

छिर्के गोमन सापले डसिदियो हामी बन्यौँ घाइते
ब्वाँसो तुल्य रहेछ राहु झुसिलो सन्सारकै काइते
जम्मैलाई समूल छेदन गरी हाँस्तै छ कि रावण ?
पश्चात्ताप चुहिन्न पत्थरहरूभन्दा निठुरी जन
जन्मिन्छन् किन धर्तीमा प्रकृति ए ! मान्छे महा पातकी
काट्यो फूल सुवासिला गजबका उद्यानको घातकी
भन् ए ईश्वर सिर्जना किन गरिस् यो कालनेमि पिरो
मान्छेका रुपमा नराधम यहीँ उम्रेछ कि फ्याउरो
सारा शास्त्र पढेपनि हृदयमा उद्याउने बन्चरो
ताकी हान्दछ शिरमा कलमले सिध्याउने थेत्तरो
आफैँलाई म ब्रह्म हुँ भनी सधैँ खोक्ने महा दुष्कर
घोच्दै मानिसका सुकोमल मुटु डस्ने कडा छुस्कर

यस्तो मानिस सिर्जना नगर है स्रष्टा ! धरामा अरू
सोक्पा राक्षस वा पिसाचहरूको छायाँ बनोस् ऊ बरू ।
होस् उत्थान कदापि बज्र नखसोस् यो क्रुरका गाथमा
अश्वत्थामसरि सजीव ऊ बनोस् पीडा सिई माथमा

Views: 5


