लामो समयदेखि गैर आवासीय नेपाली संघ सँग आबद्धता जनाउँदै हाल अष्ट्रेलिया बस्दै आएका व्यवसायी तथा सामाजिक अभियन्ता दिनेशकुमार पोखरेलले गैर आवासीय नेपाली संघ ( एन आर एन ए) को ओसेनिया क्षेत्रीय संयोजक पदको लागि उम्मेदवारी घोषणा गरेका छन् ।
झापाको कनकाई नगरपालिका १ दुर्गापुरका स्थायी बासिन्दा पोखरेलले पदमा रहँदा होस् या नरहँदा नै किन नहोस् । गैर आवासीय नेपाली संघ सँग हातेमालो गर्दै सामाजिक अभियानमा आफूलाई आबद्ध गराउँदै नेपाली समाजको हितको पक्षमा गरेको काम र निभाएको कर्तव्य कै कारणले आफूलाई ओसेनिया क्षेत्रीय संयोजक पदको लागि शुभेच्छुकहरुले योग्य ठान्नेमा पोखरेल विश्वस्त रहेका छन् ।
कदले मात्र होइन, सोच, उद्देश्य, व्यवहार र सामाजिक अभियानमा सक्रियताको पाटोले पनि दिनेश कुमार पोखरेलको उचाइ अग्लो नै रहेको आवासीय नेपालीहरूको भनाई छ ।
पोखरेलले गैर आवासीय नेपाली संघ ( एन आर एन ए) अष्ट्रेलियाको प्रवक्ता सन् २०१३–२०१५, एन आर एन ए अष्ट्रेलिया उपाध्यक्ष र न्यु साउथ वेल्स राज्य संयोजक २०१५–२०१७, नेपाल फेस्टिभल सिड्नी ससंयोजक २०१५ – २०१७, एन आर एन ए सोसियल वेलफेयर फन्ड संयोजक २०१७–२०१९, एन आर एन ए अष्ट्रेलिया सल्लाहकार २०१९–२०२१ को जिम्मेवारी सफलताका साथ पुरा गरिसकेका छन् ।
कर्म थलो अष्ट्रेलिया भएता पनि उनले नेपालसँगै प्रवासमा रहने नेपालीहरू माझ छोडेको प्रभाव र सामाजिक अभियन्ताको रूपमा गरेका कामहरू प्रसस्त छन् । नेपाली चलचित्र निर्माण र प्रदर्शन मार्फत नेपाली भाषा र संस्कृतिको बारेमा विदेशमा हुर्किरहेका दोस्रो पुस्तालाई अवगत गराउने मामिलामा अगाडि रहेका पोखरेल अन्तर्राष्ट्रिय झापाली समाजका संस्थापक अध्यक्ष तथा हाल संरक्षक समेत हुन् ।
एन आर एन ए मार्फत नेपालमा लगानी भित्र्याउन तथा विभिन्न सामाजिक अभियानमा पोखरेलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन । त्यसको एक उदाहरण अन्तर्राष्ट्रिय झापाकी समाज अष्ट्रेलिया ले झापा लगायतका विभिन्न क्षेत्रमा गरेको कामको सफलताका पछाडि पोखरेलको सँधै रचनात्मक भूमिका रहँदै आएको छ ।