Aamsanchar

सामुदायिक विद्यालयबाटै ‘टपर’ बाह्रदशीकी शिवानीले ३.९६ जिपिए ल्याउँदै तोडिन् पुरानो भाष्य

Author Image
बिहिवार, वैशाख ३१, २०८३

झापा ।
“उत्कृष्ट नतिजा ल्याउन निजी विद्यालयमै पढ्नुपर्छ” भन्ने सोचलाई शिवानी पोख्रेल ले तोडेकी छन् ।

यस वर्षको एसईई परीक्षामा फूलबारी माध्यमिक विद्यालय की छात्रा शिवानी पोख्रेलले ३।९६ जिपिए हासिल गर्दै बाह्रदशी गाउँपालिका भित्रका १५ वटा निजी तथा सामुदायिक विद्यालयमध्ये सर्वाधिक अंक ल्याएकी हुन् ।

उनको उपलब्धिले सामुदायिक विद्यालयप्रतिको जनविश्वासलाई नयाँ ऊर्जा दिएको छ । मेहनत, अनुशासन र निरन्तर अभ्यास भए सामुदायिक विद्यालयबाट पनि उत्कृष्ट नतिजा सम्भव छ भन्ने सन्देश शिवानीले आफ्नो सफलतामार्फत दिएकी छन् ।

झन् रोचक पक्ष के छ भने, शिवानीका बुबाआमा दुवै जना सामुदायिक विद्यालयकै शिक्षक हुन् । उनका बुबा शिव पोख्रेल विगत दुई दशकदेखि अध्यापनमा संलग्न रहँदै हाल जनविकास माध्यमिक विद्यालय मा कार्यरत छन् । आमा हेमलता पोख्रेल भने १७ वर्षदेखि फूलबारी माविमै अध्यापन गराउँदै आएकी छन् ।

आजभोलि धेरै शिक्षक, कर्मचारी र जनप्रतिनिधिले आफ्ना छोराछोरी निजी विद्यालयमा पठाउने प्रवृत्ति बढिरहेका बेला पोख्रेल दम्पतीले भने छोरीलाई सामुदायिक विद्यालयमै अध्ययन गराएर फरक उदाहरण प्रस्तुत गरेका छन् ।

शिवानीको नतिजा अहिले बाह्रदशी क्षेत्रमा चर्चा र प्रेरणाको विषय बनेको छ । स्थानीयवासीका अनुसार उनी सानैदेखि मेहनती, अनुशासित र जिज्ञासु विद्यार्थीका रूपमा चिनिन्थिन् । शिक्षकहरूले पनि उनको निरन्तर अध्ययनशैली र लगनशीलताको प्रशंसा गरेका छन् ।

उनको सफलताले सामुदायिक विद्यालयका विद्यार्थीमा आत्मविश्वास थपेको मात्रै छैन, अभिभावकलाई पनि विद्यालयको नामभन्दा अध्ययन वातावरण, मेहनत र अभिभावकीय साथ महत्वपूर्ण हुने सन्देश दिएको छ ।

सामुदायिक विद्यालयप्रति बढ्दो निराशाका बीच आएको शिवानीको नतिजाले अब धेरैको सोच बदल्ने अपेक्षा गरिएको छ ।

Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर