Aamsanchar

 ७ हजार ४०० धनीपुर्जा अझै वितरण हुन बाँकी : कनकाई नगरको टोलीले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र 

Author Image
बुधवार, साउन ३१, २०८०

कनकाई । झन्झटिला विभिन्न कानुनी जटिलता हटाउन र  ऐलानी जग्गा प्राप्तिको लागि करको दर सरलीकरणको माग राखेर झापा कनकाई नगरपालिकाको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ज्ञापन पत्र बुझाएको छ ।
नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको नेतृत्वमा टोली प्रधानमन्त्री कार्यालयमा आज ९बुधबार० पुगेको हो ।

नगर  प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी सहितको वडाध्यक्ष, र स्थानीय राजनैतिक दलका प्रतिनिधि सहितको टोलीले बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै आफ्ना समस्या राखेका छन् ।

कनकाई नगरपालिकामा मात्रै ७ हजार ५०० भन्दा वढीलाई सुकुम्बासी तथा अव्यवस्थित बसोबासको जग्गाको धनीपुर्जा वितरणका लागि तयारी अवस्थामा रहेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए ।
कानुनी जटिलताका कारण तथा अव्यवस्थित बसोबासका नागरिकका लागि जमिनको धनीपुर्जा लिनका लागि चर्को शुल्क तोकिएपछि वर्षौ देखि आफूले कमाउँदै आएको जमिनका लागि चर्को शुल्क तोकिएको भन्दै शुल्क घटाउन माग गर्दै नगरप्रमुखको टोली एक सातादेखि काठमाण्डौमा डेलिकेसनको लागि गएको हो ।

नगरपालिकाको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कनकाईको जस्तो भूमिको समस्या देशका अन्य भागमा समेत भोगिरहेको भन्दै आफू समेत यही समस्याबाट प्रताडित बनिसकेका कारण तत्कालै समस्याको समाधान हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको नगरप्रमुख पोखरेलले आमसंचारलाई जानकारी दिए ।

मन्त्रिमण्डलबाट समाधान हुने कुरा मन्त्री मण्डलबाट र त्यहाँबाट सम्भव नहुने कतिपय ऐन कानुनहरू परिमार्जन गरेरै सबै नागरिकलाई आधार र प्रमाणका आधारमा जग्गाको धनीपुर्जा प्रदान गरिने प्रधानमन्त्रीले बताउनुभएको पोखरेलको भनाई छ ।
यसैगरी प्रतिनिधिमण्डलले सरकारका भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ र सभामुख देवराज घिमिरेलाई समेत ज्ञापन पत्र बुझाएको छ । भूमि मन्त्रीले समेत कनकाई नगरपालिकाको मात्रै नभएर यो देशभित्रकै समस्या भएको भन्दै चाडै समस्या समाधान गर्न आफूहरू लागिपर्ने प्रतिवद्धता जनाउनुभएको कनकाई नगरपालिका उपप्रमुख आशा शर्मा शिवाकोटीले जानकारी दिइन ।

कनकाई नगरपालिका क्षेत्रमा धनीपुर्जाका  लागि नापजाँच र फर्म भरेर पुर्जाका लागि तयारी अवस्थामा रहेको भएपनि हालसम्म १०० मात्रै पुर्जा बितरण भएको छ ।

नगरपालिकाको टोलीमा नेपाली कांग्रेसका कनकाई नगर सभापति दुर्गा प्रसाई, एमालेका कनकाई नगर अध्यक्ष खड्ग प्रसाईँ, माओवादीका कनकाई नगर अध्यक्ष यामनाथ सेडाई, राप्रपाका ख्याम कार्की, नेकपा एसका कनकाई नगर अध्यक्ष प्रतीक राजवंशी, कनकाई नगरपालिका ४ का वडाध्यक्ष रोशन सुवेदी, ८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, समाजसेवी ओम पाठक, कनकाई नगरपालिका १ की वाड सदस्य निर्मला खड्का, ४ का वडासदस्य मोहन संग्रौला लगायतको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)