Aamsanchar

पञ्चदान पर्व  मनाइयाे

Author Image
मङ्गलवार, भदौ २६, २०८०

भक्तपुर :  भाद्र कृष्ण त्रयोदशीका दिन आज भक्तपुरमा पञ्चदान पर्व  मनाइएको छ। बौद्ध धर्मावलम्बीको महत्वपूर्ण एवम् ठूलो पर्वका रूपमा मनाइने पञ्चदानमा भक्तपुरका पाँच बिहारबाट निस्केका दिपङ्कर बुद्धलाई दिनभर नगरको विभिन्न स्थान तथा बौद्ध विहारमा परिक्रमा गराइन्छ।

 

दिपङ्कर बुद्ध भनेर पुजिने बुद्धका पाँच स्वरूपमध्ये भक्तपुरको क्वाठन्डौँको प्रसन्नाशील महाविहार, गोल्मढीको झौरवही महाविहार, साकोथाको चर्तुब्रह्म महाविहार, भार्वाचोको थथुबही महाविहार र दूधपाटीको कुथुबही महाविहारबाट निकालिएका बुद्धलाई सूर्यमढीस्थित डबलीमा राखी स्थानीय र विभिन्न गुठीको पूजा सकेपछि नगर परिक्रमा गराइन्छ।

स्थानीयवासीले बिहानैदेखि पञ्चदान दिने परम्परा अनुसार शाक्य, ब्रजाचार्य र  भिक्षुलाई भिक्षा दान गर्नाका साथै पाँच दीपङ्कर बुद्धलाई जमिनमा उत्पादन भएका काँचो खाद्यवस्तु धान, मकै, गहुँ, भटमास, ढिके नून, घिरौला, बोडी, काँक्रो आदि चढाइएको थियो। पञ्चदानलाई स्थानीय भाषामा पञ्जरां भनिन्छ। ‘पं’ को अर्थ पृथ्वी र ‘ज’ को अर्थ उत्पन्न भएको भन्ने हो। यस दिनमा पृथ्वीबाट उब्जेको अन्न र फलफूल गरी पाँच प्रकारका वस्तु दान गरिन्छ।

दीपङ्कर बुद्धलाई पञ्चदान गरिसकेपछि साना बालबालिकादेखि वृद्धवृद्धासमेत पञ्चदान भिक्षाग्रहण गर्न लामबद्ध भएर नगर परिक्रमा गरी भिक्षा ग्रहण गर्दछन्। दीपङ्कर बुद्धलाई परम्परागत गुँला धाँ : बाजा र सिङ बाजा बजाएर नगर परिक्रमा गराइन्छ। बौद्ध धर्मावलम्बीले यस दिनमा भिक्षाग्रहण गर्नाले धन वृद्धि हुनाका साथै बुद्धत्व प्राप्त हुने जनविश्वास रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर