बिनोद पाण्डे
झापाको बिर्तामोड पछिल्लो एक दशकयता तीव्र रूपमा आधुनिक सहरका रूपमा विकसित हुँदै गएको छ। स्वदेशीदेखि विदेशी उपभोग्य सामग्री सहज रूपमा पाइने यो सहर अहिले विशेषगरी विविध खानाका परिकारका कारण पनि चर्चामा आउन थालेको छ। पाँचतारे होटलदेखि साना मझौला होटलसम्म सयौँ व्यवसाय सञ्चालनमा छन्, जहाँ दैनिक ग्राहकको उल्लेख्य भीड देखिन्छ।
यही प्रतिस्पर्धात्मक बजारमा फरक स्वाद र नयाँ अवधारणासहित सञ्चालनमा आएको छ ‘बिर्तामोड ग्रिल चिकेन एण्ड तन्दुरी हाउस’। वैदेशिक रोजगारीमा दशकौँ बिताएर फर्किएका दुई दाजुभाइले सुरु गरेको यो व्यवसाय अहिले स्थानीय ग्राहकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ।
वैशाख १ गतेदेखि बिर्तामोड पश्चिम बस स्टेण्ड दक्षिण, टाइमलेस होटल अगाडि सञ्चालनमा आएको यस हाउसले खाडी मुलुकमा लोकप्रिय ग्रिल, तन्दुरी तथा सोर्माको स्वाद नेपाली ग्राहकसम्म पु¥याउने प्रयास गरिरहेको छ। यहाँ कुखुरा, माछा, हाँस तथा बटाईको मासुबाट बनाइने विभिन्न परिकार पस्किने गरिएको छ।
यस व्यवसायका सञ्चालक प्रकाश देउजाले २४ वर्ष खाडीसहित चार देशमा खाद्य तथा परिकार प्राविधिकको रूपमा काम गरेको अनुभवलाई अहिले आफ्नै देशमा प्रयोग गरिरहेका छन्। विदेशमा सिकेको सीपलाई स्वदेशमै प्रयोग गर्नुपर्छ भन्ने सोचका साथ नेपाल फर्किएका उनी अहिले आफै कुक बनेर ग्राहकलाई परिकार तयार पारिरहेका छन्।

उनका अनुसार तेलको अत्यन्त न्यून प्रयोग गरेर तयार गरिने भएकाले यहाँका परिकार स्वादिष्ट मात्र होइन, तुलनात्मक रूपमा स्वास्थ्यकर पनि छन्। यही विशेषताका कारण छोटो समयमै ग्राहकको सकारात्मक प्रतिक्रिया आउन थालेको छ।
भारतबाट ल्याइएको आधुनिक ओभनमार्फत एकैपटक १६ वटा कुखुरा ग्रिल गर्न सकिने व्यवस्था गरिएको छ। यसले ग्राहकलाई छिटो सेवा दिन सहयोग पुगेको सञ्चालक किरण देउजाले बताए। बढ्दो मागसँगै अनलाइन अर्डर सेवा पनि सुरु गरिएको छ।
ग्रिल चिकेन मात्र होइन, सोर्मा र तन्दुरी नान पनि यहाँका प्रमुख परिकारमा पर्छन्। नयाँ स्वाद खोज्ने युवादेखि खाडी मुलुकको स्वाद सम्झिने वैदेशिक रोजगारीबाट फर्किएका ग्राहकसम्म यहाँ पुग्ने क्रम बढिरहेको छ।
यस व्यवसायमा हाल दुई जना कुकसहित ६ जनाले रोजगारी पाएका छन्। देउजा दाजुभाइले करिब २० लाख रुपैयाँ लगानी गरेर व्यवसाय सुरु गरेका हुन्।
उनीहरूको अर्को विशेषता भनेको कृषि र होटल व्यवसायलाई एकसाथ जोड्नु हो। बाह्रदशी–घोडामारामा सञ्चालन गरिएको ७ बिघा क्षेत्रफलको कृषि फर्मबाट उत्पादन हुने सामग्रीलाई नै होटलमा प्रयोग गर्ने गरिएको छ। हाल माछाबाहेक करिब ९० प्रतिशत मासु, दुग्धजन्य तथा अन्य खाद्य सामग्री आफ्नै फर्मबाट आपूर्ति भइरहेको बताइएको छ।
कोभिड–१९ पछि वैदेशिक रोजगारी अस्थिर बन्दै गएपछि “आफ्नै देशमा केही गर्नुपर्छ” भन्ने सोचले प्रेरित भएर सुरु गरिएको यो प्रयास अहिले धेरै युवाका लागि उदाहरण बन्दै गएको छ। विदेशको अनुभव, स्वदेशको माटो र आफ्नै उत्पादनलाई जोडेर सुरु गरिएको यो व्यवसायले आत्मनिर्भरता र उद्यमशीलताको सन्देश दिएको छ।
स्थानीय ग्राहकहरूका अनुसार निरन्तर गुणस्तर र सेवा कायम राख्न सके भविष्यमा ‘बिर्तामोड ग्रिल चिकेन एण्ड तन्दुरी हाउस’ नेपालकै लोकप्रिय खाद्य ब्राण्ड बन्न सक्ने सम्भावना देखिएको छ।


