Aamsanchar

हरिकुलका छात्रहरूले प्रत्येक आइतबार विद्यालय आउँदा भादगाउँले टोपी लगाउनु पर्ने 

Author Image
सोमवार, भदौ १८, २०८०

कनकाई । निजी अंग्रेजी विद्यालयहरूले विद्यार्थीहरूलाई पाश्चात्य संस्कार सिकाउने गरेको भन्ने समुदाय स्तरबाट आरोप लाग्दै आएको छ । अंग्रेजी भाषाबाट पठन पाठन हुनुकै कारणले निजी विद्यालयहरू प्रति यस्तो आरोप लाग्ने गरेको हो ।
तर झापाका निजी विद्यालयहरूले नेपाली कला संस्कृतिको बारेमा विद्यार्थीहरूलाई जानकारी दिनका लागि  प्रायजसो सबै निजी विद्यालयहरूमा कला संस्कृति नृत्य तर्फ कक्षा नै सञ्चालन गर्दै आएका छन् । त्यस्तै झापाको कनकाई नगरपालिका ३ सुरुंगामा रहेको हरिकुल नमुना माध्यमिक विद्यालयले नेपाली मौलिक परम्परा, भाषा संस्कृति र रहनसहनको बारेमा विद्यार्थीहरूलाई जानकारी प्रदान गर्दै आएको छ । 

हरिकुलले  भर्खरै देखि प्रत्येक आइतबार छात्रहरूले विद्यालय पोशाकमा अनिवार्य नेपाली पहिचान बोकेको भादगाउँले टोपी लगाएर विद्यालय आउनु पर्ने नियम लागू गरेको छ ।  नव पुस्तामा नेपाली टोपीको महत्व बढाउन र भादगाउँले टोपी लगाउने परम्परा‍ लोप हुन नदिन विद्यालयले यस्तो नियम बनाएको विद्यालयका शिक्षक सन्दिप मरासिनीले बताए ।

हरेक आइतबार हरिकुलका छात्राहरूको शिरमा भादगाउँले टोपी लगाएर विद्यालय आएको, गएको  दृष्यले सुरुंगा बजार नै सुसज्जित भएको महसूस हुने गरेको स्थानीय डिल्लीप्रसाद उप्रेतीको भनाई छ ।

नेपालमा भादगाउँले टोपी लगाउन कहिलेदेखि सुरु भयो भन्ने यथेष्ट जानकारी नभएपनि पञ्चायत काल देखि नै महत्त्वपूर्ण सरकारी काम काजको क्षेत्रमा भादगाउँले टोपी लगाउने चलन चल्ती रहँदै आएको छ । भादगाउँले टोपी परम्परागत नेवारी पहिरनको एक महत्त्वपूर्ण अङ्ग हो । विशेष नेवारी वस्ती रहेको काठमाडौं उपत्यकाको भादगाउँ वा भक्तपुरमा बन्ने भएकाले पनि यस टोपीलाई भादगाउँले टोपी भनिने गरिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
12
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१
भाइटिकाका विषयमा जनउक्ति
आइतवार, कार्तिक १८, २०८१