Aamsanchar

सार्वजनिक सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयनमा समस्या

Author Image
बुधवार, साउन १०, २०८०

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँबाट उपत्यका बाहिर सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयनमा समस्या देखिएको छ ।

काठमाडौँ महानगरपालिकाले गत जेठ १९ गते सूचना प्रकाशित गरी असार १ गतेदेखि काठमाडौँभित्रका चक्रपथ वरपरबाट उपत्यका बाहिर सञ्चालन हुँदै आएका सार्वजनिक यात्रुवाहक सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने निर्णय गरे पनि उक्त निर्णयको कार्यान्वयन नभएको पाइएको हो ।

मुख्यतः काठमाडौँको पेप्सीकोला, जडीबुटी, मनोहरा करिडोर, कोटेश्वर, तिलगङ्गा, बागमती करिडोर, गौशाला, चावहिल, जोरपाटी, धोविखोला करिडोर, गोँगबु, विष्णुमती करिडोर, माछापोखरी, बालाजु, स्वयम्भू, कलङ्की र बल्खुलगायतका क्षेत्रबाट सञ्चालन हुँदै आएका सवारीसाधन असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने निर्णय भए पनि कार्यान्वयनमा समस्या देखिएको हो ।

महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले महानगरले गरेको निर्णय कार्यान्वयनका लागि नगर प्रहरी लागिरहेको बताए । “काठमाडौँ महानगरपालिकाभित्रको यातायातलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि महानगरपालिकाले नेपाल प्रहरी, ट्राफिक प्रहरी र यातायात व्यवसायी तथा मजदुरसँग सहकार्य गरिरहेको छ, चाँडै समस्याको समाधान हुन्छ,” उनले भने ।

नगर प्रहरी प्रमुख पाण्डेले चक्रपथ क्षेत्रमा सञ्चालन भएका टिकट बुकिङ काउन्टरलाई महानगर प्रहरीले हटाउने काम सुरु गरिसकेको जानकारी दिए । “कोटेश्वरबाट पूर्वतर्फ चल्ने केही सवारी साधन महानगरपालिकाको स्वीकृत विना जडीबुटीमा पार्किङ स्थल बनाउन लागेको जानकारी महानगरपालिकालाई प्राप्त भएको छ, उक्त कार्यलाई महानगरपालिकाले तत्काल रोक्नेछ,” उनले सुनाए ।

यस्तै, सोही क्षेत्रको सडक वरपर रहेका टिकट काउन्टरलाई समेत चाँडो हटाउने उनले दाबी गरे । काठमाडौँ महानगरपालिकाभित्र सवारी साधन व्यवस्थित रुपमा सञ्चालन गर्न अवरोध गर्नेलाई महानगरपालिकाले कारबाही गर्ने उनको भनाइ छ ।

नयाँ बसपार्कभित्रबाट सार्वजनिक भाडाका सवारी साधन सञ्चालन गर्नका लागि यातायात व्यवसायी, मजदुर सङ्घ, सङ्गठनको सहकार्यमा नयाँबसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिले यसका लागि नयाँबसपार्कभित्र काउन्टरसमेत निर्माण गरिसकेको छ ।

Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर