Aamsanchar

कीर्तिपुरकाे मत्स्यनारायण मन्दिरमा पुरुषोत्तम मेला सुरु

Author Image
मङ्गलवार, साउन २, २०८०

फाेटाे: गाेरखापत्र

काठमाडाैँ – अतिरिक्त महिना मलमास आज (मङ्गलवार)बाट सुरु भई साउन ३१ मा समापन हुदैछ । हरेक मलमासमा जस्तै कीर्तिपुरको मच्छेगाउँको मत्स्यनारायण मन्दिरमा ‘पुरुषोत्तम मेला’ यस पटक पनि आज (मङ्गलवार) बाट सुरु भएको छ ।

राजधानी काठमाडौँबाट आठ किलोमिटर दक्षिण पश्चिममा रहेको चन्द्रागिरि नगरपालिका–९ स्थित मत्स्यनारायण मन्दिरमा मलमासको समयमा भगवान् विष्णुको पूजा–आराधना गर्न नेपाल तथा भारतबाट लाखौँ भक्तजनहरू भक्तजनहरू आउने गर्दछन् ।

पोखरीले घेरिएको उक्त मन्दिरमा प्रत्येक तीन वर्षमा वा अतिरिक्त महिनामा विशेष मत्स्यनारायण मेला पनि लाग्ने गरेको छ । कीर्तिपुर, कलङ्कीको तिन थाना र थानकोट लगायतका नाका करिब ३, ४ किलोमिटर दुरीमा रहेको मन्दिर १७ सय वर्षअघि निर्माण भएको र ४ हजार वर्षअघि पोखरी स्थापना भएको रेकर्ड रहेको मन्दिर मेला व्यवस्थापन समितिले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्दिरका पुजारी शैलेश आचार्यले जानकारी दिनुभयो ।

मलमास अवधिभर कीर्तिपुरबाट चार किमी दक्षिणमा पर्ने मच्छेनारायण मन्दिरमा नारायणको पूजा- पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धर्मग्रन्थमा समेत उल्लेख छ । यस महिनामा नारायणको पूजा गर्नाले पाप नाश हुने जनविश्वास रहेकोले भक्तजनले सो विश्वासका साथ नजिकैको पोखरीमा स्नान पनि गर्ने गरेको पुजारी आचार्यले बताउनुभयो ।

सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार भएको मन्दिरमा माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शङ्ख, चक्र, गधा र पद्म लिएको मूर्ति छ ।

विष्णुले दस अवतार लिँदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरी प्रलय कालमा समुन्द्रमा डुङ्गाको काम गरी वेदलाई सुरक्षा गरेको पुराणमा उल्लेख छ । चार नारायणको दर्शन गर्ने उद्देश्य बोकेका भक्तजनले मत्स्यनारायण मन्दिरको दर्शन गर्न छुटाउँदैनन् ।

मन्दिर घण्टा आकारको पौराणिक तथा कलात्मक शिखर शैलीमा बनेको छ । मन्दिर वरिपरि १४ वटा कलात्मक धारा छन् । धाराको पछाडिपट्टि पर्खालमा प्रत्येकमा विष्णुको रूपको मूर्ति छन् । मन्दिर अगाडि शिलामा स्तुतसहित गरुढ हनुमान र दुवै छेउमा शिवको लिङ्ग छ ।

पोखरी अगाडि जलाशयमा मत्स्य कुण्ड अवस्थित शिव लिङ्ग छ । मन्दिर भित्र पाञ्चायन देवता र अन्य विष्णुका रूपहरू रहेका छन् । पौराणिक शङ्ख घण्टा छन् । दायाँ र बायाँ लक्ष्मी, सरस्वती, गणेश, राधा, कृष्ण, शिव, पार्वती, गरुड, हनुमान, सूर्य र प्रत्यक्ष शिलामा मत्स्यनारायणको ढुङ्गाको मूर्ति छन् ।

मेला व्यवस्थापन समितिका संयोजक एवम् चन्द्रागिरि नगरपालिका–९ का वडाध्यक्ष अच्युत अधिकारीले मेला अवधिभर भगवानको पूजा–आराधना गर्न र चन्द्रागिरि वन नजिकै विकास भएको पदमार्गको लाभ लिन सबै भक्तजनलाई अपिल गर्नुभयो ।

अधिकारीले मेला शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सबै तयारी पूरा गरेको र एक महिनामा करिब २० लाख भक्तजनले मन्दिरमा दर्शन गर्ने अपेक्षा गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१
भाइटिकाका विषयमा जनउक्ति
आइतवार, कार्तिक १८, २०८१