Aamsanchar

अवैध रुपमा ठुलो परिणाममा भारतीय कुखुरा आयात हुन थाले पछि मोरङ र झापामा व्यवसायीले गरे अनुगमन

Author Image
सोमवार, असार २५, २०८०

प्रतिकात्मक फायल तस्वीर ।

झापा । नेपाली बजारमा कुखुरा जन्य बस्तुको मूल्य बढेपछि भारतीय प्रतिवन्धित अवैध कुखुराको तस्करी बढेको छ । रोग परीक्षणबिना भारतबाट दिनहुँ ब्रोइलर कुखुरा भित्रिँदा मानव स्वास्थ्यमा असर पर्ने सम्भावना उच्च रहेको सरोकार राख्ने निकायले बताएका छन् ।

भारत संग सिमाना जोडिएका झापा, मोरङ र सुनसारीका विभिन्न नाका हुुँदै कोशी प्रदेशका साना तथा ठुला सहरहरुमा प्रतिवन्धित भारतीय कुखुराको अवैध आयात हुँदै आएको जिल्ला कुखुरा व्यवसायी संघ झापाले जनाएको छ । संघका झापा सदस्य घनस्याम निरौलाका अनुसार ब्रोइलर कुखुराको तयारी मासु, जिउँदो कुखुरा र अण्डा नेपालमा अबैध रुपमा भित्रिँदै आएको छ ।

नेपाली बजारमा कुखुराको मूल्य बढेको मौका छोपेर बिचौलियाहरूले भारतबाट अवैध रूपमा कुखुरा भित्र्याउने गरेका छन् । तस्करहरूले नेपालकै कुखुरा भएको दाबी गर्छन् । यद्धपी झापा, मोरङ र सुनसारी हुँदै यी जिल्लाका नाकाबाट अवैध रुपमा निकासी हुने ब्रोइलर कुखुरालाई बैधानिकता प्रदान गर्न बिचौलियाले फर्जी विल नियमनकारी निकायलाई देखाउने गरेका छन् ।
भारतबाट नेपाल भित्र्याउँदा साईकल र मोटर साईकलमा उभिण्डो पारेर अवैध आयात गरिएका कुखुरा नेपाल सम्म आईपुग्दा शिथिल र घाईते अवस्थाको हुने गरेको पशु क्वारेन्टाईन विराटनगरले जनाएको छ । क्वारेन्टाईनका सूचना अधिकारी समेत रहेका पशु चिकित्सक अरविन्द कुमार राजधोवीले दुर्घन्धित, घाईते र शिथिल अवस्थाका कुखुरा जन्य बस्तुको उपभोग मानव स्वास्थ्यका लागि हानिकारक हुने बताए ।
भारत संग सिमाना जोडिएका झापा, मोरङ र सुनसरीका दक्षिणी ईलाकाबाट तस्करहरूले ल्याएका कुखुरा पनि नेपालकै कुखुरा भएको दाबी गर्ने गरेका छन् । तस्करले अवैध बस्तुलाई वैधानिकता दिन हरतरहको कागजी विल भपाई मिलान गर्ने गरेका छन् ।

नेपालको तुलनामा भारतीय सरकारले दिएको सुविधाका कारणले सस्तोमा उत्पादन भएका भारतीय उत्पादन संग नेपाली उत्पादनले मुल्यमा प्रतिस्पर्धा गर्न नसक्ने व्यवसायीले बताउँदै आएका छन् । स्थानिय व्यवसायीहरूले पालेका कुखुरा बिक्री गर्दा भारतबाट अवैध रूपमा भित्र्याउने तस्करहरूले सस्तो मूल्यमा बिक्री गरिदिँदा नेपाली व्यवसायी मर्कामा परेको जिल्ला कुखुरा उत्पादक व्यवसायीक संघ झापाका अध्यक्ष विवेक निरौलाले बताए ।
भारतबाट अवैध रूपमा आयात हुने कुखुरामा बर्डफ्लूको सम्भावना बढी हुने भएकाले नेपाली कुखुराको मासु नै सेवन गर्न चिकित्सकले सल्लाह दिएका छन् । भारतबाट बिनापरीक्षण अबैध आयात गरिने भारतीय कुखुराको मासु नखान दमक नगरपालिकाका प्रमुख राम थापाले नगरबासीमा आग्रह गरेका छन् ।
भारतीय र नेपाली उत्पादनका कुखुरामा प्रष्ट भिन्नता हुने नेपाली व्यवसायीले बताए । भारतीय कुखुरा ‘कब’—४०० जातको हुन्छ । यो जात भारतीय नै हो । भारतीय ब्रोइलरको पहेँलो खुट्टा हुने, छातिमा मासु कम र अग्लो प्रकृतीको हुने हुन्छ । यता नेपालमा उत्पादन हुने कुखुरा अमेकिरी नश्लको ‘कब’ ५०० जातको हुन्छ । नेपालका उत्पादन भएका कुखुराको छातीमा मासु धेरै हुने र चेप्टो प्रकृतीको हुन्छ । यो कुखुराको कुट्टा सेतो र छोटो हुने गरेको नेपाली पोल्ट्री व्यवसायीहरुले बताएका छन् ।

यसैविच भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको प्रतिवन्धित कुखुरा मोरङको रतुवामाईमा बरामद भएको छ । इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरिक्षक ढुन्डीराज गिरीको कमाण्डमा परिचालन भएको प्रहरी टोलीले मे १ च १९८१ नम्बरको टाटा पिकअप र १३९ साथ जिउदो भारतीय कुखुरा बरामद गरेको हो ।

बरामद गरिएको कुखुरालाई स्थानिय जनप्रतिनिधि, कुखुरा व्यवसायी, प्रहरी र पत्रकारको रोहवरमा नष्ट गरिएको प्रहरी निरीक्षक ढुण्डी गिरीले बताए । बरामद भएका कुखुरा मोरङको डायनिया स्थित सिक्टी नाकाबाट ल्याईएको त्यसमा संलग्न अवैध कारोवारी रमेश भट्टराईले बताए । भट्टराई केही दिन यता भारतीय प्रतिवन्धित कुखुराको अवैध आयात गर्ने र झापा दमकका व्यवासयीलाई नेपालकै ब्रोइलर कुखुरा भएको बताउँदै विक्रि गर्ने गरेका थिए ।
प्रहरीलाई भट्टराईले दिएको बयानका आधारमा स्थानीय शसस्त्र प्रहरी र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले विश्वकर्मा गाँउमा लुकाई छिपाई भारतीय कुखुराको भण्डारण गरेको फेला पारेको थियो । रहमान पोल्ट्री फार्मका संचालक नविहसन मिँयाले ति कुखुरा भारतबाट साईकल र मोटर साईकलमा अवैध तस्करी गरि ल्याएका तस्कर संग खरिद गरेर झापा, मोरङ र सुनसरीका बजार होटल सम्म पुर्याउने गरेको भट्टराईले प्रहरी संग बयान दिए । उनका अनुसार प्रतिदिन कम्तिमा १५ वटा पिकअपमा कुखुरा नेपाली बजारमा भित्रिने गरेको छ ।
डायनिया क्षेत्रबाट निकासी हुने अधिकांस कुखुरा भारतीय भएको स्थानीयले बताए । ति कुखुरा रंगेली सुनवर्सी हुँदै मोरङको पथरी, उर्लाबारी, मधुमल्ला, दमक सम्म आउने गरेको उनले जानकारी दिए ।
यता झापाका व्यवसायीेले दमक नगर प्रमुख राम थापालाई ध्यानाकर्षण पत्र बुझाउँदै स्थानिय स्तरमा भारतीय अस्वस्थ्यकर मासुको विक्रि वितरणमा तत्काल रोक लगाउन माग गरेका छन् । व्यवसायीले त्यसको नियमित अनुगमन गर्नपनि माग गरेका छन् ।

व्यवसायीको ध्यानाकर्षण पत्र बुझ्दै सरोकारबाल निकायका प्रतिनिधि संगको आकस्मिक बैठकमा नगर प्रमुख थापाले बजारको नियमित अनुगमन र सार्वजनिक सूचना समेत गर्ने निर्णय भएको बताए ।
नगरको पशु विकास शाखा, खाद्य तथा गुणस्तर शाखा, ईलाका प्रशासन कार्यालय दमक, ईलाका प्रहरी कार्यालय, स्थानिय पत्रकार सहितको टोलीले दमक बजारको आकस्मिक अनुमगन गरेको थियो ।
अनुगमनका क्रममा दमक ७ स्थित नासिर स्टोरमा पुगेको टोलीले भन्डारण गरिएका करिव ४५० ब्रोइलर कुखुरा फेला पारेको थियो । ति कुखुरा आफुले सप्तरीको कठौनाबाट खरिद गरेको उनले दावि गरे ।
तर, उनको साथमा खरिद विल र क्वारेन्टाइको प्रमाण पत्र नरहेको पशु सेवा कार्यालय दमकका प्राविधिक विपु अधिकारीले बताए । व्यवसायइले भने नासिर स्टोर का प्रोपाईटर इदिृस सिद्धिकीले भारतीय कुखुराको अवैध कारोवार गर्ने गरेको दावि गरेका छन् । ‘उनको स्टोरमा भएका कुखुरा घाईते, अशक्त, दुर्घन्धित र ‘कब’ ४०० संग मिल्ने भएकाले भारतीय नै भएको पुष्टि हुन्छ,’ व्यवसायी जीया मियाँले भने ।
‘उनको स्टोरमा भएका कुखुरा ‘कब’—४०० जातको हो, उर्लाबारीका विके वहुउद्देस्यीय कृषी फर्मका संचालक खगेन्द्र लिम्बुले भने ‘यो जात भारतीय नै हो । भारतीय ब्रोइलरको पहेँलो खुट्टा हुने, छातिमा मासु कम र अग्लो प्रकृतीको हुन्छ ।’
यसैविच आन्तरिक राजश्व कार्यालय दमकले नासिर स्टोरको खरिद र विक्रि विल जफत गरेर अनुसन्धान सुरु गरेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 300

प्रतिक्रिया (०)

सम्बन्धित खबर