Aamsanchar

जय शनिदेव । आजको राशिफल । २३ भदौ २०८०, शनिवार

Author Image
शुक्रवार, भदौ २२, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
खेलकुद वा शारीरिक तन्दुरुस्तीसम्बन्धी विषयमा रुचि जाग्नेछ, नजानेको कुनै कुरा छ भने पनि मित्र र शुभचिन्तकको साथ÷सहयोग प्राप्त हुनेछ । दाजुभाइ, दिदीबहिनी वा छरछिमेकीको सहयोग गर्ने हुँदा केही समय बित्नसक्छ । आज व्यक्तिगत पहिचान र प्रतिष्ठा एवं व्यवसायिक स्तरोन्नतिका लागि चालेको हरेक कदमले सफलताको शिखर चुम्नसक्ने दिन हो । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा सफलता हासिल हुनेछ, त्यस्तै देखिएका चुनौती निवारण गर्न सहकर्मी वा हाकिमको सहयोग प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पार्टनरको इच्छानुसार कतै खानपान वा घुमघाममा जानुपर्ने हुन्छ, खर्च बढ्ने दिन भएकाले बजेटको व्यवस्था गरेरमात्र सम्पर्क गर्नु ठीक हुन्छ । गलत तरिका अपनाउँदा मौकामा चौका हान्नपाइने र धनलाभ हुने परिस्थिति छ, तर आज कुभावना र अन्याय गर्नबाट जोगिएको जाती हुन्छ । नाफाका दृष्टिले राम्रै समय देखिन्छ, तर वाचा पूरा गर्न नसक्नाले सेवाग्राहीको आलोचना खेप्नुपर्ने हुन्छ, बोली र व्यवहारमा नम्रता अपनाउनु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आफन्त र प्रियजनसँग भेटघाट हुनाले आनन्दित भइने छ, जीवनसाथीलाई प्रसन्न तुल्याउने प्रयास गर्नुहोस्, प्रसन्नतामा अझ बृद्धि हुनेछ । आत्मविश्वास जाग्नेछ, नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ, आलस्य नगरी लक्षप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्ने दिन हो । सुसुप्त चाहना र सपनालाई जीवन्त तुल्याउने राम्रो समय छ । सपनाको झिल्को निभ्यो भने प्रगति र विकासका सबै द्वार बन्द हुन्छन् भनी सचेत भई काम गर्नुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
महत्त्वाकाङ्क्षा राख्नुहुँदैन, नत्र व्यावहारिक समस्या र अपजस खेप्नुपर्ने समय छ । कतिपय स्थितिमा थालेको काम पनि बीचमा नै छाड्नुपर्ने हुन्छ । आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एकआपसमा समर्पित भएमा मात्र प्रेम सफल हुन्छ भन्ने कुरामा विश्वास गर्नुहोला । पेसा वा व्यवसायमा मन्दी छाउने तथा मनमा भारीपन र शरीरमा थकानको अनुभूति हुने दिन हो, त्यस्तै बसाइ वा कार्यमा परिवर्तनको धारणासमेत उब्जनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
थालेको काम बीचमा नै अवरुद्ध भएको छ भने फेरि पनि प्रयास गर्ने समय हो, खर्च बढे पनि विगतको लगानी हातलागी हुनेछ । व्यक्तिगत प्रतिष्ठाका लागि अझ धेरै खट्ने समय हो । पारिवारिक उन्नतिका लागि कुनै नवीन कार्यको शुभारम्भ हुनेछ । लक्ष्य प्राप्तिका निमित्त थप परिश्रम गरी लाभ पाउने समय हो । विदेश जाने सपना सँगाल्नु भएको छ भने योजना बनाउँदा शुभ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
घरायसी रमझम र कामधामबाट फुर्सद निकाल्न सकिंदैन, कामकाजी महिलाले कार्यक्षेत्रमा उन्नति गर्नेछन्, तर पनि पारिवारिक जिम्मेबारी बढिरहने समय हो । मिहिनेतले भविष्य सुध्रनेछ, करियर र व्यवसायप्रतिको चासो बढ्नेछ, उच्च शिक्षाका छात्रछात्राले भावी कार्यक्षेत्रका बारेमा जानकारी बटुल्ने दिन हो । दायित्व र जिम्मेबारी थपिने समय हो, कार्यक्षेत्रमा हाकिम वा गुरुवर्ग तथा घरमा अभिभावकको सान्निध्य पाइने तथा विचार र भावना ग्रहण गर्ने दिन हो, सेवाचाकरीमा पनि केही समय दिनुपर्ने हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
नयाँ ठाउँको छोटो यात्राले आपसी सम्बन्धमा प्रगाढता छाउनेछ, सँगै बसेर छलफल गर्ने र मनका इच्छालाई सेयर गर्ने दिन हो । शत्रु वा प्रतिद्वन्द्वीको चाकरी गरेर आफ्ना स्वार्थ पूरा गर्नुपर्ने बाध्यता देखिन्छ । आज कारणवश लुक्नुपर्ने वा मोबाइल स्वीचअफ गर्ने परिस्थिति सिर्जना हुनेछ । साझेदारीको कामबाट फाइदा हुनेछ । धार्मिक र आध्यात्मिक चेतना बढ्नेछ, इमानजमानको ख्याल राख्नु तथा नियमकानूनको पालना गर्नु उचित हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिने दिन हो, सानो लापरबाहीले पनि भविष्य बिग्रन्छ भन्ने बुझेर थप मिहिनेत गर्नुपर्ने समय छ । शरीरमा थकान र उत्साहमा कमी आउने समय छ, तथापि आफूलाई सक्दो प्रसन्न बनाउन प्रयास गर्नुपर्छ, किनभने आज आफ्ना लागिमात्र होइन, आफन्तका निमित्तसमेत तपाईंको दृढता र हौसला आवश्यक देखिन्छ । चुनौतीभित्र अवसर खोज्ने समय छ । जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ, तर कागजपत्रमा सहीछाप गर्दा सतर्कता अपनाउनु होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सरल व्यवहारको प्रदर्शन गर्दा लाभ हुनेछ, मन उत्सुक र आशावादी बन्ने दिन हो, त्यसैले महत्त्वपूर्ण निर्णय लिनुअघि दोधारमा नरहनु होला, किनकि आजको निर्णयले भाग्यको ढोका उघ्रिने समय छ । कामको चाप बढे पनि मनमा सन्तुष्टिको आभास हुने राम्रो दिन छ, आज गैरलाभकारी कामतर्फ समेत मनको आकर्षण रहने छ । मनोरञ्जन, रामरमाइलो, घुमघाम र भेटघाटको समय हो । आफ्ना कुरा थोपर्नु भन्दा पनि पार्टनरको भावना बुझ्नु जाती हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मौसमी रोगको सामान्य जोखिम छ, सचेत हुँदै कार्यक्षेत्रमा खट्ने समय हो, व्यक्तिगत प्रतिष्ठा र सम्मान पाउन सकिने छ । बेकरिङ, क्याटरिङ, फास्टफुड, माटोको सामाग्री, औजार, भाँडाकुँडा आदिका व्यवसायी खुसी हुने दिन हो, तर सेवाग्राहीको विश्वास जित्न केही समय लाग्नसक्छ । दैनिक कामहरू सजिलै सम्पन्न हुनेछन्, होचोहेला गर्ने र कुरा काट्नेहरू आफै चुप लाग्नेछन्, तथापि झगडा र कलहबाट टाढिएको जाती हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सन्तान वा भाइबहिनीका लागि केही रकमको व्यवस्था गर्नुपर्ने समय हो, बुद्धि र विवेकले काम नगर्नाले पनि केही व्ययभार बढ्ने सम्भावना देखिन्छ । सन्तान वा सहयोगी कामदारको सहयोग लिएर व्यवस्थापन पक्षको लथालिङ्गलाई मिलाउन प्रयास गरिने छ, बुद्धिकौशल तथा समझदारीले कमीकमजोरी हटाउन सकिने छ । जीवनसाथी र छोराछोरीका क्रियाकलापमा चिन्ता बढ्नेछ, नातागोताको के महत्त्व छ भन्ने बुझी आज नेटवर्किङ र सामाजिक सञ्जालमा पनि सक्रियता बढ्नसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
खिसीट्युरी गर्ने वा प्रतिद्वन्द्वीहरूले अथवा राजनैतिक प्रतिपक्षले हानि पुर्याउने योजना बनाउन सक्छन्, त्यस्तै गोपनीयता बाहिरिनाले पनि समस्यामा पर्न सकिन्छ । तर आफ्नो समझदारीले हरेक समस्याको समाधान गर्न सकिनेछ । पुराना वा तामेलीमा परेका काम दोहोर्याएर गर्ने परिस्थिति छ । अतिरिक्त आम्दानी हुनाले घरायसी सुखसुविधाका वस्तुहरूको किनमेल हुने सङ्केत छ । परिबन्द र बाध्यतामा खुम्चनु पर्दा मन निरस बन्नसक्छ, चाहँदाचाहँदै पनि पार्टनरको इच्छानुसार समय दिन नपाउँदा झन नरमाइलो लाग्नसक्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर