काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले ६ महिना सुनसरीकाे धरान उपमहानगरपालिकामा काम गर्ने बताएका छन्।
शनिबार राप्रपा सम्पर्क समाज समन्वय विभागको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आफूले ६ महिना धरानमा बसेर पार्टीको काम गर्ने बताएका हुन्।
‘देशलाई माया गर्ने, धर्मलाई माया गर्ने र आफ्नो जीवनकालमा देश बनेको देख्न चाहने र देशभित्र नै रोजगारी सिर्जना होस् भनेर चाहना राख्नेहरूको पार्टी राप्रपा हो भनेर बुझाउने र उनीहरूलाई राप्रपामा जोड्ने कामको प्रारम्भ भएको छ । म आफै धरान उपमहानगरपालिकामा ६ महिनाका लागि जाँदै छु,’ उनले भने।
अध्यक्ष लिङ्देनले हरेक नेता ६ महिनाका लागि निश्चित स्थानीय तहहरूमा जोडिने बताउँदै आफूले ६ महिना त्यहाँ बस्ने नभई हरेक दिन आफू सो क्षेत्रसँग जोडिने बताए।
‘म त्यहाँ हरेक दिन जोडिन्छु। अब राप्रपालाई नयाँ ढंगले अगाडि बढाइन्छ। केही महिनाभित्रमा पार्टीको सबै कमिटीमा ३३ प्रतिशत महिला र हरेक कमिटीमा ४० वर्षका युवाहरूलाई सहभागी गराउने काम हामी गर्दैछौं,’ उनले भने।