Aamsanchar

स्थानीयद्वारा कोशी राजमार्गअन्तर्गत लभिङ हिल–माने भञ्ज्याङ सडक खण्ड अवरुद्ध

Author Image
आइतवार, साउन १४, २०८०

संखुवासभा : संखुवासभामा कोशी राजमार्गअन्तर्गत लभिङ हिल–माने भञ्ज्याङ सडक खण्ड स्थानीयले अवरुद्ध पारेका छन्।

ठेकेदार कम्पनी शर्मा शिवशक्ति जेभीले सडक निर्माणमा लापरबाही गरेर वर्षाको समयमा सडक मर्मत नगरेको भन्दै स्थानीयले आजबाट सडक अवरुद्ध पारेको अरुण उपत्यका सामुदायिक विकास क्लबका अध्यक्ष जिल्लामान राईले जानकारी दिए।

उनका अनुसार ठेकेदार कम्पनीको लापर्वाही र ढिलासुस्तीका कारण पैदल यात्रा गर्न समेत समस्या भएका कारण कोशी राजमार्गअन्तर्गत लभिङ हिल–माने भञ्ज्याङ सडक खण्ड अवरुद्ध गरेको हो। सडकको अवस्थाको बारेमा पटक पटक सडक विभाग र सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाए पनि बेवास्ता गरेका कारण बाध्य भएर सडक अवरुद्ध गरेको राईले बताए। सडक अवरुद्ध भएपछि मकालु, चिचिला र भोटखोला गाउँपालिका जाने र आउने सयौँ गाडी बाटैमा अलपत्र परेका छन्।

हिलाम्मे सडकमा यातायातका साधन चल्न सक्ने अवस्था नभएपछि स्थानीयले सडक बारेर अवरुद्ध गरेको बताए। स्थानीयको अवरोधका कारण उत्तरी क्षेत्रमा यातायातका साधन चल्न सकेका छैनन्। सडकका ठुल्ठूला खाडलमा पानी जमेर हिलाम्मे बनेको छ।

ठेक्का लागेको लामो समय बितिसक्दा पनि राष्ट्रिय गौरवको किमाथांका–विराटनगर कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडक खण्डको कालोपत्र गर्ने कामले गति लिन सकेको छैन। दुई वर्षमा करिब २५ प्रतिशत मात्रै काम भएको छ। सम्झौतानुसार अब ३९ किलोमिटर सडक कालोपत्र ९ महिनामा सम्पन्न गरिसक्नु पर्छ।

Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर