Aamsanchar

आयोडिनयुक्त नुनबारे भ्रम नफैलाउन आग्रह

Author Image
सोमवार, जेठ ४, २०८३

झापा । आयोडिनयुक्त नुनबारे फैलाइएका भ्रम चिर्दै सरोकारवालाले उपभोक्तालाई वैज्ञानिक तथ्यका आधारमा मात्र जानकारी लिन आग्रह गरेका छन् ।

राष्ट्रिय उपभोक्ता मञ्च झापाको आयोजनामा बिर्तामोडमा सम्पन्न ‘बजारमा उपलब्ध नुनको गुणस्तर तथा यसको उपभोगबाट हुनसक्ने जोखिम’ विषयक अन्तरक्रियामा वक्ताहरूले आयोडिनयुक्त नुन स्वास्थ्यका लागि आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासले आयोडिनको कमीले गलगाँड, थकान, मानसिक विकासमा अवरोधलगायत समस्या निम्त्याउने बताए । वरिष्ठ बालरोग विशेषज्ञ टंक बाराकोटीले बालबालिकाको बौद्धिक विकासका लागि आयोडिन अत्यावश्यक रहेको उल्लेख गरे ।

राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले “दैनिक करिब ५ ग्राम आयोडिनयुक्त नुन स्वास्थ्यका लागि उपयुक्त मानिन्छ” भन्दै सामाजिक सञ्जालमा फैलाइएका भ्रममा नपर्न आग्रह गरे ।

राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बाको अध्यक्षतामा आयोजित कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईं, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख सुवासचन्द्र वस्ती, साल्ट ट्रेडिङ कर्पोरेसनका प्रतिनिधिलगायतले गुणस्तरीय आयोडिनयुक्त नुन प्रयोग गर्न र अखाद्य नुनको बिक्री रोक्न नियमित अनुगमन आवश्यक रहेको बताएका थिए ।  अत्यधिक मुल्य निरर्धारण गरेका र पुन: प्याकेजिङ गरेर विभिन्न नाममा बिक्री गरिदै आएको नुन कानुनी रुपमा अवैध रहेको विज्ञहरुको भनाई थियो ।

Views: 29

प्रतिक्रिया (०)