
झापा जिल्लाको बिर्तामोड–२ बेलडाँगी स्थित वीर अमरसिंह माध्यमिक विद्यालय का यस वर्षको एसइई परीक्षामा सहभागी विद्यार्थीहरूले उत्साहजनक नतिजा ल्याएका छन् । विद्यालयले हालसम्मकै उत्कृष्ट नतिजा हासिल गरेको जनाएको छ ।
विद्यालयका अनुसार एसइई परीक्षामा प्राविधिक धारतर्फ ३६ जना र साधारण धारतर्फ २३ जना गरी कुल ५९ जना विद्यार्थी सहभागी भएका थिए । जसमध्ये प्राविधिक धारतर्फ ३२ जना र साधारण धारतर्फ २० जना विद्यार्थी उत्तीर्ण भएका छन् । यस वर्ष विद्यालयको कुल नतिजा ८८ प्रतिशत पुगेको बताइएको छ । यो नतिजा बिर्तामोड नगरपालिका भित्रका सामुदायिक विद्यालयमध्ये तेस्रो उत्कृष्ट नतिजा भएको विद्यालयले जनाएको छ ।

उत्कृष्ट नतिजापछि विद्यालय व्यवस्थापन समिति, शिक्षक(अभिभावक समिति तथा शिक्षकहरूले विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष जीवन खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा अध्यक्ष खड्काले विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गर्दै कक्षा १२ उत्तीर्ण गरेपछि मात्रै वास्तविक बधाईको हकदार बन्ने बताए । उनले अझ मेहनतका साथ अध्ययनमा लाग्न विद्यार्थीहरूलाई सुझाव दिएका थिए ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक हेमकुमार उप्रेती, प्राविधिक धारका शिक्षक मोहन ओझा तथा विद्यार्थी अभिभावक समिति अध्यक्ष ढाचाराज कडरिया लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन शिक्षक हरि न्यौपाने र सञ्जय अछामीले गरेका थिए ।


