Aamsanchar

विरिङ खोलामा पुल बनेपछि नागरिकको साइनो सम्बन्ध नजिकियो 

Author Image
शुक्रवार, असार २९, २०८०

झापा । एक दशक अघि  सम्म बाह्रदशी गाउँपालिकाको मुख्य बजार राजगढ र झापा गाउँपालिकाको झापा बजार आउजाउ गर्न सार्वजनिक यातायात बसमा  करिव आठ घण्टा समय लाग्ने गरेको थियो ।  झापा बजारबाट छुटेको बस शरणामती, सुरुंगा बिर्तामोड लक्ष्मीपुर, घैलाडुब्बा, चकचकी हुँदै राजगढ पुग्नु पर्ने हुन्थ्यो ।

‘पछिल्लो सात वर्ष देखि गत वर्ष सम्म सडकको स्तरोन्नति हुँदै धेरै जसो ठाउँमा कालोपत्रे भएपछि बसहरूको बिर्तामोड नपुग्ने गरि रुट परिवर्तन भयो र यात्राको समय छोटिएर करिव चार घण्टामा झर्रो । यतिसम्म सुविधा हुँदा हामीले ठुलो विकासको अनुभूति गरेका थियौं । यस वर्ष देखि झापा स्थित हुलाकी सडक अन्तरगतको विरिङ खोलामा पक्की पुल निर्माण सम्पन्न र हुलाकी सडक कालोपत्रे भएपछि सवारी साधन मार्फत को यात्रा समय अवधि २० मिनेटमा झरेको’ स्थानीय सरोज सुवेदीले बताए ।

पैदल र साइकलबाट यात्रा गर्नेहरूले निकै सास्ती ब्यहोर्नु पर्ने हुन्थ्यो, पुल नभएका कारण डुङ्गा र बासको पुलबाट नदी तर्दा यात्रा जोखिम पूर्ण रहने गरेको थियो । अहिले हुलाकी राजमार्ग अन्तरगत विरिङ खोलामा पक्की पुल बनेपछि हामिले कल्पना पनि नगरेको विकासको अनुभूति भएको सुवेदीले बताए ।

पुल नभएको कारण बाह्रदशी र झापा गाउँपालिकामा बसोबास गर्ने नागरिकहरूको एक आपसको साइनो सम्बन्ध टाढिएको थियो । लामो दुरीको बाटोकै कारण जन्ती, मलामी जान आउन पनि समस्या थियो ।

पुल सञ्चालनसँगै जिल्लाका दक्षिणी क्षेत्रका लाखौं बासिन्दा लाभान्वित बनेका छन् । बाह्रदशी गाउँपालिका २ र झापा गाउँपालिका ५ वडालाई जोडने उक्त पुल तीन सय २४ मिटर लामो र सात मिटर चौडाइको छ ।

विसं २०६८ असार ३१ गते ठेक्का लागेको सो पुल २०७१ चैत १२ गतेदेखि सञ्चालनमा आउनुपर्ने थियो । ठेक्काको जिम्मेवारी लामा मैनाचुली जेभिले लिएको थियो । ठेकेदारको ढिलासुस्तीकै कारण छ पटक म्याद थप गर्दा बल्ल १२ वर्षमा पुल निर्माण कार्यले पूर्णता पाएको हो ।

सो पुल मूल्य अभिवृद्धि करसहित १५ करोड ५० लाख ५८ हजार रुपैयाँमा ठेकेदार कम्पनीले ठेक्कामा लिएको बताइएको छ ।

विरिङ खोलामा बनेको पुलको दुवै तर्फको केही मिटर सडक भने कालोपत्रे हुन बाँकी छ ।  पूर्व मेचीदेखि पश्चिम महाकालीको गड्डाचौकीसम्म एक हजार छ सय मिटरको हुलाकी मार्ग निर्माणपछि तराई–मधेसका सर्वसाधारणको जीवनस्तर उकास्न मद्दत पुग्ने देखिएको छ । सो सडक निर्माणलाई विभिन्न खण्डमा विभाजन गरेर काम गरिएको थियो ।

भिडियो पनि हेर्नुहोस ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
4
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर