झापा: धरानमा डेंगु संक्रमणका कारण थप एक बालकको मृत्यु भएको छ। यो सँगै धरानमा डेंगुका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ।
पछिल्लो ९ दिन यतामात्रै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगी संक्रमणका कारण ५ जनाको मृत्यु भएको हो।
डेंगु संक्रमणबाट साउन ३ गते धरान–५ देउराली बस्ने ५३ वर्षीया महिला, साउन ७ गते धरान–१० बस्ने ५६ वर्षीय पुरुष, धरान–२ बस्ने ७७ वर्षीय वृद्ध, साउन १० गते उदयपुरको कटारी बस्ने २९ वर्षीय पुरुष र हिजो विहीबार धरान ११ बस्ने १० वर्षीया बालिकाको मृत्यु भएको धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले बताए।
उनका अनुसार मृत्यु हुनेमा महिला र पुरुष चार/चार जना छन्। धरानमा डेंगु संक्रमणका दर ५९ प्रतिशत रहेको जनस्वास्थ्य अधिकृत मेहताले बताए। धरानमा ३ हजार ७ सय ३१ परीक्षण भएकोमा २ हजार १९९ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ।
स्वास्थ्य महाशाखाले बढी प्रभावित वडाहरुमा लार्भा खोज र नष्ट गर अभियानलाई तीब्र पारिएको बताएको छ। यसवर्ष देशभरका ४ हजार ६ सय १९ जनामा डेंगु संक्रमण भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।