एजेन्सी : सिंगापुरमा २० वर्षमा पहिलो पटक महिलालाई फाँसी दिइएको छ। ३० ग्राम हेरोइन तस्करी गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएकी ४५ वर्षीया सारिदेवी जमानीलाई शुक्रबार फाँसी दिइएको हो। सन् २०१८ मा उनीलाई मृत्युदण्डको सजाय सुनाइएको थियो।
अर्का लागुऔषध कारोबारी मोहम्मद अजीज बिल हुसैनलाई पनि फाँसी दिइएको थियो। ५० ग्राम हिरोइन तस्करीको अभियोगमा हुसैनलाई फाँसी दिइएको हो। मृत्युदण्ड पाउने दुवै सिंगापुरका नागरिक हुन्।
२०२२ यता सिंगापुरमा १५ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ।
मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले निर्धारित मृत्युदण्ड रोक्न आग्रह गरेको छ। टिजेसीले पनि मृत्युदण्ड रोक्न आग्रह गर्दै आएको छ। सिंगापुरले लागुऔषध नियन्त्रणको नाममा मृत्युदण्ड दिने क्रम जारी राख्नु अनुचित भएको टिप्पणी एम्नेस्टीले गरेको छ।
विश्वका धेरै देशले मृत्युदण्डको सजाय परित्याग गर्दै लागुऔषधसम्बन्धी मुद्दा सम्बोधनका निम्ति उदार नीति अंगीकार गरिरहेको बेला सिंगापुरले त्यसलाई मनन नगर्नु दुर्भाग्यपूर्ण भएको एम्नेस्टीले बताएको छ।