

काठमाडौं : मानव अधिकार तथा शान्ति समाजले तत्काल युद्ध रोक्न आग्रह गर्दै काठमाडौस्थित रुसी दुतावास अगाडि प्रदर्शन गरेको छ । रुस–युक्रेन युद्धको ५०५ औँ दिन पुग्दा पनि युद्ध नरोकिएको भन्दै समाजले युद्ध रोक्न आग्रह गर्दै रुसी दूतावास अगाडि प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले रुसः तत्काल युद्ध अन्त्य गर, युद्धको ५०५ दिनः मानवता पराजित, रुसी आक्रमण बन्द गर, युद्धको ५०५ दिनः इतिहास लज्जित,रुसी आक्रमणका कारण हजारौं नागरिकको मृत्यु, मानवता पराजित हुँदैछ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनपछि रुसका राष्ट्रपति भ्लादीमिर पुटिनलाई शान्ति समाजका तर्फबाट लेखिएको ज्ञापनपत्र नेपालस्थित रुसी राजदूतावास अधिकारीमार्फत् हस्तान्तरण गरिएको थियो । शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले युद्धका कारण मानवता पराजित भइरहेको दु:खद अनुभव भएको र यसले समग्र विश्वमा नै असर परेकाले ध्यानाकर्षण गरिएको बताए।

रुसलाई युद्ध रोक्न आग्रहसहित समाजले विगतमा पनि रुसी राजदूतावास अगाडि र देशभरी पटकपटक प्रदर्शन गर्दै आएको छ।

