
बिर्तामोड । संघीय सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने, सरकारी खर्च कम गर्ने, कर्मचारीलाई दुई दिन बिदा दिने तथा अन्तर्राष्ट्रिय अभ्यासअनुसार कार्यालय सञ्चालन गर्ने उद्देश्यले सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो।
तर रोङ गाउँपालिका ले उक्त निर्णय कार्यान्वयनपछि सेवाप्रवाहमा समस्या देखिएको जनाएको छ। गाउँपालिकाका अनुसार नेपाल विश्वमै धेरै सार्वजनिक बिदा दिने देशमध्ये पर्ने, प्रविधिमैत्री सेवाप्रवाह तथा सेवाग्राहीको पहुँच कम हुनु, साथै भौगोलिक कारणले सेवाग्राहीहरू बिहान ९ बजेसम्म कार्यालयमा उपस्थित नहुने अवस्थाका कारण कार्यसम्पादनमा चाप बढेको हो।

गाउँपालिकाले ९ बजे कार्यालय खुल्ने व्यवस्था लागू भएयता अधिकांश कार्यालयमा सेवाग्राहीहरू बिहान १० बजेअघि उपस्थित नभएको पाइएको जनाएको छ।

असार मसान्तभित्र सम्पन्न गर्नुपर्ने धेरै योजना तथा कार्यक्रम समयअभावका कारण प्रभावित हुन सक्ने भन्दै जेठ ४ गते बसेको कार्यपालिका बैठकले जेठ ६ गतेदेखि लागू हुने गरी सामुदायिक विद्यालयबाहेक अन्य कार्यालयहरू पुरानै समय तालिकाअनुसार सञ्चालन गर्ने निर्णय गरेको पालिका अध्यक्ष मनि कुमार स्याङ्बोले जानकारी दिए ।
गाउँपालिकाले असार मसान्तपछि आवश्यकताअनुसार निर्णय पुनरावलोकन गर्न सकिने पनि उल्लेख गरेको छ।
सामान्यतया एशियाली देशहरूमा सार्वजनिक बिदा धेरै हुने प्रवृत्ति रहेको पाइन्छ भने युरोपका धेरै देशमा सार्वजनिक बिदा कम भए पनि वार्षिक तलबसहितको बिदा बढी हुने अभ्यास रहेको छ।


