

झापा – मदिरा सेवन गरेर अनैतिक क्रियाकलाप गर्दै गरेको भिडियो सार्वजनिक भएपछि झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौला विवादमा तानिएका छन् । मदिरा सेवन गर्दै एक युवतीसँग अनैतिक क्रियाकलाप गर्दै गरेको अवस्थामा देखिएपछि निरौला विवादमा तानिएका हुन् ।

टिकटक लाइभमा युवतीलाई चुम्बन गर्दै गरेका पुरुष निरौला नै भएको दमक नगरपालिकाले समेत पुष्टि गरेको छ । नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहालले भिडियोमा युवतीसँगै देखिएका पुरुष निरौला नै भएको जानकारी दिए ।

निरौलाले भने नगरपालिकाले उपलब्ध गराएको सरकारी निवासमा युवतीसँगै मदिरा सेवन गरेको भन्ने विषय गलत भएको जिकिर गरेका छन् । जन्मदिन मनाउने क्रममा काठमाडौंको एउटा होटेलमा उक्त कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

भिडियो कसरी बाहिरियो भन्ने विषयमा आफू जानकार नभएको उनले बताए । लाइभ भिडियोमा युवती समेत नशाले लट्ठ भएको देखिन्छ ।
आफ्नो क्वाटरमा केही नभएको भन्ने देखाउन आज बिहानैदेखि रङरोगन गरी प्रमाण नष्ट गराउन निरौलाले कामदार खटाएका बताइएको छ ।

