Aamsanchar

आजबाट श्रावणी पर्व सुरु, अर्जुनधारामा हरेक सोमबार विशेष पूजा हुने  

Author Image
सोमवार, असार २५, २०८०

अर्जुनधारा । हरेक वर्ष श्रावणी सोमबार बोलबम मेला आयोजना हुँदै आएको झापाको अर्जुनधारा जलेश्वर धाममा आजबाट सोमबारे धार्मिक मेला सुरु भएको छ ।
आज विशेष पूजा अर्चना गरेर साउने धार्मिक पर्व सुरु भएको धाम समितिले जानकारी दिएको छ । 

महिनाले आज असार हो तर चन्द्रमास अनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु भएको हो । सौरमास अनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चन्द्रमास अनुसार दुईवटा सोमबार पछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ ।

२०२३ सालमा सिद्ध तपस्वी मौनव्रती खडेबाबाको प्रेरणाबाट स्थापित शिवालय स्थापनाको ५८ वर्षमा आइपुग्दा पूर्व क्षेत्रको धार्मिक आस्था र पर्यटकीय क्षेत्रको केन्द्रको रुपमा स्थापित भइसकेको छ । संस्कृति तथा पर्यटन मन्त्रालयमा पर्यटकीय स्थलको रुपमा सूचिकृत भइसकेको यस धाममा वार्षिक लाखौं धार्मिक पर्यटकहरू आउने गरेको धामका अध्यक्ष नवीन गट्टानीले आमसंचारलाई बताए ।

अर्जुनधारा जलेश्वरधामको हुलाक टिकट प्रकाशित भइसकेको छ ।

अर्जुनधारामा हरेक वर्ष बालाचतुर्दशी, शिवरात्रि, श्रावणी पर्व, अक्षय तृतीया, शिव पार्वती विवाह महोत्सव, ऋषि तर्पणी, हरितालिका तिज, श्रीकृष्ण जन्माष्टमी, ऋषि पञ्चमी, दशैँ, तिहार, वसन्तपञ्चमी, गुरु पूर्णिमा, शनि जयन्ती, छठ पर्व, सूर्य उपासना, मंगल चतुर्थी, हनुमान जयन्ती, राम नवमी, नाग पञ्चमी लगायतका पर्वहरूमा विशेष पूजा र मेला आयोजना हुने गरेको छ ।

विगतका वर्षमा श्रावणी सोमबार जल चढाउनेको लाइन बजार सम्म पुग्ने गरेको र पानी झरीको कारण भक्तजनलाई कष्ट हुने गरेको देखेपछि यस वर्ष धाम परिसरमा पण्डालको ओतलाग्ने ठाउँ बनाइने र भक्तजनले झरीमा नरुझी जल चढाउने व्यवस्थापन मिलाइने बताइएको छ । हरिहर महिना भएकाले अर्जुनधारा धाममा साउन २ गते देखि एक महिने पुरुषोत्तम कथा महायज्ञको आयोजना गरिने जलेश्वर धामका पिठाधीश अग्नि सिग्देलले जानकारी दिए ।

फायल फोटो : आमसंचार

आर्थिक अवस्था
स्वदेश तथा विदेशबाट दानवीरहरूले दिने गरेको दान भेटी, प्रदेश र संघीय सरकारबाट  प्राप्त सहयोगले विकास हुँदै आएको धामलाई विभिन्न मन्त्रालयहरूको समन्वयमा गुरुयोजना तयार परिएको छ । क्रमिक रुपमा बन्दै आएका भौतिक संरचनाहरू गुरु योजना अनुसार नै बनेका छन् ।

धाममा बन्दै गरेको भौतिक संरचना विस्तार हुँदै गएपछि धाम क्षेत्र साँघुरो बनेको छ । हरेक वर्ष श्रद्धालु भक्तजनको बढ्दो आगमन सँगै धार्मिक गतिविधि गर्न भूमि अभाव हुन थालेपछि धाम समितिले भूमि विस्तार गर्ने योजना अनुसार भूमि दान अभियान ल्याएको छ ।  अभियान अन्तरगत १ करोड ३५ लाखमा १० कठ्ठा जग्गा धामले खरिद गरेको छ ।  धामका लागि यती जग्गा भने पर्याप्त हुदैन

धाम सञ्चालनको लागि निकै ठुलो रकम खर्च हुँदै आएको छ । गुरुकुल पनि रहेको धामको आर्थिक श्रोत भने विवाह, व्रतबन्ध, लघु रुद्राभिषेक, गुरुकुल अक्षयकोष, आजीवन सदस्यता, पितृमोक्ष अन्नदान अक्षयकोष, विविध धार्मिक तथा सांस्कृतिक पर्वमा संकलित दान भेटी रकम, महर्षी फाउण्डेसन फर वैदिक कल्चर केन्द्रिय कार्यालय काठमाडौंबाट मासिक रुपमा प्राप्त हुने अनुदान रकम, तिन तहको सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने रकमबाट आम्दानी र खर्च गर्ने गरिएको धाम सचिवालयले जनाएको छ ।

फायल फोटो : आमसंचार

अर्जुनधारा जलेश्वर धामको प्रख्यातिको कारण स्थानीय नगरपालिकाको नाम पनि अर्जुनधारा राखिएको छ । धामको श्रीवृद्धि हुँदै गएपछि सो क्षेत्रको सामाजिक विकासमा पनि सहयोग पुगेको छ ।

धामकै कारण दैनिक सयौँ सार्वजनिक भाडाका गाडीहरूले यात्रु पाइरहेका छन् । वर्ष भरि पटक पटक गरि लाग्ने धार्मिक अनुष्ठान र मेलाको कारणले सो क्षेत्रका सय भन्दा धेरै स्थानीय हरूको सानो सानो व्यवसायहरु चल्दै आएको छ । स्वदेश र छिमेकी देशहरूबाट आउने श्रद्धालु धार्मिक पर्यटकहरू पनि अर्जुनधारा नगर क्षेत्रको आर्थिक श्रोत बन्ने गरेका छन ।
धाम समितिको सक्रियताको कारण अर्जुनधारा जलेश्वरधाममा हरेक वर्ष केही न केही भौतिक निर्माणको काम हुने गरेको छ । यस वर्ष मन्दिर परिसर धुलो रहित बनाइएको छ ।  धामको चर्चा सवत्र भएपनि चर्चा अनुसारको पूर्ण भौतिक
पूर्वाधारहरू भने तयार हुन सकेको छैन ।

धाम समितिले टाढा टाढा बाट आउने साधु सन्त, पर्यटक, विद्धान विदुषीहरुलाई दिवसीय सेवा उपलब्ध गराउने उद्देश्य राखेर सुविधा युक्त अतिथि सदन निर्माणको अवधारणा अघि सारेको छ । अतिथि सदन निर्माणको लागि संघीय सरकार र विभिन्न मन्त्रालयहरूमा योजना प्रस्थाव गरेको छ ।

त्यस्तै आधुनिक शौचालय निर्माणको लागि कोशी प्रदेश सरकार समक्ष योजना पेश गरेको छ । निर्माणधीन खडेबाबा पार्कलाई पूर्णता दिने कार्य भइरहेको छ । धाम परिसरमै पूरातात्विक महत्वका सामाग्री सम्पदा तथा विभिन्न जातजातिका भेषभूषा संस्कृति झल्काउने सामाग्री संकलन गरेर संग्राहलय भवन बनाउने धाम समितिले उद्देश्य राखेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर