
बिर्तामोड – अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपा र बिर्तामोड उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा १८ वर्षमुनिका बालबालिकाहरूका लागि शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर सञ्चालन हुने भएको छ ।
शिविरमा जन्मजात वा पछि खुट्टा बाङ्गो भएको, हड्डी नजाेडिएकाे, हात–खुट्टा मोडिएर बाङ्गो भएको, हिप जोइन्ट खुस्किएको, पोलियो तथा अन्य कारणले शरीरको अंग टेढो–मेढो भएका बालबालिकाहरूको परीक्षण गरिने आयोजकले जनाएको छ ।
यस्तै, हात वा खुट्टा नचल्ने, ढाड बाङ्गिने, हड्डी पाक्ने समस्या भएका, बोलाइ, सुन्नाइ तथा अनुहारसम्बन्धी समस्या भएका बालबालिकाहरूलाई समेत परीक्षण तथा परामर्श प्रदान गरिनेछ ।
शिविर आगामी जेठ ८ गते शुक्रबार अतिथि सदन बिर्तामोडमा सञ्चालन हुनेछ भने जेठ ९ गते शनिबार अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, इटहरीमा कार्यक्रम हुने जनाइएको छ । दुवै दिन बिहान ८ः३० बजेदेखि बेलुका ४ः३० बजेसम्म सेवा प्रदान गरिने आयोजकले जनाएको छ ।
शिविरमा आवश्यक परेका बालबालिकाहरूलाई अस्पतालमा ल्याई थप उपचार, शल्यक्रिया तथा उपकरणसम्बन्धी सेवा पनि उपलब्ध गराइने केन्द्रका फिल्ड सहजकर्ता जानकी वल्लब भट्टराईले जानकारी दिनुभयाे ।


