Aamsanchar

बुट्टावारी–प्याकुरेल सडकको करिव साढे ६ करोडसहित बिर्तामोडमा नौ करोड बढी रकम फ्रिज

गत आर्थिक वर्ष २०७८/०७९ मा बिर्तामोड नगरपालिकाको १८ करोड ४३ लाख ४२ हजार १५३ रुपैयाँ फ्रिज भएको थियो ।

Author Image
सोमवार, साउन १, २०८०

बिर्तामोड । आर्थिक वर्ष २०७९/०८० मा बिर्तामोड नगरपालिकाको ९ करोडभन्दा बढी रकम फ्रिज भएको छ । नगरपालिकाको ९ करोड ३२ लाख ४७ हजार १७७ रुपैयाँ खर्च हुन नसकी फिर्ता गएको हो । संघीय र प्रदेश सरकारको अनुदान रकम फ्रिज भएको नगरपालिकाको लेखा शाखाले जनाएको छ । संघीय सशर्त अनुदानमा चालुतर्फ ३२ करोड १८ लाख ८० हजार रुपैयाँ आएकोमा २९ करोड ३९ लाख १० हजार ४६५ रुपैयाँ खर्च भएको छ । जुन ९१.३१ प्रतिशत हो । त्यस्तै पूँजीगततर्फ १७ करोड ६१ लाख ३५ हजार रुपैयाँ आएकोमा १० करोड ५२ लाख ६४ हजार ९५८ रुपैयाँ मात्र खर्च भएको छ । जुन ५९.७६ प्रतिशत हो । त्यस्तै विशेष अनुदानमा २ करोड र समपूरक अनुदानमा १ करोड ३० लाख आएकोमा त्यस शीर्षकको बजेट करिव शतप्रतिशत खर्च भएको लेखा अधिकृत तेजिन्द्र तामाङले बताए ।

त्यस्तै प्रदेश सरकारको सशर्त अनुदानतर्फ २ करोड ६६ लाख ९८ हजार रुपैयाँ आएकोमा २ करोड ६२ लाख २८ हजार १५६ रुपैयाँ खर्च भएको देखिन्छ । जुन ९८.२४ प्रतिशत हो । त्यस्तै प्रदेशको समपूरक अनुदानतर्फ १ करोड रुपैयाँ आएकोमा ७८ लाख ७ हजार ४५८ रुपैयाँ अर्थात ७८.०७ प्रतिशत खर्च भएको छ । त्यस्तै यसवर्ष आन्तरिक आयतर्फ बिर्तामोड नगरपालिकाको ७ करोड ४० लाख १८ हजार १६६ रुपैयाँ खर्च हुन नसकेको लेखा अधिकृत तामाङले जानकारी दिए ।

गत आर्थिक वर्ष २०७८/०७९ मा बिर्तामोड नगरपालिकाको १८ करोड ४३ लाख ४२ हजार १५३ रुपैयाँ फ्रिज भएको थियो । गत वर्षको तुलनामा यस वर्ष प्रगति राम्रो भएका कारण फ्रिज रकम आधा घटेको लेखा अधिकृत तामाङले बताए । बुट्टावारी–प्याकुरेल सडकको करिव साढे ६ करोड, मातृ तथा नवशिशु कार्यक्रमको करिव १ करोड रकम यस वर्ष फ्रिज भएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 139

प्रतिक्रिया (०)