Aamsanchar

सीमा विवाद टुंग्याउन गुहारियो प्रदेश र केन्द्र सरकार

Author Image
आइतवार, भदौ ३१, २०८०

धरान – सुनसरीको धरान र इटहरी उपमहानगरपालिकाबीच उत्पन्न सीमा विवाद मिल्न नसक्दा प्रदेश र संघीय सरकारलाई गुहारिएको छ ।

दुवै पक्षले आ-आफ्नो अडान नछाडेपछि विवाद स्थानीय स्तरमा मिल्न नसकेको हो । एउटै जिल्लाका दुई स्थानीय तहबीचको सीमा विवाद यसअघि पनि पटक पटक हुँदै आएको थियो । सीमा विवाद उत्कर्षमा पुगे पनि मिल्न नसक्दा उक्त क्षेत्रको विकास निर्माण नै प्रभावित हुने देखिएपछि जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले प्रदेश र संघ सरकारलाई विवाद निरुपणको लागि सहयोग मागेको हो ।

जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहेताले सीमा विवाद टुंग्याउन प्रदेश र केन्द्र सरकारलाई अनुरोध गर्ने तयारी भइरहेको जानकारी दिए । ‘प्रदेश सरकार र केन्द्र सरकारसँग पनि समन्वय हुँदैछ । हाम्रो स्तरबाट यो समस्या समाधान भएन भने प्रदेश र केन्द्र सरकारलाई अनुरोध गर्ने तयारीमा हामी लागेका छौँ ।’ उनले भने ।

धरान र इटहरी उपमहानगरको सिमाना चारकोसे झाडीस्थित सेउती खोलाको पुललाई मानिँदै आइएको छ । प्रहरी प्रशासन र स्थानीय तहले पनि लामो समयदेखि सोही पुललाई सिमाना मानेर काम गर्दै आएको अवस्थामा धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले ५ किलोमिटर दक्षिण इटहरी क्षेत्रको पानीपियामा सीमा बोर्ड गाडेपछि विवाद सुरु भएको थियो । मेयर साम्पाङले दुई पटक गाडेको उक्त बोर्ड इटहरीका जनप्रतिनिधि र नगरबासीले उखलेपछि विवाद झनै उत्कर्षमा पुगेको हो ।

धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्रविक्रम बेघाले सम्बन्धित निकायले सीमाबारे टुंगो लगाउनु पर्नेमा जोड दिए । उनले भने, ‘सीमाङ्‌कन गर्ने जुन निकाय छ । त्यो निकायले तिम्रो यो भनेर पुष्टि गरेर बोल्दिए राम्रो हुने थियो । अब तेरो र मेरो भनेर झगडा गर्नु किन जरुरी छ र ? छैन नि । ’

इटहरी उपमहानगरले सीमा विवाद राजनीतिक विषय भएकाले पहिले नै प्रदेश र संघ सरकारबाट समाधान खोज्नुपर्ने जोड दिँदै आएको छ । धरान उपमहानगरले भने आफूले बोर्ड राखेकै क्षेत्रमा सीमा कायम हुनुपर्ने अडान राखेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)