाउँछन् । समन्वयकारी भूमिका र विकासवादी सोच रहेका उनले प्रदेशलाई कसरी अगाडि बढाउँछन्, त्यो भने हेर्न बाँकी छ । श्रोत:रातोपाटी