काठमाडौं – एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तान ‘ए’ले जितेको छ । आइतबार राति भारत ‘ए’लाई १२८ रनले हराउँदै पाकिस्तान ‘ए’ले उपाधि उचालेको हो ।
आर प्रेमादासा रंगशालामा टस हारेपछि ब्याटिङमा आएको पाकिस्तान ‘ए’ले तयाब ताहिरको शतकप्रेरित निर्धारित ५० ओभरमा भारत ‘ए’लाई ३५३ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा भारत ‘ए’ले ४० ओभरमा सबै विकेट गुमाउँदै २२४ रन मात्र बनाउन सक्यो ।
भारतका लागि अभिषेक शर्माले सर्वाधिक ६१ रन बनाए । यश विजय धुलले ३९ रन बनाउँदा भारद्वाज साई सुधर्सनले २९ रन बनाए । अन्य ब्याटरले उल्लेखनीय रन जोड्न सकेनन् ।
पाकिस्तानका सुफियान मुकिनले तीन विकेट लिए । अर्शद इकबाल, मेहरान मुम्ताज र मोहम्मद वासिमले समान दुई–दुई विकेट लिए । मुबासिर खानले एक विकेट लिए ।
त्यसअघि पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३५२ रनको योगफल खडा गरेको थियो ।
पाकिस्तानको ब्याटिङमा ताहिरले १०८ रनको शतकीय इनिङ खेले । आक्रामक रूपमा ब्याटिङ गरेका ताहिरले ७१ बलमा १२ चौकार चार छक्का प्रहार गरे । साहिबजादा फर्हानले ६५ र सैम आयुबले ५९ रन बनाए ।
मुबासिर खानले ३५ मोहम्मद वसिमले १७ र मेह्रान मुम्ताजले १३ रन थपे । पाकिस्तानका कसिम अक्रम भने गोल्डेन डक भएका थिए ।
भारतका राजवर्धन हंगरगेकर र रियान परागले समान दुई विकेट लिए । हर्षित राना, मानव सुथर र निशान्त सिन्धुले एक–एक विकेट लिए ।
यी दुवै टिम प्रतियोगिताको समूह ‘बी’मा थिए । उक्त समूहबाट भारत विजेताको रूपमा सेमिफाइनल प्रवेश गर्दा पाकिस्तानलाई आठ विकेटले हराएको थियो । सेमिफाइनलमा भारतले बंगलादेश ‘ए’ लाई ५१ रनले र पाकिस्तानले श्रीलंका ‘ए’ लाई ६० रनले हराएको थियो ।