Aamsanchar

आजको राशिफल । १५ भदौ २०८०, शुक्रवार

Author Image
बिहिवार, भदौ १४, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सकारात्मक बन्ने प्रयास गर्नुहोला किनभने आपसी समन्वय त्यस्तो उज्यालो बन्नसक्छ, जसले निराशा र छटपटीको अन्धकारलाई हटाउनेछ र मनका तुस हटेर जानेछन् । वैराग्य र निराशाका भाव मँडारिन सक्छन्, तर आज कुनै फाइदा हुने क्षेत्रमा आकर्षण छ वा स्थान परिवर्तन गर्ने मुडमा हुनुहुन्छ भने काम थाल्नुहोस्, लाभ हुनेछ । सरकारी कामका माध्यमबाट धनार्जन गर्न सकिने छ, कुनै प्रतिष्ठान वा कार्यालयको बाँकीबक्यौता उठाउनु छ भने प्रयास गर्नुहोला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दौडधूप र धपेडी गर्ने समय छ । काममा कसैको साथसहयोग मिल्दैन, तर व्यक्तित्व विकास र प्रतिष्ठा प्राप्तिको प्रयासमा उपलब्धि लिन सकिने छ । क्यारियर र पेसाप्रतिको सोच सल्बलाउन सक्छ, लगनशीलता र परिश्रमका माध्यमबाट जस्तै समस्या भए पनि गहिराइमा पुग्न सकिने छ । दायित्व र जिम्मेबारी थपिने समय हो, कार्यक्षेत्रमा हाकिम वा गुरुवर्ग तथा घरमा अभिभावकको सान्निध्य पाइने तथा विचार र भावना ग्रहण गर्ने दिन हो, सेवाचाकरीमा पनि केही समय दिनुपर्ने हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
लामो समयदेखि गर्छुगर्छु भनेर अड्किएका कुनै पनि काम छन् भने जुनियर स्टाफको सहयोग लिएर फेरि ती काम थाल्नुहोस्, पूर्ण हुनेछन् । नयाँ ठाउँको छोटो यात्राले आपसी सम्बन्धमा प्रगाढता छाउनेछ, सँगै बसेर छलफल गर्ने र मनका इच्छालाई सेयर गर्ने दिन हो । नयाँ व्यवसाय वा रोजगारीको खोजी गरेमा प्रयास सफल हुने समय हो, तर शत्रु र प्रतिस्पर्द्धीको गतिविधिप्रति सचेत हुनु ठीक हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
चुनौतीका बीचमा सम्भावनाका बाटाहरू फेला पर्नेछन् । नयाँ काम गर्नु छ भने कानूनी पाटो ख्याल गरी सुरु गर्नु उचित हुनेछ । मनोबल र आँतमा कमजोरी देखा पर्नसक्छ, कामधाम र जिम्मेबारीमा मात्र होइन, आफ्नो तन्दुरुस्ती र स्वास्थ्यपक्षको पनि ख्याल राख्नुपर्छ । नयाँ र नौलो विषयवस्तुको जानकारी लिन सकिने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता हानिकारक बन्नसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सरल व्यवहारको प्रदर्शन गर्दा लाभ हुनेछ, मन उत्सुक र आशावादी बन्ने दिन हो, त्यसैले महत्त्वपूर्ण निर्णय लिनुअघि दोधारमा नरहनु होला, किनकि आजको निर्णयले भाग्यको ढोका उघ्रिने समय छ । कार्यक्षेत्रमा सफल हुने दिन हो, तर आफ्नो काममा मात्र एकोहोरिनुभन्दा पनि जीवनसाथी वा परिवारका सदस्यहरूको इच्छा बुझेर काम गर्ने दिन हो । मनोरञ्जन, रामरमाइलो, घुमघाम र भेटघाटको समय हो । आफ्ना कुरा थोपर्नु भन्दा पनि पार्टनरको भावना बुझ्नु जाती हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
व्यक्तिगत इज्जत र साख राख्न सकिने दिन हो, तर पनि स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । दोधारेपन, अलमल र चिडचिडेपन हाबी हुने दिन हो, अझ पार्टनरका क्रियाकलाप वा कुनै कुराप्रति शङ्का उब्जनाले दिक्क लाग्ने समय छ । प्रेमसम्बन्ध र दाम्पत्य सुखका लागि महत्त्वपूर्ण दिन छ । पारिवारिक वातावरण पनि सुमधुर रहनेछ । घुमघाम र मस्तीमा खर्च बढ्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
छोराछोरीको क्रियाकलाप र उन्नति÷प्रगति देखेर दंग पर्ने तथा सुखानुभूति हुने दिन हो । परिवारजनको सहमति जुट्नाले नचिताएको काम सम्पन्न गर्न सकिने छ । परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता आदिको तैयारीमा हुनुहुन्छ भने अझ कस्सिएर प्रयास गर्नुहोला, मिहिनेत अनुसार राम्रो रिजल्ट निकाल्न सकिने छ । कसैप्रति अलि बढी आकर्षित हुनपुगेको भान हुनेछ, तर यतिवेला आफ्ना विचार र भावनामाथि नियन्त्रण गर्नु समुचित हुनेछ । बुद्धिकौशलको प्रयोग गरी चलाखीपूर्वक काम गर्दा अतिरिक्त पैसा हातलागी हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
परिबन्द र बाध्यतामा खुम्चनु पर्दा मन निरस बन्नसक्छ, चाहँदाचाहँदै पनि पार्टनरको इच्छानुसार समय दिन नपाउँदा झन नरमाइलो लाग्नसक्छ । घरपरिवारमा माङ्गलिक कार्यको कुराकानी वा पूजापाठ आदिको आयोजना हुनसक्छ । प्रेम, प्रणय र भावनामा मनको आकर्षण रहनेछ । घरजग्गा, स्थिर सम्पत्ति र वाहनसुखको व्यवस्थापन गर्ने मनसाय बन्नसक्छ । दौडधूप गर्नुपर्ने काम वा भ्रमणमूलक कामबाट आर्थिक सन्तुलन कायम हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
परिवारमा नयाँ सदस्य वा अतिथिको आगमन हुनसक्छ । मिहिनेत गर्दा लक्ष्यको नजिकै पुग्न सकिने छ, तर मनमा छटपटी र कौतूहलता व्याप्त हुनेछ । कतिपय आर्थिक समस्या सञ्चारसम्पर्कबाट नै हल गर्न सकिने छ । सञ्चार क्षेत्र, वित्तीय कारोवार, यातायात, ढुवानी र मार्केटिङको व्यवसायमा विशेष लाभ देखिन्छ । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ तर पारिवारिक दायित्व र जिम्मेबारी बढिरहने समय हो । बरु दाजुभाइ वा माइतीपक्षको सरसहयोग जुटाउन सक्नुहुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
विद्वान् र गुरुजनको सामीप्य र प्रेरणा पाउने समय हो । आन्तरिक प्रतिभाको उपयोग गरी वा अतिरिक्त क्रियाकलापद्वारा नाम चम्काउन सक्नुहुन्छ । आर्थिक पक्ष सुदृढ रहनुका साथै विभिन्न स्रोतबाट आम्दानीमा बृद्धि राम्रो समय छ । कार्यक्षेत्रमा पनि बोली र कामको कदर हुने वेला हो । पारिवारिक माहौल पनि आनन्दप्रद देखिन्छ । बोली र व्यवहारले धेरैलाई आकर्षित तुल्याउने समय हो । दोहोर्याएर काम गर्नु परे पनि नतिजा लाभदायक नै रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आफूलाई कमजोर या नजान्ने नठान्नु होला । मिहिनेत नै त्यस्तो साँचो हो, जसले असम्भवलाई पनि सम्भवमा परिणत गर्दछ । सुसुप्त चाहना र सपनालाई जीवन्त तुल्याउने राम्रो समय छ । सपनाको झिल्को निभ्यो भने प्रगति र विकासका सबै द्वार बन्द हुन्छन् भनी सचेत भई काम गर्नुहोला । नयाँ जिम्मेबारी वा पदभार ग्रहण गर्ने दिन हो । सहकर्मीका माझमा क्रूर बन्नुको सट्टा व्यवहारिक बन्नसकेमा मात्र काम निकाल्न सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
इच्छा पूरा हुने दिन हो, विशिष्ट व्यक्तित्व वा विद्वान् गुरुसित मित्रता र भेटघाट हुने समय हो । घरमा अभिभावकसित सम्पर्क गरी भलाकुसारी गरेको जाती हुन्छ । आम्दानीमा उतारचढाव आउने दिन हो, सामान्य मानेको लापरवाहीले समेत दण्ड÷जरिवानामा पर्न सकिन्छ, जतिसक्दो आफ्नो कारोबारमा ध्यानकेन्द्रित गरेको जाती हुन्छ । जुनसुकै काम सम्हाल्दा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ, अझ आर्थिक पक्ष हो भने सानातिना खर्चको पनि हेक्का राख्नु होला ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 438

प्रतिक्रिया (०)

सम्बन्धित खबर