काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राज संस्थालाई मुलुकको अभिभावकीय संस्थाको रुपमा स्वीकार गर्न प्रमुख तीन दललाई आग्रह गर्नुभएको छ ।
ठूला दलहरुले अंगीकार गरेको दिल्लीमा भएको १२ बुँदे सम्झौताको बाटोबाट मुलुक दुर्घटनामा फस्ने निश्चित भएको जिकिर गर्दै उहाँले अब राजसंस्थालाई अभिभावकीय भुमिका दिनेगरी अघि बढनुपर्ने प्रश्ताव गर्नुभयो ।
बुधबार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय व्यवस्था मुलुकको लागि हीतकर हुने पनि दोहोर्याउनुभयो । उहाँले जनताको अधिकारका लागि हो भने संघीयताप्रति आफूहरुको आपत्ति नरहने तर्क गर्दै जनप्रतिनिधिको संख्या भने भारी मात्रामा कटौति गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो । जनता खर्बौंको ऋणमा डुब्ने गरी जनप्रतिनिधिहरुको भार देशले थेग्न नसक्ने अध्यक्ष लिङदेनको भनाई थियो ।
अध्यक्ष लिङदेनले गौहत्या तत्काल रोक्न सरकारलाई सचेत गराउनुभयो । गाई, गोरु मार्छु भन्नेहरुलाई सरकारले नरोक्ने हो भने सामाजिक सद्भाव बिथोल्ने, धार्मिक द्वन्द्व ल्याउने र राष्ट्रिय एकतामा खल्बल पार्ने काम हुने भएकाले आफ्नो पार्टीले त्यसको प्रतिवाद गर्ने उहाँको चेतावनी थियो ।
अध्यक्ष लिङदेनले गिद्ध समेत मार्न नपाईने कानून भएको देशमा गाई मार्छु भन्नेहरुलाई सरकारले कारबाही नगरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले धर्म निरपेक्षताको नाममा द्वन्द्वको बिजारोपण गर्ने काम नगर्न पनि सरकारलाई सचेत गराउनु भयो । अध्यक्ष लिङदेनले धर्म परिवर्तनको बाटोमा नजान सिंगो देशबासीलाई पनि आह्वान गर्नुभयो ।
कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले तीन ठूला दलले मुलुकलाई भ्रष्टाचारमा डुबाएको आरोप लगाउँदै त्यसको बिरोधमा आफूहरु उत्रनुपरेको बताउनुभएको थियो ।