गौरीगञ्ज । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले राजनीतिक परिवर्तनका लागि गरिएका आन्दोलन सफल भइसकेको बताउँदै अब जनताको जीवनस्तर परिवर्तनका लागि कार्य गर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आह्वान गर्नुभएको छ ।
नेपाली कांग्रेस गौरीगञ्ज गाउँ समितिको सम्मेलनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सभापति थेवेले पार्टी र जनप्रतिनिधिबीच समन्वय गरेर स्थानीय आवश्यकता अनुसार प्राथमिकताका आधारमा योजना छनौट गर्न र विकास निर्माण एवं जनताको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने खालका कार्यक्रम सञ्चालन गर्न आह्वान गर्नुभएको हो ।
गाउँ सभापति अघनुप्रसाद राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य मखना महतो, महाधिवेशन प्रतिनिधिहरु कात्तिकलाल राजवंशी, रोहितकुमार शाह, अनिलकृष्ण प्रसाई, ५ नम्बर क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा सहभागीहरुले पार्टी कार्यकर्तालाई योगदान र सक्रियताको आधारमा अवसर प्रदान गरिनुपर्ने, पार्टीभित्रको गुटउपगुट समाप्त हुनुपर्ने, पार्टी संगठनलाई सक्रिय बनाउन योजनाबद्ध तरिकाले प्रशिक्षण सञ्चालन गरिनुपर्ने लगायतका धारणा राखेका थिए ।
गाउँ समितिका सहसचिव राजेन्द्र ताजपुरियाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव गोपाल ताजपुरियाले गर्नुभएको थियो । तहगत सम्मेलनलाई निरन्तरता दिइरहेको नेपाली कांग्रेसले बुधबार गौरीगन्ज र दमक नगर समितिको सम्मेलन सम्पन्न गरेको हो ।
यसैबीच नेपाली काङ्ग्रेस दमक नगर समितिको सम्मेलन नेपाली काङ्ग्रेस झापाका सभापति देउकुमार थेबेको प्रमुख आतिथ्यमा सप्पन्न भएको छ ।
नगर सभापति प्रकाश प्रसाइले समितिको सागठनिक प्रतिबेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा प्रमुख अतिथी थेबे, कोशी प्रदेश समिती सदस्य भुमिराज राई, चन्द्राकुमारी खड्का, जिल्ला प्रतिनिधि देबिप्रसाद दाहाल, महाधिवेशन प्रतिनिधि सुरेश सुब्बा र मन्धरा पौडेल, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, प्रदेशसभा ख का सभापति रबि के सी न्यौपाने लगायतले मन्तव्य राख्नुभयो ।
सभापति प्रसाइको सभापतित्वमा सप्पन्न कार्यक्रमको संचालन सचिब रामचन्द्र अधिकारीले गर्नुभएको थियो ।