Aamsanchar

मलमासमा के–के गर्न हुन्छ, के–के हुँदैन ?

Author Image
मङ्गलवार, साउन २, २०८०

काठमाडौं : मंगलबार अधिकमास अर्थात् पुरुषोत्तममा शुरु हुँदैछ। मलमास पनि भनिने यो एक महिनामा के–के गर्न हुन्छ, के–के हुँदैन भन्ने जिज्ञासा पाइन्छ।

धर्मशास्त्री डा. देवमणि भट्टराई यो समयमा मांगलिक शुभकार्य गर्न नहुने मान्यता रहेको बताउँछन्। ‘विशेष पूजाआजा, यज्ञ–अनुष्ठान गर्नु हुँदैन । व्रतबन्ध, विवाहर गर्भाधानजस्ता संस्कार गर्नु हुँदैन’, उनी भन्छन्,  ‘त्यस्तै शिलान्यास, नवगृहप्रवेश सप्ताह, नवाह आदि कार्य पनि अधिकमासका वेला बर्जित छन्।’

कामना राखेर तीर्थयात्रा पनि गर्न नहुने मान्यता छ। तर दैनिक रूपमा गरिने स्नान, सन्ध्योपासन, नित्यपूजा आदिका साथै नामकरण, अन्नप्राशन र अन्त्येष्टिजस्ता संस्कार रोकिँदैनन्।

यो समयमा भगवान् पुरुषोत्तम (नारायण) को आराधना गर्नुपर्ने पौराणिक मान्यता छ। यसैले पनि अधिकमासलाई पुरुषोत्तममास पनि भनिन्छ। यो महिनाभरि पुरुषोत्तम माहात्म्य पाठ गर्ने परम्परा छ। बृहन्नारदीय पुराणअन्तर्गतको भनिएको पुरुषोत्तम माहत्म्यमा अधिकमासको उत्पत्ति कसरी भयो र यसवेला के गर्न हुन्छ र के हुँदैन लगायत विभिन्न प्रसंग बताइएका छन्।

यो महिनामा तुलसी पत्रले भगवान नारायणको पूजा आराधना गर्ने, श्रीमद्भागवत महापुराण श्रवण गर्ने लगायत विधान बताइएका छन्। यसबेला गरिने स्नान, दान र भगवान पुरुषोत्तमको आराधना विशेष फलदायी हुने बताइएको छ। अधिकमासको अन्त्यमा तिलको तेलद्वारा निर्मित दीप र काँसको थालमा मालपुवा दान आदि कार्य गरिन्छ।

यो वेला नवविवाहित पतिपत्नी एकैसाथ बस्न नहुने ज्योतिषीय मान्यता छ। ज्योतिषका यी नियमबारे पुरुषोत्तम माहत्म्यमा केही बताइएको छैन। कसैले पूरै महिना र कसैले सुरुका केही र अन्त्यका केहीदिन घर छल्ने गर्छन्।

Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर