Aamsanchar

महिलाको तल्लो पेटको दुखाइ थोरैलाई पूर्णविराम, धेरैलाई निद्रा हराम ?

तल्लो पेट दुख्ने मुख्य कारण

Author Image
आइतवार, साउन २८, २०८०

तल्लो पेटको दुखाइ हरेक महिलाका लागि महिनावारी हुन शुरु हुँदादेखि नै हुने गर्छ । यो समस्याबाट समयमै उपचार गराई रोगलाई पूर्णविराम लगाउने महिला थोरै मात्र हुने गरेको पाइन्छ। धेरै महिलामा भने यही समस्याका कारण निद्रा नलाग्ने अवस्थामा पुगेको स्वयं पीडित महिलाको अनुभूति छ । बाणगंगा –६ की सीता शर्मा ९नाम परिवर्तन० दई वर्षदेखि भैरहवा र बुटवलमा नाम थाहा पाएसम्मका स्त्रीरोग विशेषज्ञकहाँ गइन् । दुखाइ अति भएकाले ४१ वर्षकी उनलाई धेरैले पाठेघर झिक्न सल्लाह दिए । निरन्तर तल्लो पेट दुख्ने समस्याले मानसिक रूपमा उनी विक्षिप्त बनिसकेकी थिइन् ।

जति पनि चिकित्सककहाँ पुगिन्, सबैले संक्रमण भएको भन्दै थरी–थरीका एन्टिबायोटिक र पेनकिलर दिएर पठाए । केही हप्ताका लागि दिइएको औषधि खाउन्जेल दुखाइ कम हुन्थ्यो । औषधि सकिनासाथ फेरि उस्तै दुखाइ । हरेक पटक श्रीमतीलाई अस्पताल लिएर जाँदा उनका श्रीमान् पनि आजित बनिसकेका थिए । श्रीमानसँग शारीरिक सम्बन्ध राख्दा उनको तल्लो पेट झन् दुख्थ्यो । “शारीरिक सम्बन्धमै मन जाँदैनथ्यो । त्यसो हुँदा श्रीमान् तनावमा पर्नुहुन्थ्यो । खुसी पार्न सकिने, अब अर्को बिहे गर्छन् भन्ने पीरले म निकै तनावमा थिए“, मसँग खुलेर उनी भन्दै थिइन् । दुई वर्षभन्दा बढी उपचारका लागि धाएकी उनी अहिले दुखाइबाट मुक्त छिन्। दम्पतीबीचको सम्बन्ध पनि राम्रो छ । कारण हो, उनलाई भएको पाठेघरको टि.बी. निको हुनु । ’’

कपिलवस्तु–८ जगदीशपुरकी २७ वर्षीय राधा चौधरी ९नाम परिवर्तन० लाई सधैं पेट दुखिरहन्थ्यो । उनी तौलिहवादेखि बुटवलसम्मका धेरै अस्पतालमा उपचारको लागि धाइन् । शिक्षिका समेत रहेकी राधाले महिला रोग विशेषज्ञको सल्लाहमा औषधि खाइन् तर उनलाई निको भएन। विवाहित राधालाई श्रीमानसँगको सहवासमा धेरै दुखाइ हुने गर्छ । उनी भन्छिन्, “श्रीमानले राम्रो अस्पतालमा जँचाउन जाउ भनेका थिए । तर जति अस्पताल जाँदा पनि समस्या निको भएन । अहिले पनि उपचारकै क्रममा छु।” उनलाई महिनावारी शुरु हुनुभन्दा धेरै अगाडिबाट पेट दुख्ने समस्या थियो। उनले यो दुखाइलाई सामान्य रूपमा लिएकी थिइन् तर महिनावारीको बेलामा पेट दुख्नु सधैँ सामान्य हुँदोरहेनछ । महिनावारी शुरु भएपछि हरेक मासिक चक्रमा पेट दुख्नु सामान्य हो । चिकित्सकले पनि बिरामीलाई यो प्राकृतिक प्रक्रिया भनेर बुझाउने गरेका छन् । तर राधाका लागि तल्लो पेट दुखाइ निकै पीडादायी बन्न पुग्यो । उनी अहिलेसम्म यो समस्या बोकेर अस्पताल चहार्न बाध्य छिन् ।

कपिलवस्तु–८ जगदीशपुरकी सरू खनाल ९नाम परिवर्तन० अहिले वर्ष २१ की छिन् । उनलाई महिनावारी हुँदा तल्लो पेट असाध्यै दुख्छ, यतिसम्म कि कुनै पनि प्रकारको पेनकिलरले दुखाइ निको हुँदैन । उनले तौलिहवा अस्पतालमा गएर चिकित्सकलाई यो समस्याबारे धेरै पटक जँचाइन्। चिकित्सकले पेनकिलर खाने घरेलु उपचार पद्धति अपनाउने सुझाव दिन्छन् । विवाह भएपछि पनि यस्तो समस्या भए थप उपचार गर्नुपर्ने भन्दै डाक्टरले अहिलेलाई आत्तिनुपर्ने कारण नभएको बताउने गरेको सरूले बताइन् । तर आफू भने यो पीडाबाट हरेक महीना ३ देखि ४ दिनसम्म छटपटाउन बाध्य छु उनले सुनाइन् । जिल्ला अस्पताल तौलिहवाका महिला तथा प्रसूति रोग विशेषज्ञ डा।

प्रशंसा गुरुङलाई मैले तल्लो पेट दुखाइका कारण, लक्षण र उपचार के हो त भनेर राखेको जिज्ञासामा डा. गुरुङ भन्छिन्– आजकाल धेरै महिलाको साझा समस्या तल्लो पेट दुखाइ हुने गरेको छ । डा। गुरुङका अनुसार हरेक दिन तौलिहवा अस्पतालमा १० देखि १५ जना महिला तल्लो पेट दुखाइको समस्या लिएर आउने गर्छन् त्यसमध्ये २५ देखि ५० वर्ष उमेर समूहका महिला धेरै हुन्छन् । विशेष गरी योनीबाट फोहोर पानी बग्ने, इन्सफेक्सन हुने, विभिन्न संक्रमणीय रोग लाग्ने, श्रीमानका कारण पनि यौनजन्य सरुवा रोग लाग्ने जस्ता समस्या लिएर महिलाहरू अस्पताल आउने गरेका छन्।

डा. गुरुङका अनुसार महिनावारी अघि र पछि पनि तल्लो पेट दुख्ने समस्याले महिलालाई निरन्तर सताउने गर्दछ । यसको सही उपचार नभएमा विस्तारै महिलाको स्वास्थ्य नै प्रभावित हुन्छ । हुन त महिनावारी भएको समयमा हल्का पेट दुख्नु सामान्य हो तर पिसाबमा संक्रमण, पाठेघरको छेउछाउमा संक्रमण हुने दुखाइ निकै घातक हुनसक्छ । यस्तोमा तल्लो पेटको दुखाइले महिलालाई पछि ठूलो समस्या आइलाग्न सक्छ जसलाई लक्षण अनुसार कारण पहिल्याएर उपचार गर्नु आवश्यक हुन्छ ।

कतिबेला पेट दुखाइ असामान्य हुन्छ ?

महिनावारी हुनुभन्दा एक साता अगाडिदेखि पेट दुख्नु, महिनावारी भइसकेपछि झन् धेरै दुख्नु, महिनावारीमा ढिका ढिका रगत जानु, सात दिनपछिसम्म रगत बग्नु, कतिपय महिलालाई महिनावारी गडबडीले तल्लो पेट दुख्ने गर्छ भने कसैलाई योनीबाट रगत जाने कारणले समेत दुख्ने गर्दछ । यसरी तल्लो पेट दुख्नु पाठेघरको क्षयरोग, ९टिबी० हुनसक्छ । यस्तोमा खान मन नलाग्ने, तौल कम हुने, थकाइ लाग्ने, अलिकति काम गर्ने बित्तिकै थाक्ने, ज्वरो आउने हुने गर्दछ । साथै लामो समय तल्लो पेट दुख्ने, महिनावारीका बेला दुखाइ बढ्ने, शारीरिक सम्पर्क राख्दा असामान्य दुख्ने समेत हुन्छ । यस्तो दुखाइ हुँदा काम गर्न नसकिने, दिसा पिसाब गर्न गाहो हुने, ढाड दुख्ने र योनीबाट तरल पदार्थ बग्ने समेत हुन्छ । रोगको पहिचान हुन नसक्नुले पनि बिरामीले सही उपचार पाउँदैन ।

यो समस्या अल्ट्रासाउन्डमा नदेखिने भएकोले पनि रोग पहिल्याउन समस्या हुँदा बिरामीलाई धेरै दुखाइ हुने गरेको डा। गुरुङको भनाइ छ। महिनावारी भएको बेला योनि बाहिर रगत आउनुपर्नेमा पाठेघरको दुईतिर भएको ट्युबबाट रगत बग्दा डिम्बाशयमा जम्दा तल्लो पेट दुख्ने हुनसक्छ । महिनावारी हुँदा बाहिर बग्नुपर्ने रगत जमेर बस्छ र त्यो रगत आन्द्रा, नसा र पिसाबथैली माथि पुग्दछ । जो पछि टाँसिएर कसिँदै जान्छ । जो लामो समय हलचल नहुँदा, हलचल हुनासाथ वा शारीरिक सम्पर्कका बेला दुख्ने गर्दछ । यो पीडा महिनावारीको बेला वा यात्रा गर्दा समेत बल्झिने गर्दछ । तल्लो पेट दुखाइको उपचार गर्नुअघि तल्लो पेट दुखाइको कारण बुझनुपर्ने हुन्छ । यस्तोमा चिकित्सकले महिलाको पाठेघरको हिस्ट्री बुझेर मात्र उपचार थाल्नुपर्ने डा। गुरुङको तर्क छ । यदि हिस्ट्रीबाट पनि दुखाइको कारण पत्ता लगाउन सकिएन भने चिकित्सकले बिरामीलाई बेहोस पारी ल्याप्रोस्कोपी प्रक्रिया मार्फत पाठेघर र भित्ताको जाँच गर्दछन् । यदि डिम्बाशयमा रगत जम्मा भएको रहेछ भने त्यसलाई निकाल्नैपर्छ । वा समस्या अझै बढी भएमा पाठेघरसँगै डिम्बाशय पनि निकाल्नुपर्ने हुन्छ। त्यसैले तल्लो पेटको दुखाइलाई सामान्य नमानी दुखाइ शुरु हुनासाथ चिकित्सकको परामर्श लिन आवश्यक हुन्छ ।

तल्लो पेट दुख्ने मुख्य कारण

विशेषज्ञ डाक्टर गुरुङ भन्छिन्, महिनावारी भएको समयमा मात्र नभई अघिपछि पनि उत्तिकै पेट दुखिरहन्छ भने विरामको अन्य लक्षणका आधारमा के हो भन्ने टुंगो लगाउनुपर्छ । मुख्यतया वर्षौँदेखिको तल्लो पेट दुख्नुका मुख्य दुई कारण हुन सक्छन्– १। पाठेघरको टिबी र २। इन्डोमेट्रोसिस ।

यी दुवै रोगको लक्षण करिब करिब उस्तै भए पनि पत्ता लगाउने तरिका, जाँच र उपचार फरक छ ।
पाठेघरको टिबी

कसैलाई निरन्तर तल्लो पेट दुख्ने गर्छ भने कसैको महिनावारी गडबड भइरहन्छ। कसैको अत्यधिक रगत जाने वा कसैको एकदम कम थोपा मात्र देखिने पनि हुन सक्छ । कुनै पनि दुखाइ वर्षौँसम्म हुनुको कारण पाठेघर टिबीको दुखाइ हो । खान मन नलाग्ने, तौल कम हुने, थकाइ लाग्ने, सामान्य काम गर्ने बित्तिकै थाक्ने, कहिलेकाहीं ज्वरो आएको जस्तो लाग्ने र वर्षौँ दुखाइ भएको छ भने त्यो पाठेघरको टिबीको कारणले हो भनेर बुझ्नुपर्छ ।

इन्डोमेट्रोसिस

तल्लो पेट निरन्तर दुखाइको अर्को कारण इन्डोमेट्रोसिस हो । यसको लक्षण भनेको महीनौंदेखि वर्षौँसम्म तल्लो पेट दुख्ने, महिनावारी हुँदा अझ बढी दुख्ने, श्रीमानसँग शारीरिक सम्पर्क राख्दा असामान्य रूपमा दुख्ने हुन्छ। यसको दुखाइ यति धेरै हुन्छ कि भोलिपल्ट उठेर महिलाले कामै गर्न सक्दैनन् । अलि बढी हुँदै गएपछि दिसा बस्न, पिसाब गर्न गाह्रो हुने हुन्छ । ढाड दुख्ने र कहिलेकाहीं तरल पदार्थ योनीबाट बग्ने गर्छ । सामान्य काम गर्दा पनि दुखिरहने हुन्छ ।

जाँच र उपचार

महिला तथा प्रसूति रोग विशेषज्ञ डा। गुरुङ भन्छिन्– निरन्तर योनीको सरसफाइमा ध्यान दिने, समय–समयमा चेक जाँच गरिरहनुपर्छ । यदि विवाहित भएमा श्रीमान् श्रीमती दुवैले चेकजाँच गर्नुपर्छ । हामीले मुख्य रूपमा पाठेघरको टिबीको उपचार गर्दा परिवारको हिस्ट्री सोध्छौं । यदि परिवारमा पहिले कसैलाई टिबी थियो भने हिस्ट्री स्ट्रङ भयो । यदि छैन भने पनि हामीले पाठेघरको भित्रको झिल्लीको बायोप्सी गर्न पठाउँछौं । त्यो बेला विशेषगरी टिबी नै जाँच गराउन पठाउँछौं । यदि त्यो रिपोर्ट पोजेटिभ आयो भने टिबीको ६ या ८ महीनाको औषधि खुवाउँछौं । त्यसपछि यो समस्या ठीक हुन्छ । यदि टिबीको लक्षण छैन र बायोप्सी जाँचमा पनि नेगेटिभ आयो भने अर्कै कारणले हो कि भनेर जाँच गर्नुपर्ने हुन्छ। इन्डोमेट्रोसिस पत्ता लगाउन निकै कठिन छ जसले गर्दा डाक्टर र बिरामीलाई निकै द्विविधा हुने गर्छ किनभने हामीले यसका लक्षण पाठेघर जाँच गर्दा स्पर्शले थाहा पाउने डा। गुरुङको भनाइ छ । जाँच गर्दा पाठेघर हल्लिनुपर्छ तर इन्डोमेट्रोसिस भएको हो भने पाठेघर हल्लिदैन, चलाउँदा पनि दुख्छ । पाठेघरभित्रको भित्तामा छाम्दा स–साना दाना भएको अनुभव हुन्छ । कहिलेकाँही पाठेघर पछाडिको भित्तामा पनि गेडागेडा अनुभव हुन्छ, त्यो बेला बिरामी दुखाइले कराउने डा। गुरुङको अनुभव छ ।

दुखाइको प्रकृति

२१ दिन पछाडिदेखि ३७ दिन भित्र महिनावारी भएमा त्यो सामान्य प्रक्रिया हुन्छ तर २१ दिन भन्दा कम अनि ३७ दिनभन्दा पछि महिनावारी हुनु असामान्य महिनावारी हो । यस्तै महिनावारीमा देखापर्ने रगत दुई दिनभन्दा कम भयो अथवा रगत हुँदै भएन भने त्यो असामान्य हुन आउँछ । यस्तै महिनावारी शुरु भएको सातौँ दिनसम्म पनि रगत रोकिएन भने सामान्य मानेर बस्नुहुँदैन, तौलिहवा अस्पतालका मे।सु। एवं फिजिसियन डा। किशोर बञ्जाडेको भनाइ छ ।

धेरै महिलाको साझा समस्या हो, पाठेघर दुखाइ । महिनावारी अघिपछि पनि निरन्तर दुख्ने समस्याले सताइएका महिलाको सही उपचार नहुँदा राधाले जस्तै पीडा भोग्नुपर्ने हुन्छ । यसले उनीहरूको मानसिक स्वास्थ्यलाई प्रभावित बनाइरहेको हुन्छ ।

जटिल दुखाइ कस्तो हुन्छ ?

महिनावारी भएको बेला रगत योनि बाहिर आउनुपर्ने हो । पाठेघरको दुईतिर भएको ट्युबबाट समेत रगत बग्दा त्यो डिम्बाशयमा जम्मा हुन्छ । हरेक पटक महिनावारी हुँदा यसरी बाहिर बगेको रगत जमिरहन्छ । त्यो रगत आन्द्रा, नसा र पिसाब थैलीमाथि पनि टाँसिन्छ । पग्लिएको चकलेट जस्तै टाँसिएका कारण त्यो विस्तारै कसिन्छ । जसले गर्दा हलचल हुँदैन । त्यो हलचल नहुनाले शारीरिक सम्पर्कका बेला या काम गर्दा दुख्ने हुन्छ । महिनावारी भएको बेला पनि दुख्छ । कतिपयले स्कुटर चलाउँदा पनि दुखेको अनुभव गर्छन्। इन्डोमेट्रोसिस भएको पत्ता लाग्यो भने बिरामीको उमेर, वैवाहिक अवस्था र बिरामीको माग अनुसारको उपचार गर्छौँ । अविवाहितलाई दुखाइ मात्र कम गर्ने हो भने लो डोजको कन्ट्रासेफ्टीभ पिल्स दिन्छौं । तीन महीना लगातार खान दिन्छौं र फलोअपमा बोलाएर दुखाइको अवस्था राम्रो छ भने पुनः तीन महीना औषधि थपेर बन्द गछौँ, गुरुङले भनिन् ।

कसैको डिम्बाशयमा रगत जम्मा भएर सिस्ट ठूलो छ भने त्यसलाई निकाल्नैपर्छ । कति महिलाहरू बच्चा भएन भनेर पनि आउनुहुन्छ । इन्डोमेट्रोसिसको कारणले पनि यस्तो हुन सक्छ । पाठेघरको ट्युब जाम भयो भने अण्डा निस्केपछि टिप्न सक्दैन र बच्चा हुँदैन । यस्तो बेलामा हामीले इनफर्टिलिटी उपचार पनि गछौँ । ६ महीना, एक वर्षको उपचारपछि बच्चा बनाउन सल्लाह दिन्छौ, डा। गुरुङले थपिन् ।

दुखाइले निम्त्याउने अवरोध

महिनावारीको बेला धेरै किशोरी या महिलाको एउटै गुनासो हुन्छ– ’तल्लो पेट दुख्यो’, ’पेट दुखेर स्कुल जानै सकिनँ’, ’काममा जान सकिन’ । यस्ता गुनासो हरेक घरमा सुनिन्छ । कोही त यति धेरै दुखाइबाट गुज्रिन्छन् कि मानौं भित्र कुनै ठूलै रोग छ । कपिलवस्तु ८ जगदिशपुरकी सरू खनाल समेत तल्लो पेट दुखाइ भएको अवस्थामा विद्यालय जाँदिनन् ।

चिकित्सकका अनुसार महिनावारीको बेला शरीरमा हर्मोनमा परिवर्तन आउँछ । हर्मोनको परिवर्तनले पाठेघरको भित्री तहमा रहेको पत्र ९इन्डोमेट्रियोसिस० महीनावारीकै क्रममा झर्छ । महिनावारीको क्रममा पाठेघरभित्रबाट रगत पनि बाहिर निस्कन्छ । त्यो पत्र तथा रगत बाहिर निकाल्न पाठेघर प्राकृतिक रूपमै खुम्चिन्छ । यो खुम्चेर रगत बाहिर निस्कने क्रममा तल्लो पेट दुख्ने गर्छ । यो समस्या कुल महिलाको १० प्रतिशतमा देखिन्छ। महिलाको शरीरको बनोट र मनोसामाजिक अवस्था अनुसार कसैलाई बढी दुखेको अनुभव हुन्छ भने कसैलाई कम ।

बच्चा जन्मिएपछि दुखाइ कम हुने

महिला तथा प्रसूति रोग विशेषज्ञ डा। गुरुङका अनुसार अविवाहित या बच्चा नजन्मेको अवस्थामा यो दुखाइ रहिरहन्छ । बच्चा जन्मेपछि हराउँछ । हर्मोनबाहेक अन्य कारणले पनि महिनावारीको बेलामा तल्लो पेट दुख्छ । इन्डोमेट्रियोसिस ९पाठेघरको भित्री पत्र० पाठेघरभित्र गएमा, पाठेघरको शल्यक्रिया गरेमा, अण्डाशय र ट्युबमा संक्रमण भएमा, परिवार नियोजनको साधन कपर–टी राखेको दुई चार महिनाभित्र, पाठेघरभित्र कुनै प्रकारको संक्रमण वा ट्युमर भएमा महिनावारीको बेला तल्लो पेट दुख्छ।

दुखाइ कम गर्ने घरेलु विधि

यिमध्ये कुन कारणले हो, त्यसको पहिचान गरी उपचार गर्न सकिन्छ । तर अविवाहित महिला जसको बच्चा पनि भएको छैन र पाठेघरभित्र कुनै रोग छैन भने खास उपचार आवश्यक नपर्ने चिकित्सकको भनाइ छ । यस्तो अवस्थामा केही घरेलु उपचारबाट पनि दुखाइ कम गर्न सकिन्छ जस्तो कि महिनावारीको बेला तातो झोल कुरा खाने, हटब्यागले तल्लो पेट सेकने या तेलले विस्तारै मालिस गर्न सकिन्छ । अन्य कारणले भए चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नुपर्ने डा। बन्जाडे बताउँछन्। उनी भन्छन्, “जुनसुकै कारणले तल्लो पेट दुखेको भए पनि पहिला कारण थाहा पाएर मात्र उपचारतिर लाग्नुपर्छ । “

अविवाहित, ग्रामीण भेगका महिला र जो पहिलो पटक महिनावारी हुन्छन्, उनीहरू लाजका कारण पेट दुखे पनि उपचार गर्न जाँदैनन् । पछिल्लो समय भने शिक्षित तथा शहरमा बस्ने अविवाहित किशोरी पनि तल्लो पेट दुखेपछि उपचारमा आउने चलन बढिरहेको छ ।

स्थानीय सरकारले राख्ने निःशुल्क शिविर

अधिकांश महिलालाई तल्लो पेट दुख्ने समस्या हुने तर लाजका कारण अस्पताल पुग्न नसक्ने र उपचारमा लाग्ने खर्चबाट डराएर रोग पालेर बस्न बाध्य हुने समस्यालाई बुझेर स्थानीय सरकारले महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर राखेर स्त्री तथा प्रसूति रोग विशेषज्ञबाट चेक– जाँचको व्यवस्था मिलाउने गरेका छन् ।

जसअनुसार कपिलवस्तुका बाणगङ्गा, बुद्धभूमि, शिवराज लगायत नगरपालिका र विजयनगर, यशोधरा लगायत गाउँपालिकामा पाठेघर चेकजाँच शिविर वर्षको एक पटक हुने गरेका छन् । यस्तो शिविरमा पढ्दै गरेका किशोरी, कामकाजी महिला र गृहिणी महिला समेत उपस्थित भई शिविरको फाइदा लिने गरेको बाणगंगाका उपमेयर रिता थारूले बताइन् । ११ वटा वडा रहेको बाणगंगामा महिलाका लागि निःशुल्क शिविर चलाएका छौं, जसमा सयौँ महिलाले शिविरबाट फाइदा लिएका छन् । महिलाको स्वास्थ्यप्रति ध्यान दिएर नै यस प्रकारका स्वास्थ्य शिविर चलाएका हौ उपमेयर चौधरीले भनिन् । नगरभित्र स्वास्थ्य शाखा मार्फत बहुक्षेत्रीय पोषण कार्यक्रम पनि चलिरहेको छ जसबाट महिलाहरू स्वास्थ्यप्रति सचेत बन्दै गएका छन् ।

तल्लो पेटको सामान्य दुखाइ महिनावारीका कारण हुने गर्छ । तसर्थ, मर्यादित महिनावारीको साथै प्रजनन स्वास्थ्य सचेतना, परिवार नियोजन सेवा, सुरक्षित गर्भपतन सेवाको विषयमा समुदाय र युवाबीच सचेतना अभिवृद्धि गर्ने साझा दायित्व केन्द्र, प्रदेश, स्थानीय सरकार र नागरिक समाज सबैको हो ।

निष्कर्ष

तल्लो पेटको सामान्य दुखाइ महिनावारीका कारण हुने गर्छ । त्यस्तो दुखाइ क्रमशः असामान्य हुँदै गएको छ भने यो समस्या पाठेघरको रोगका कारण सिर्जित हुन जान्छ । त्यसैले नियमित चेकजाँच गराउने, योनीको सरसफाइमा विशेष ध्यान दिने, सुरक्षित यौनसम्पर्क गर्ने, बेला–बेलामा पाठेघरको जाँच गर्ने जस्ता विधि अपनाउनुपर्छ । तल्लो पेट दुखाइलाई वर्षौ वर्षसम्मको पीडाका रूपमा सहेर बस्नुहुँदैन । पाठेघरमा क्यान्सरै भएको भए पनि समयमै उपचार गराएर पाठेघर समेत फालेर भए पनि निको पार्न सकिने चिकित्सक बताउँछन् । त्यसैले तल्लो पेटको दुखाइलाई जिन्दगीभरको पीडाका रूपमा होइन उपचार पछि पूर्णविराम लगाउने गरी स्वयं पीडित महिला नै भरपर्दो चेकजाँचमा अग्रसर हुनुपर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर