असम (पश्चिम कार्बीआङलङ), २६ अप्रिल २०२६ — साहित्य, भाषा र संस्कृतिको संगम बनेको एक विशेष समारोहबीच असम साहित्य सभाको आयोजनामा पश्चिम कार्बीआङलङ जिल्ला समितिद्वारा पुस्तक लोकार्पण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

जिल्लाको प्रमुख प्रवेशद्वारस्थित सिङ रङहाङ मेमोरियल पार्क प्राङ्गणमा बिहान ११ बजे सुरु भएको कार्यक्रमको प्रारम्भ स्थानीय साहित्यकार रबिन बरदलै ले प्रतिमूर्तिमा दीप प्रज्वलन गरेर गरेका थिए भने विशिष्ट साहित्यकार केशव चन्द्र उपाध्याय ले सिङ रङहाङको प्रतिमामा माल्यार्पण गर्दै औपचारिक उद्घाटन गरेका थिए।
अनुवादित कृतिको विमोचन
कार्यक्रमको दोस्रो सत्रमा पश्चिम कार्बीआङलङ जिल्ला समितिका स्थायी सभापति विष्णु निरोला को अध्यक्षतामा ग्रन्थ विमोचन सभा सम्पन्न भयो।

दार्जिलिङकी साहित्यकार डा. नीना राई को कथा संग्रह ‘जीवन मञ्चन’ लाई असमका लेखक रण काफ्ले ले असमिया भाषामा अनुवाद गरेका थिए। उक्त कृतिको विमोचन असम साहित्य सभाका केन्द्रीय उपाध्यक्ष पदुम राजखोवा को बाहुलीबाट गरिएको थियो।
सम्मान र सांस्कृतिक प्रस्तुति
कार्यक्रममा दार्जिलिङबाट आएका अतिथिहरू—डा. नीना राई, डा. साङ्मु लेप्चा, डा. अनिता लामा, सबिता थापा ‘संकल्प’—सहित असमकी प्रतिभाशाली प्रतिस्पर्धी सुकन्या शान्ता शर्मा लाई फूलबुट्टे गाम्छा, झापी र सम्मानपत्रद्वारा अभिनन्दन गरिएको थियो।
विशिष्ट साहित्यकार टङ्क कोवँर ले उद्घाटन मन्तव्य दिएका थिए भने कविहरू पवन शर्मा, मदर ज्योति, वापन क्र’ र ज्योति होमागाई ले विविध विषयमा आफ्नो धारणा राखेका थिए।
सांगीतिक पक्षलाई थप जीवन्त बनाउँदै लोकप्रिय गायक बलेश्वर हान्से तथा सार्थे–रङ्पी द्वयले कार्बी गीत प्रस्तुत गरी दर्शकको मन जितेका थिए।
विचार र विमर्शको केन्द्र
कार्यक्रमका प्रमुख अतिथि पदुम राजखोवाले आफ्नो मन्तव्यमा साहित्यिक संस्थाको गरिमा, अनुवादको सेतु निर्माण, भाषा–साहित्यमा देखिएको पश्चिमी प्रभाव, साइबर अपराध तथा महिला हिंसाजस्ता समसामयिक विषयमा धारणा राखेका थिए।
कार्यक्रम सञ्चालन भाग्य देवी बेपी ले गरेकी थिइन् भने स्वागत मन्तव्य अलका बाठारी ले राखेकी थिइन्।
अन्त्यमा सभापतिको धन्यवाद ज्ञापनपछि असमको राष्ट्रिय सांगीतिक प्रस्तुति सहित कार्यक्रम समापन गरिएको थियो।
यस कार्यक्रमले साहित्यिक अनुवादलाई संस्कृतिहरूबीचको सेतुका रूपमा पुनः स्थापित गर्दै असम र दार्जिलिङबीचको सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाएको छ।



