Aamsanchar

अर्जुनधाराका २५ वर्षीय प्रदीपको दुबै मृगौला खराब, उपचार गर्न आर्थिक अभाव 

Author Image
आइतवार, भदौ १०, २०८०

लक्ष्मीपुर । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ स्थित बिहिबारे बजारका २५ वर्षीय युवा प्रदीप श्रेष्ठको दुबै मृगौला खराब भएपछि आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । आर्थिक अवस्था एकदमै नाजुक भएका श्रेष्ठको दुवै मृगौला फेल भएपछि अहिले उपचारमा सहयोग गरिदिन श्रेष्ठ परिवारले सबैमा अपिल गरेको छ ।

लगभग गत १७ दिनअघि प्रेसर बढेपछि उनलाई सुनसरी स्थित धरानको बिपि कोइराला प्रतिष्ठान घोपा अस्पतालमा लगिएको थियो । उनको परीक्षणपछि दुवै मृगौला फेल भएको श्रेष्ठको उपचारमा संलग्न डाक्टरले बताएको उनका दाजु नारायण श्रेष्ठले बताए ।

श्रेष्ठको उपचारमा आर्थिक सहयोगका लागि स्थानीयहरुको भेलाले ‘प्रदीप श्रेष्ठ बचाउ’ अभियान अन्तरगत आर्थिक संकलन समिति निर्माण गरेको छ । समितिको संयोजकमा प्रदिपका दाजु नारायण श्रेष्ठ, सचिवमा डम्बर थापा, कोषाध्यक्ष शिवकुमार श्रेष्ठ, सदस्यमा अर्जुन रेग्मी, टेकबहादुर गिरी, गीता श्रेष्ठ र टेकबहादुर बस्नेत रहेका छन् ।

त्यसैगरी उक्त समितिलाई सल्लाह सुझावका लागि ७ सदस्यीय सल्लाहकार समिति समेत निर्माण गरिएको छ ।

हाल प्रदीप काठमाडौंको भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत रहेका छन् । उनलाई मृगौला प्रत्यारोपण गर्न उनकै परिवारभित्रका आफ्नै दाजु विष्णु श्रेष्ठले दिने भएका छन् ।

तर, आर्थिक अवस्था कमजोर भएका कारण प्रत्यारोपणमा लाग्ने खर्चका लागि उनका बुवा मणिकुमार तथा आमा इन्दिराकुमारी श्रेष्ठले सबैलाई सहयोगको लागि अपिल गरेका छन् । मृगौला प्रत्यारोपणका लागि करिव १० देखि १२ लाख रुपैयाँसम्म खर्च लाग्ने उपचारमा संलग्न डाक्टरले बताएको उनका दाजु नारायणले जानकारी दिएका छन् ।

त्यस्तै आर्थिक सहयोग जुटाउन निर्माण भएको समितिले शनिवार बिहिबारे बजारमा राखेको भेलामै ३७ हजार ६३० रुपैयाँ संकलन गरेको समितिका सदस्य अर्जुन रेग्मीले जानकारी दिए ।

त्यस्तै प्रदिपको आर्थिक अवस्था देखेर नेवाः देय् दबु अर्जुनधारा नगर समितिले आयोजना गरेको लाखे जात्राबाट संकलन साथै संस्थाले थप गरेर उनको उपचारमा सहयोग गर्न १० हजार रुपैयाँ प्रदान गरेको समितिका कोषाध्यक्ष शिवकुमार श्रेष्ठले बताए ।

प्रदिपको उपचारमा सहयोग गर्ने देश तथा विदेशमा रहेका आफन्त, साथीभाइ, बिभिन्न सामाजिक संघरसंस्था, स्थानीय सरकारसमेत सँग सबैमा उनको परिवारले आर्थिक सहयोगका लागि आग्रह गरेको छ ।

उनको उपचारमा आर्थिक सहयोग गर्ने इच्छुकले अर्जुनधारा –५ स्थित लक्ष्मीपुर चोकमा रहेको प्राइम कमर्सियल बैंकमा उनका दाजु नारायण श्रेष्ठको नाममा रहेको खाता नम्बर १०६००४५६ पिडि (एम्) मा सहयोग गर्न सकिनेछ भने मोबाइल नम्बर ९८१४९९८९४१ मा सम्पर्क गरेर  सहयोग गर्न सकिनेछ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)