Aamsanchar

बैतडीमा कसैले ल्याउन सकेन ३.६ जीपीए माथि

Author Image
आइतवार, असार २४, २०८०

बैतडी –सुदूरपश्चिम प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा खस्कँदै गएको छ । सामुदायिक विद्यालयमा पछिल्लो समयमा शैक्षिक गुणस्तर खस्कँदै जाँदा यसको प्रभाव एसईईको नतिजामा देखिएको हो ।

हालै सार्वजनिक एसईई नतिजामा सुदूरपश्चिममा ३.६ भन्दा माथि जीपीए ल्याउने परीक्षार्थीको संख्या न्यून  छ । शिक्षा विकास निर्देशनालयले प्रदेशभरि ४२२ विद्यार्थीको मात्र ३.६ भन्दा माथि जीपीए आएको जनाएको छ ।

बैतडीमा ३.६ भन्दा माथि जीपीए ल्याउने परीक्षार्थीको संख्या शून्य रहेको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुस्कर शर्माले जानकारी दिए ।

उनले भने, “बैतडीबाट पाँच हजार ३३८ जना परीक्षार्थी सहभागी थिए, कसैको पनि ३.६ भन्दा माथि जीपीए आएको छैन । गत वर्ष पनि कसैको उक्त जीपीए आएको थिएन ।”

सुदूरपश्चिमका नौ जिल्लामध्ये ३.६ भन्दा माथि जीपीए ल्याउन नसक्ने बैतडी मात्र हो । बैतडीबाहेक प्रदेशमा सबैभन्दा बढी कैलालीबाट २२७ जनाले ३.६ भन्दा माथि जीपीए ल्याएका छन् ।

यस्तै, डोटीबाट ७४ जनाले, कञ्चनपुरबाट ७२ जनाले, डडेलधुराबाट २२ जनाले, दार्चुलाबाट १२ जनाले, अछामबाट नौजनाले, बाजुराबाट पाँच र बझाङबाट एकजनाले ३.६ भन्दा माथि जीपीए ल्याएका छन् ।

माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार अहिले स्थानीय तहलाई भए पनि शिक्षा क्षेत्रलाई प्राथमिकतामा नराख्दा गुणस्तर खस्कँदै गएको हो । निरन्तर रूपमा शैक्षिक गुणस्तर ओरोलो लाग्दै गएको भए पनि स्थानीय तहहरूले शैक्षिक गुणस्तर सुधारमा चासो देखाएका छैनन् ।

स्थानीय सरकारले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा ध्यान नदिँदासम्म नतिजा सोचेअनुसारको हासिल गर्न नसकिने शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नरेन्द्र अवस्थीले बताए ।

उनले भने, “स्थानीय तहको ध्यान शिक्षातिर कम गएको छ । गुणस्तर सुधार र नियमित अनुगमन र निरीक्षणमा चासो नदिँदा यो समस्या देखिएको हो । स्थानीय सरकारले नै गुणस्तर सुधारमा ध्यान दिनुपर्छ ।”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)