Aamsanchar

पाठेघरको जाँच शिविरकै भरमा

Author Image
बिहिवार, साउन ३२, २०८०
प्रतिकात्मक फायल तस्वीर ।

प्रतिकात्मक फायल तस्वीर ।

विश्वमा स्तन क्यान्सरपछि पाठेघर क्यान्सर हुने गरेको विभिन्न मानिन्छ । यसले शरीरका भित्री अङ्गहरूलाई समेत नकारात्मक प्रभाव पारेको हुन्छ। पाठेघरको मुखको क्यान्सर विस्तारै फैलने भएकाले यसको शुरुआती लक्षण नै देखिदैन वा व्यक्तिले थाहा पाउन सक्दैन । यसको वृद्धि निकै छिटो हुने हुँदा सबैले नियमित परीक्षण गराउन आवश्यक छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–११ की ४४ वर्षीया माया थापा (नाम परिवर्तन) आफ्नो स्वास्थ्य अवस्थालाई लिएर चिन्तित छिन् । करिब ६ महिनाअघि उनले रुग्णता कार्यक्रम अन्तर्गत आयोजित पाठेघरको मुखको क्यान्सर शिविरमा परीक्षण गराउँदा प्रारम्भिक नतिजामा पाठेघरको संक्रमण देखियो। पाठेघरको मुखको क्यान्सर हुनसक्ने सम्भावना जनाउँदै तत्काल उपचार शुरू गर्न संलग्न चिकित्सकले सुझाव दिए । अहिले उनी नियमित स्वास्थ्य परीक्षणमा रहेको बताउँछिन् ।

माया जस्ता अन्य केही महिलालाई पनि पाठेघरमा संक्रमणको पुष्टि भएको छ। संक्रमण बढ्नु, उपचार पनि नपाउने समस्याले गिजोलेको छ स्याङ्जामा । केही महिला त अझै पनि यस विषयमा खुलेर कुराकानी गर्न हिच्किचाउँछन् । असह्य पीडा लुकाएर बाहिर हाँस्नु परेको उनीहरूको गुनासो छ । महिलाका प्रजनन अङ्ग र स्वास्थ्यसँग सम्बन्धित समस्याहरू महिनावारी शुरु भएदेखि नै हुन्छन् तर बेवास्ता गर्दै जाँदा पछि ठूलो समस्या र पीडामा परिन्छ । महीनावारीको समयमा सफासुग्घर, खानपान, आरामको आवश्यकता पर्छ भन्ने कुरा परिवारले बुझ्न जरुरी हुन्छ ।
पाठेघरसँग जोडिएको ४३ वर्षीय रमाको व्यथा अर्कै छ । पाठेघरमा समस्या आएपछि उनको यौन जीवन नै प्रभावित भएको छ । उनको यो समस्या श्रीमानले नबुझ्दा वैवाहिक जीवनमा समेत समस्या देखिएको छ । कमजोर शारीरिक अवस्था, पाठेघरबाट नियमित बहने दुर्गन्धित पानीको कारण उनी यौन सम्पर्कको लागि तयार हुन सक्दिनन् तर पनि श्रीमानले यो कुरा नबुझेको उनको गुनासो छ ।

उनले भनिन्, “पतिको व्यवहारबाट आजित छु । हाम्रो आपसी समझदारी नभएपछि दाम्पत्य जीवनमा समस्या आएको छ । मैले पतिबाट पाउनुपर्ने माया र सहयोग पाउन सकिनँ । अहिले म शारीरिक एवं मानसिक रूपमा रोगी छु । “

उनले थपिन्, “जसका कारण समयमै खानपान र सरसफाइ हुन सकेन । बालबच्चाले नियमित विद्यालय जान र राम्ररी अध्ययन गर्न पाएनन्। सानो कमजोरीले ठूला दुर्घटना निम्त्याउने कारण बन्यो। वडामै महिलाको पाठेघर जाँच्नका लागि निःशुल्क शिविरको खबर थाहा पाएपछि जँचाउन जाँदा एकक्षण त मेरो होश नै गुम्यो । झस्किएँ, छाँगाबाट खसे सरी भयो ।” पाठेघरको मुखको परीक्षणपछि उनले आफ्ना कथा ÷ व्यथा यसरी नै बेलिविस्तार लगाइन् । उनलाई पाठेघरको संक्रमण देखिएको छ । हाल उनी उपचारमै छिन् ।
यी त केही प्रतिनिधि पात्रहरू मात्र हुन् । उनीहरू जस्ता धेरै किशोरी र महिलामा पाठेघरको समस्या देखिएको छ । तल्लो तहसम्म जनचेतना पुऱ्याउन नसक्दा दिन प्रतिदिन यस्ता समस्या बढ्दो छ । समय समयमा स्वास्थ्य परीक्षण गराउनुपर्ने चेतनाका कमीले धेरै महिलाको ज्यानै गएको छ ।

प्रजनन अङ्ग भन्न र देखाउन लाज मान्ने हाम्रो समाज । यौनाङ्गमा भएको पीडा र समस्या सुनाएपछि, देखाउनुपर्छ, जँचाउनुपर्छ भनेर अरूलाई कहाँ आफ्नो गुप्ताङ्ग देखाउने रु लाज र संकोचकै कारण पाठेघर सम्बन्धी धेरै रोग अझै पनि लुकाइने गरिन्छन् ।
आङ खसेर हिँड्दै गरेकी महिलालाई हेर्दा समेत निकै कठिन दुखानुभूति हुन्छ । कल्पना गर्दा कहालीलाग्दो । बस्दा डल्लो खस्ने अनि हातले सकी नसकी घचेट्नुपर्ने । योनीभित्र रबरका रिङ घुसारेर खसेको पाठेघरलाई अड्याउनु पर्ने । फेरि, समयसमयमा ती रिङलाई फेर्नुपर्ने । पीडा त कति कति रु यी सबै प्रजनन स्वास्थ्यप्रतिको बेवास्ताका कारण आएका समस्या हुन् ।
अर्कोतर्फ, कति महिलाले कसैले थाहा नपाउन भन्दै परम्परागत मान्यता अनुरूप घरेलु उपचारका नाममा प्रजनन अङ्ग जस्तो संवेदनशील भागमा विभिन्न किसिमका झारपात एवं जडीबुटीको प्रयोग पनि गर्ने गरेको पाइन्छ। सकभर आफूभन्दा बाहिरका व्यक्तिले थाहा नपाउन भन्दै यसो गर्ने गरिएको हो ।
पाठेघरको समस्या निकै कहालीलाग्दो छ । सपक्कै पारेर लुंगी वा साडी लगाएर हिँड्दा पछाडिपट्टि डल्लो र बस्दा अगाडि डल्लो जस्तो देखिन्छ। शारीरिक बनोट पनि भिन्दै देखिन्छ । भित्री लुगा (कट्टु / प्यान्टी) बाक्लो भएमा त कति असहज बन्छ भने यस्तो संवेदनशील प्रजनन अङ्गमा किलो ÷किलोका मासुका डल्ला बाहिर निस्कँदा कति पीडा सहनुपर्ने हो तरु स्याङ्जा अस्पतालकी निमित्त प्रमुख कृष्णकुमारी कार्की भन्छिन् ।
“न त राम्ररी बसेर खान मिल्ने, न त काम गर्दा नै सजिलो, न त सुत्दा नै,” करीब १५ वर्षदेखि खसेको आङ फालेपछिको सहजता सुनाउँदै ६८ वर्षीया रूपा ९नाम परिवर्तन० ले भनिन्, “लाज र संकोचले घरमा भन्न सकिनँ। पछि परिवारले नै अस्पताल पुरÞ्याए र पाठेघरको शल्यक्रियापश्चात् केही साता आराम गरें । खानपान र स्वास्थ्यमा ध्यान दिए । अहिले धेरै सजिलो भएको छ ।“ मैले त निकै दुःख र पीडा भोगें । अबका पिंढीले यस्तो दुःख सहेर नबसुन्, उनले सुझाइन् । हुन त, अहिले शिक्षा र सचेतना बढेको छ । समान अधिकार के शिक्षाका कुरा चलेका छन् । घरघरमै सरकार पुगेको छ तर पनि केही महिलामा भने संकोच र लाज अझै हटेको छैन । आफ्नै पतिलाई समेत भन्न सक्दैनन् । पीडा र दुःख सहँदै पनि पतिका लागि यौन सन्तुष्टि दिन बाध्य छन् कैयौं महिला । यी सबै महिलाका स्वास्थ्य र प्रजननसँग जोडिएका विषयवस्तु हुन् जसलाई समस्याका रूपमा मात्र हेर्नुहुँदैन । जहाँ समस्या हुन्छ, त्यहाँ समाधान पनि निस्कन्छ । विगतका वर्षहरूमा भन्दा अहिले धेरै सहज बनेको छ । धेरै प्रकारका रोगका संक्रमण देखिएसँगै उपचारका विधि पनि छन् । विगतमा उपचार नपाई धेरै मानिसको ज्यान जाने गर्दथ्यो भने अहिले उपचार विधि प्रायः सबैको छ तर, कुनै उपचार भने धेरै महङ्गो र जटिल छ । महिलामा बढ्दो पाठेघरको क्यान्सरलाई नियन्त्रण गर्न पुतलीबजारका केही वडाले अभियान नै चालेका छन् । महिलाको बजेटलाई स्वास्थ्य क्षेत्रमा खर्चिन थालेका छन् । आफ्नो स्वास्थ्यको ख्याल आफैँले गर्नुपर्दोरहेछ भन्ने केही मात्रामा भए पनि चेतना बढेको पाइयो ।

पुतलीबजार लगायत ८ वटा पालिकामा पाठेघरको क्यान्सर हुनुपूर्व गरिने स्वास्थ्य परीक्षण शिविर सञ्चालन भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । चालु आर्थिक वर्षको वैशाखसम्ममा सम्पन्न गरिएको पाठेघरको क्यान्सर परीक्षणको प्रारम्भिक नतिजा अनुरूप १ हजार ८४८ जना महिला उक्त परीक्षणमा सहभागी भएको र तीमध्ये ३७ जनामा संक्रमण देखिएको छ । यसको पुनः परीक्षणका लागि पोखरा पठाइएको छ । केहीको नतिजा सार्वजनिक भइसकेको छ भने केहीको आउने क्रममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

’यौन सम्बन्ध राखेपछि, महिनावारीको बीच, महिनावारी सुकेपछि, महिनावारी नभएको बेलामा हुने रक्तस्राव, पातलो अथवा अत्यधिक गाढा रगत बग्ने, गन्हाउने, पटकपटक पिसाब लाग्ने र पिसाब फेर्दा पीडा हुनु’ यसका लक्षण हुन् । सिनियर अहेव तीर्थराज अर्यालका अनुसार, पुतलीबजार नगरपालिका वडा नं. ११ मा १४६ जनामा गरिएको पाठेघरको मुखको क्यान्सर सम्बन्धी परीक्षण गराउँदा ८ जनाको पाठेघर तल खसेकोले पाठेघरमा रिङ राखेर उपचार गरियो । ३ जनामा पाठेघरको मुखको संक्रमण देखिएपछि थप परीक्षणको लागि पोखरा पठाउँदा २ जना महिलामा पाठेघरको क्यान्सर भएको पुष्टि भयो ।

स्याङ्जाका ११ पालिकामध्ये पुतलीबजारका ३५६ जना महिलामा गरिएको परीक्षणमा ८ जनामा संक्रमण पोजिटिभ देखिएको छ । तीमध्ये ३० देखि ४८ वर्ष मुनिका ५ जना र ५० वर्ष माथि उमेरका ३ जनामा पोजेटिभ रहेको छ । आउँदा दिनमा महिला तथा स्वास्थ्य प्रजननका यस्ता प्रभावकारी कार्यक्रमलाई प्रत्येक वडामा पुऱ्याउने नगरप्रमुख तुलसीराम रेग्मीले बताए । महिला तथा किशोरीका स्वास्थ्यसँग जोडिएको यस्ता कार्यक्रमलाई अन्य वडामा पनि सञ्चालन गर्ने गरी योजना बनाउनेछु ।
स्याङ्जाका ११ पालिकामध्ये ५ वटा पालिकाका १ हजार ८४८ जना महिलाको पाठेघर परीक्षण गर्दा ३७ जनामा पोजेटिभ संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । तीमध्ये ३० देखि ४८ वर्ष मुनिका ३२ जना र ५० वर्ष माथिका ५ जनामा पोजेटिभ देखिएको छ । भीरकोट नगरपालिकाका २५७ जनाको परीक्षण गर्दा ४ जनामा पोजेटिभ, गल्याङ नगरपालिकाका ५५२ जनामध्ये १ जनामा पोजेटिभ, चापाकोट नगरपालिकाका १८२ जनामध्ये १ जनामा पोजेटिभ, वालिङ नगरपालिकाका ७० जनामध्ये कसैमा पनि संक्रमण देखिएन । यस्तै फेदीखोला गाउँपालिकाका ६८ जनामा गरिएको परीक्षणमा एक जना पोजेटिभ, आँधीखोला गाउँपालिकाका १७३ जनामध्ये २ जना पोजेटिभ, अर्जुनचौपारी गाउँपालिकाका २ जनामा गर्दा कसैमा पनि देखिएन र कालीगण्डकी गाउँपालिकाका १८८ जनामध्ये २० जनामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय प्रमुख बसुन्धरा शर्माले जानकारी दिनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनले क्यान्सरलाई २०३० सम्ममा उन्मूलन गर्ने भनेको छ । महिलामा अहिले स्तन र पाठेघरका क्यान्सरका बिरामी बढेका छन् । यी दुवै हाराहारी संख्यामा छन् । क्यान्सर हुनुभन्दा अघि कुनै पनि लक्षण नदेखिने हुँदा परीक्षण गरेमा भविष्यमा क्यान्सर हुन्छ कि हुँदैन भनेर थाहा पाउन सकिने स्वास्थ्य कार्यालय प्रमुख बसुन्धरा शर्माले जानकारी दिइन् । उनले भनिन्, “आज गरिएको परीक्षणले १० वर्षपछि हुनसक्ने क्यान्सरका बारेमा थाहा पाउन सकिन्छ । त्यसैले स्वास्थ्यमा कुनै समस्या नदेखिए पनि पाठेघरको मुखको परीक्षण गर्नुपर्छ । “
त्यसो त, सरकारले पाइलटका रूपमा सञ्चालन गरेको एचपीभी खोप सबै जिल्लाका किशोरीलाई लगाउन सके क्यान्सरको जोखिमबाट बच्न सकिने स्वास्थ्य प्रमुख शर्माको भनाइ छ । सरकारले केही महीना अधि ५ देखि १३ वर्ष उमेरका बालिकालाई पाइलटका रूपमा कास्की र चितवनमा एचपीभी खोप अभियान सञ्चालन गरेको थियो । परीक्षणले क्यान्सर विरुद्धको सो खोप निकै प्रभावकारी देखिएको शर्माले बताइन् ।
स्थानीय सरकारले महिलाका स्वास्थ्य र प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन गरेको पाइँदैन । समग्र स्वास्थ्य क्षेत्रलाई एकमुष्ट रकम विनियोजन गर्ने गरेता पनि यस्ता जनचेतनामूलक एवं प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रमलाई प्राथमिकतामा राखेको पाइँदैन तर जति ठाउँमा कार्यक्रम भए, ती ठाउँमा प्रभावकारी भएको देखियो। संकोच मानेर घरभित्र लुकेका धेरै महिला जँचाउन आए, देखासिकी भयो । मनभित्रका डर र त्रासले किनारा पायो । क्यान्सर पोजेटिभ देखिएका उपचारमा गए र नेगेटिभ देखिएका स्वस्थ रहेछौं भनेर ढुक्क भए ।
प्रत्येक महिलाहरूले आफ्नो प्रजनन स्वास्थ्यमा ध्यान दिन जरूरी छ । महिलाहरूले नियमित रूपमा पाठेघरको परीक्षण गर्न आवश्यक छ । समयमै परीक्षण गरेमा भविष्यमा हुने क्यान्सरको जोखिमबाट बच्नुका साथै अन्य यौन रोगहरूको पनि पहिचान र उपचार गर्न सकिन्छ । यस विधिमा महिलाको पाठेघरको मुखबाट पानी निकालेर जाँचको लागि पठाइन्छ । पाठेघरको मुखको क्यान्सर गर्भाशयको तल्लो भागमा हुन्छ । यसले गर्भाशय र योनीलाई जोड्छ । ढल्कँदो उमेरसँगै यो रोगको शुरुआत हुन्छ । विशेषगरी ३५ देखि ४५ वर्ष उमेरकोमा यो रोगको संक्रमण बढी देखिन्छ। सुरुआती चरणमै यसको केही लक्षण वा सङ्केतहरू थाहा पाउन सकियो भने उपचार सहज हुन्छ । नियमित भन्दा केही फरकपन देखिनासाथ महिलाहरूले स्वास्थ्यकर्मीको परामर्शमा रहनुपर्छ । सतर्क र सचेत बन्नुपर्छ ।

सानो उमेरमा बिहे गर्नु, बालबच्चा जन्माउनु, सुत्केरी अवस्थामा गरुहुगा भारी बोक्नु, परिश्रम बढी गर्नु, मासिक स्रावलाई वास्ता नगर्नु, शारीरिक सरसफाइमा ध्यान नदिनु जस्ता कार्यले पनि महिलाको पाठेघरमा असर पुऱ्याएको हुन्छ ।
पाठेघरको मुखमा रहेका जीवाणु अनियन्त्रित रूपमा बढ्ने हुँदा यी जीवाणु यौन सम्पर्कबाट सर्ने गरेको चिकित्सकको भनाइ छ । चाँडै विवाह गर्ने, धेरै व्यक्तिसँग शारीरिक सम्पर्क गर्ने र सरसफाइमा ध्यान नदिने महिलालाई पाठेघरको मुखको क्यान्सरको सम्भावना बढी हुने स्वास्थ्यकर्मीका भनाइ रहेका छन् ।
त्यसैले, आउँदा दिनहरूमा यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्छ । स्थानीय सरकारको तल्लो निकाय वडासम्म पुगेर घरघरका महिलालाई सो सेवा उपलब्ध गराउनुपर्छ । स्वास्थ्यमा महिलाको पहुँच बढाउनुपर्छ, यसलाई विकासको नारा बनाइनुपर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर