चारपाने । संघीय सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो, प्रभावकारी र उत्तरदायी बनाउन सबै सरकारी कार्यालयलाई निर्देशन दिइरहेका बेला नेपाल टेलिकम को बिर्तामोड कार्यालय भने अझै पुरानै ढर्रामा चलिरहेको आरोप स्थानीयवासीले लगाएका छन् ।
वैशाख ३० गते साँझ चारपाने–शनिश्चरे सडकखण्ड अन्तर्गत चारपाने चोकदेखि करिब सय मिटर उत्तरतर्फ रहेको टेलिफोनको खम्बा लच्किएपछि स्थानीयमा त्रास फैलिएको थियो । सडक नजिकै लत्रिएको तारमा मालवाहक ट्रक ठोक्किँदा टेलिकमका तार तानिएर विद्युतका पोलसमेत हल्लिएका थिए । त्यसक्रममा विद्युत सर्ट भई केही समय क्षेत्र नै अन्धकार बनेको स्थानीयले बताएका छन् ।
घटनापछि स्थानीयले तत्काल विद्युत प्राधिकरण र टेलिकम कार्यालयलाई खबर गरेका थिए । विद्युत प्राधिकरणका कर्मचारी पुगेर विद्युत सेवा पुनः सञ्चालन गरे पनि टेलिकमले भने लच्किएको पोल र जोखिमयुक्त तार व्यवस्थापनमा बेवास्ता गरेको भन्दै आलोचना भइरहेको छ ।

स्थानीय होमनाथ साहका अनुसार अहिले पनि तार सडक नजिकै झुन्डिएको अवस्थामा छ भने खम्बा ढल्ने जोखिम कायमै रहेको छ । “हिजो ठूलो दुर्घटना टर्यो, तर फेरि त्यस्तै अवस्था आयो भने कसले जिम्मा लिन्छ रु” उनले प्रश्न गरे ।

स्थानीयका अनुसार सार्वजनिक सडक क्षेत्रमा रहेका टेलिकमका पोलहरू विभिन्न इन्टरनेट सेवा प्रदायकलाई भाडामा दिइने गरिएको छ । एउटै पोलमा अत्यधिक तार झुन्ड्याउँदा व्यवस्थापन कमजोर बन्दै गएको र अधिकांश स्थानमा तार लत्रिएको अवस्था देखिन थालेको उनीहरूको गुनासो छ ।
चारपाने क्षेत्रका बासिन्दाले टेलिकमको बिर्तामोड कार्यालयबाट समयमै सेवा नपाइने, गुनासो गर्दा पनि बेवास्ता हुने समस्या पुरानै रहेको बताएका छन् । पटक–पटक जनगुनासो आउँदा पनि सुधारको संकेत नदेखिनु सरकारी सेवाप्रतिको नागरिक विश्वास कमजोर बनाउने विषय भएको स्थानीयको टिप्पणी छ ।
सरकारले सेवा सुधारको भाषण गरिरहँदा फिल्डमा जिम्मेवार निकायको उदासीनता भने उस्तै देखिएको भन्दै स्थानीयले प्रश्न उठाएका छन्— दुर्घटना भएपछि मात्रै सम्बन्धित कार्यालय ब्युँझिने हो भने जनताको सुरक्षाको जिम्मा कसले लिने रु
स्थानीयवासीले संभावित दुर्घटना रोक्न, जोखिमयुक्त पोल र तार तत्काल व्यवस्थापन गर्न तथा सेवा प्रवाहलाई जिम्मेवार बनाउन टेलिकम कार्यालयलाई आग्रह गरेका छन् ।


