झापा । मेची भन्सार हुँदै सीमावर्ती भारतीय बजारबाट एक सय रुपैयाँ भन्दा माथि मूल्यको वैधानिक उपभोग्य बस्तु नेपाल ल्याँउदा अनिवार्य भन्सार लाग्ने भएको छ ।
मेची भन्सार कार्यालयले जारी गरेको सूचनामा ‘एक सयभन्दा बढी मूल्यको कुनैपनि सामान लिएर भारतको बाट नेपाल प्रवेश गर्ने व्यक्तिहरूले आफ्नो साथमा ल्याएको मालसामानको मेची भन्सार कार्यालयको यात्रु शाखामा अनिवार्य जाँचपास गराएर मात्र ल्याउनु पर्ने सूचना गरेको छ ।
नेपाल सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी सो नियम लगाएको ले मेची भन्सारले सूचना गरेर सन्सार कडाइ भएको जनाएको हो । कसैले जाँचपास नगराई ल्याएमा भन्सार ऐन २०६४ बमोजिम चोरी पैठारी कसुरमा कारवाही हुने सूचनामा जनाइएको छ ।
यसअघि सीमा क्षेत्रका भारतीय बजारमा गरिने किनमेलमा भन्सार अनिवार्य थिएन । यस्तो नियमले सीमा क्षेत्रका नेपाली बजारलाई राहत मिल्ने भएको भन्दै नेपाली व्यवसायीहरू खुसी भएका छन् ।
भारतीय बजारबाट बिनाभन्सार सामान भित्र्याउँदा स्वदेशी बजार र राजश्व लक्ष्यसमेत घट्दै गएको अवस्थामा उद्योगी व्यवसायीको समेत माग पूरा गर्दै भन्सार नाकामा कडाइ थालिएको मेची भन्सार कार्यालयले जनाएको छ ।
शुक्रबार मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य संघको सहकार्यमा बसेको सर्वदलीय छलफलले १०० रुपैयाँ भन्दा बढीको सामानमा भन्सार तिराउने, बजार व्यवस्थापन र अनुगमन समिति बनाउने लगायतका तीन वटा निर्णय गरेको बताइएको छ ।
मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले केन्द्रको नीति अनुसार यो नियम लागू गरिने बताए । सरोकारवाला पक्षसँगको छलफलपछि यो नियम कडाइका साथ लागू गरिने उनको भनाई छ ।
मेचीनगर नगरपालिकाकी उप प्रमुख मिना उप्रेतीको अध्यक्षतामा आयोजित छलफलमा मेचीनगर नगरपालिकाका पूर्व मेयर विमल आचार्य, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी दीपक भारती, सशस्त्र प्रहरी बल भन्सार राजश्व आउट पोस्टका प्रमुख डीएसपी निर्मल थापा, नेकपा एमाले मेचीनगर इन्चार्ज चन्द्र प्रसाईँ, माओवादी केन्द्र मेचीनगर अध्यक्ष राजन चिमरिया, नेपाल जनता समाजवादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ, राप्रपाका मेचीनगर सचिव विशाल कृष्ण बाँस्तोला, समाजसेवी डिल्लीराम घिमिरे, यातायात व्यवसायी विष्णुकुमार श्रेष्ठ, कपिल क्षेत्री लगायतले यो नियमबाट सृजना हुने समस्या र समाधानका विषयमा चर्चा गरेका थिए ।